सुशीला गौतम
कहिलेकाहीँ मौसमले पनि कथा लेख्छ। शुक्रबारको त्यो दिन, बिहानको घाम दिउँसो नपुग्दै बादलले ढाक्यो, र हल्का वर्षासँगै राजधानीको वातावरण एकाएक बदलियो। त्यही परिवर्तित मौसमले साक्षी बनायो—पत्रकारहरूबीचको आत्मीयता, संवाद र सहकार्यको एक विशेष जमघटलाई।
राष्ट्रिय सभागृहस्थित काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएम परिसरबाट सुरु भएको यो यात्रा केवल भौगोलिक गन्तव्यतर्फको मात्र थिएन, यो सम्बन्ध, संवाद र सहकार्यलाई अझ गाढा बनाउने यात्रासमेत थियो। नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोही सँगै सुरु भएको भेटघाट क्रमशः उत्साहमा बदलिँदै गयो।
स्टेशन म्यानेजर केशु नेपालसँगको छोटो भेट, कालो कफीको चुस्की र प्रारम्भिक गफगाफले वातावरणलाई सहज बनाएको थियो। क्रमशः प्रितमसागर कर्माचार्य, श्यामबाबु आचार्य र टंककला तिमल्सिनाको उपस्थिति जोडिँदै जाँदा त्यो सानो भेटघाट एक समुहिक यात्राको पूर्वसन्ध्यामा परिणत भयो।

गन्तव्य तय भइसकेको थियो—कागेश्वरी मनहरा–४, थली डाँछीस्थित गोठालो फार्म हाउस। फरक–फरक सवारी साधनमा विभाजित हुँदै टोली अघि बढ्यो। राजधानीको भीड, पुतलीसडकको चहलपहल, कमलपोखरीको ट्राफिक र कोटेश्वर–गौशालाको भीड पार गर्दै अघि बढ्दाको यात्रा आफैंमा एउटा अनुभव थियो।
बीच बाटोमा अग्रज पत्रकार रामप्रसाद पौडेलसँगको सम्पर्कले टोलीलाई अझ संगठित बनायो। उनीसँगै नारायणप्रसाद आचार्य र शिरोमणि दवाडी पनि गन्तव्यतर्फ अग्रसर भइसकेका थिए। थली चोकमा भेट्ने सहमति भए पनि मौसम र ट्राफिकका कारण सबै टोली एकैसाथ पुग्न सकेनन्।
थली पुग्दा आकाश धुम्मिएको थियो। ‘गुगल म्याप’को सहारामा अलमलिँदै अन्ततः टोली गोठालो फार्म हाउस पुग्यो। त्यहाँ पुग्दा समय करिब अपरान्ह चार बजेको भए पनि वातावरण साँझ झैँ गाढा भइसकेको थियो।
फार्म हाउसको वातावरणले शहरको कोलाहलबाट टाढा एउटा छुट्टै संसारको अनुभूति गरायो। पाहुनालाई स्थानीय स्वादमा स्वागत गर्ने परम्पराअनुसार मोहीको गिलास हातमा आयो। चिसिँदै गएको मौसममा त्यो मोहीले दिएको न्यानोपन केवल शारीरिक मात्र थिएन, त्यो स्वागतको आत्मीयतासमेत थियो।
यद्यपि, भीड व्यवस्थापन र मौसमका कारण उत्पन्न विद्युत अवरोधले केही असहजता भने सिर्जना गर्यो। तर पनि सहभागीहरूको उत्साहमा कमी आएन। क्रमशः सहभागीहरू थपिँदै गए—फोटो पत्रकार घनश्याम श्रेष्ठ र पत्रकार रविन भट्टराईको आगमनसँगै जमघट पूर्णतामा पुग्यो।
औपचारिक सत्र छोटो तर अर्थपूर्ण रह्यो। परिचय आदानप्रदानसँगै मञ्चका अध्यक्ष युवराज विद्रोहीले अग्रज पत्रकार रामप्रसाद पौडेललाई सल्लाहकार तथा अधिवक्ता सुशील शर्मा सापकोटालाई कानुनी सल्लाहकारमा मनोनयन गरेको घोषणा गरे।
त्यसपछि कार्यक्रमले अर्को आयाम लियो—आत्मीयता र सम्मानको। ‘एम्बीसन गुरु’द्वारा उपलब्ध गराइएको नयाँ वर्ष २०८३ को क्यालेन्डर, डायरी र कलम ‘मायाको चिनो’का रूपमा वितरण गरियो। सहभागीहरूले शैक्षिक क्षेत्रमा संस्थाको योगदानको प्रशंसा गरे।
साँझ ढल्दै जाँदा कार्यक्रम अनौपचारिकतर्फ मोडियो। गीत–संगीत, कविता, मुक्तक र हाँसो–ठट्टाले वातावरणलाई जीवन्त बनायो। विशेषगरी अग्रज रामप्रसाद पौडेल वरिपरि जमेको समूहले साहित्य र संगीतलाई मिसाउँदै मनोरञ्जनको छुट्टै रङ भरेको थियो।
राति गहिरिँदै जाँदा थकानभन्दा बढी सन्तुष्टि देखिन्थ्यो। करिब ११ बजेतिर सहभागीहरू विश्रामतर्फ लागे।

भोलिपल्ट बिहान भने अर्को कथा सुरु भयो—शान्त, ताजा र प्रकृतिसँग नजिक। फार्म हाउसमा पालिएका लोकल भालेको आवाजले नयाँ दिनको संकेत दियो। केही सहभागीहरू बिहानै उठेर परिसर अवलोकनमा निस्किए।
करिब ३१ रोपनी क्षेत्रफलमा फैलिएको फार्म हाउस केवल विश्रामस्थल मात्र नभई कृषि र पशुपालनको सानो नमुना पनि रहेछ। तरकारी उत्पादनदेखि कुखुरा, कालिज र खसी पालनसम्मको अभ्यासले स्थानीय जीवनशैलीको झल्को दिन्थ्यो।
कालो चिया र बिहानको नास्तासँगै संवाद फेरि सुरु भयो—तर यसपटक औपचारिकताभन्दा बढी अनुभव र सम्झनाहरूको आदानप्रदानमा केन्द्रित।
अन्ततः, बिहानको घामसँगै सबैजना आ–आफ्ना गन्तव्यतर्फ फर्किए। तर यो यात्रा केवल एक दिनको कार्यक्रम थिएन—यो पत्रकारहरूबीचको सम्बन्ध, सहकार्य र आत्मीयताको पुनः पुष्टि गर्ने एउटा जीवित अनुभव थियो।
