काठमाडौं११ चैत।
काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले जेन–जी आन्दोलनका क्रममा आफ्नो भूमिका परिस्थिति शान्त बनाउनेतर्फ केन्द्रित रहेको बताएका छन्।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष दिएको बयानमा उनले राष्ट्रपति र प्रधान सेनापतिको आग्रहमा आफूले आन्दोलन शान्त पार्न पहल गरेको उल्लेख गरेका छन्।
शाहले भदौ २४ गते भएको दुःखद घटनाका लागि तत्कालीन सरकारको दमनकारी नीतिलाई मुख्य कारण ठहर गरेका छन्। उनका अनुसार भदौ २३ गते सरकारले अत्यधिक बल प्रयोग गर्दै ‘आतंकवादी शैली’ अपनाएको थियो।
तत्कालीन सरकारमाथि गम्भीर आरोप लगाउँदै उनले आन्दोलनका क्रममा भएको सम्पूर्ण क्षतिको जिम्मेवारी सरकार र सत्ता साझेदार दलहरूले लिनुपर्ने बताएका छन्।
बयानअनुसार भदौ २३ र २४ गते आफू लैनचौरस्थित सरकारी निवासमै रहेको र भौतिक रूपमा आन्दोलनमा सहभागी नभएको उनले स्पष्ट पारे। यद्यपि, शान्तिपूर्ण र्यालीप्रति आफ्नो समर्थन भने रहेको बताएका छन्।
व्यवसायी तथा रेस्टुरेन्ट सञ्चालकहरूको आग्रहमा महानगर प्रहरी बलले आन्दोलनका क्रममा पानी वितरण गरेको उनले जानकारी दिए।
त्यस्तै, भदौ २४ गते आगजनी र तोडफोडका घटनापछि काठमाडौं महानगरपालिकाले तत्काल दमकल परिचालन गरी विभिन्न स्थानमा लागेको आगो नियन्त्रणमा लिएको उनले बताए। घाइते तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन महानगरका विभिन्न निकायसँग समन्वय गरिएको पनि उनको भनाइ छ।
शाहका अनुसार भदौ २३ गते बेलुका सञ्चारमाध्यमबाट अवस्था तनावपूर्ण बन्दै गएको जानकारी पाएपछि उनले सामाजिक सञ्जालमार्फत संयमता अपनाउन अपिल गरेका थिए। उक्त अपिलले आन्दोलन शान्त पार्न केही हदसम्म सहयोग पुगेको उनले दाबी गरेका छन्।
