घनबहादुर थापा।
पछिल्लो समयमा लगातार चार पटकसम्म इन्धनमा मूल्यवृद्धि भयो । यसलाई रोक्न सरकारले इन्धनमा लाग्ने भन्सार दर घटायो । उता अन्तर्राष्ट्रिय बजारमा समेत इन्धनको मूल्यमा कमी आएको समाचार आइरहेका छन् । तैपनि आयल निगमले बिहीबार रातिबाट चौथो पटक इन्धनमा चर्को मूल्यवृद्धि गर्यो । हो, नेपालमा इन्धन उत्पादन हुँदैन तर पनि मूल्यवृद्धिका केही सीमा हुने गर्दछन् । मध्यपूर्वको तनाव वा अमुक युद्धलाई दोष दिएर ‘उतैबाट बढेर आएकाले मूल्य बढेको हो’ भन्ने जस्ता तयारी उत्तर दिएर अब जनतालाई गुमराहमा राख्ने अवस्था छैन ।
इन्धनको मूल्य वृद्धिसँगै अन्य सामानमा समेत यसको गम्भीर असर पर्छ । हालै मात्र १७ देखि २२ प्रतिशतसम्म यातायात भाडा बढेको अवस्था छ । इन्धन महँगो हुनेबित्तिकै सबै ढुवानीका सामानहरूमा स्वतः मूल्य वृद्धि हुन्छ । यी समग्र अवस्थालाई हेर्दा नेपालमा अहिलेको महँगीको अवस्था विकराल छ । मानौं, यहाँ मूल्य वृद्धिको प्रतिस्पर्धा नै छ । व्यवहारमा मानिसहरूले महँगो महसुस गरिरहेका त छन् तर विगतमा जस्तो आवाज उठाइरहेका छैनन् । खासगरी विद्यार्थी संगठनहरूले मूल्य वृद्धिविरूद्ध चर्को आवाज उठाउँथे । आन्दोलनमै उत्रिन्थे । अहिले विद्यार्थीहरू पनि आफ्नै संगठन जोगाउनतिर लाग्दैछन् । अनि जनता मारमा परेको विषय कसले उठाउने ?
छिमेकी देश भारतमा इन्धनको मूल्य बढेको छैन । अन्य देशले पनि बढाएका छैनन् । सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५०/५० प्रतिशत छुट दिएको छ । सरकारले यो कदम थाहा पाएका जनताले तत्काल छिटो-छिटो मूल्य बढ्दा के भनेर सोच्ने ? पछिल्लो दरअनुसार पेट्रोल लिटरको २१९ रुपैयाँ, डिजेल र मट्टीतेल २०७ रुपैयाँ, ग्यासको प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर २५७ रुपैयाँ पुगेको छ । अब पनि यसरी नै बढाउँदै जाने हो भने नयाँ सरकारप्रति जनताको धारणा कस्तो बन्ला ? सर्वसाधारणले दैनिकी कसरी चलाउलान् ? इन्धनकै कारण हप्तामा दुई दिन बिदा दिने घोषणा गरिएको छ । अब पनि यही अवस्था आयो भने विदा बढाउने कि इन्धनको मूल्य ? प्रश्न जटिल छ ।
सरकारी आँकडाअनुसार हाल नेपालमा मुद्रास्फीति करिब तीन दशमलब २५ प्रतिशत वरिपरि छ । यो अघिल्लो वर्षको तुलनामा कम भएको देखिन्छ । नेपाल राष्ट्र बैंकको लक्ष्यभन्दा पनि यो कम स्तरमा छ । यसले औपचारिक रूपमा महँगी नियन्त्रणमै छ भन्ने जनाउ दिन्छ । तर नागरिकलाई किन महँगो लागिरहेको छ ? यसका केही कारण छन् । उत्पादन र ढुवानी खर्च बढेको छ । थोक मूल्य, विशेष गरी कच्चा पदार्थ र निर्माण सामग्री महँगो भएका छन् । यसको असर पछि खुद्रा मूल्यमा पर्छ । जसले गर्दा जनतालाई सामान किन्न जाँदा सुइत्थ्य सुस्केरा हाल्नुपर्ने अवस्था छ ।
अहिले खाद्य तथा इन्धन जस्ता दैनिक उपभोगका सामान महँगो हुँदा सर्वसाधारणलाई घरखर्च धान्न निकै गाह्रो भएको छ । जतिसुकै खर्च बढे पनि आम्दानी बढ्न सकेको छैन । यसले बचत घटेको छ र ऋणमा निर्भरता बढेको छ । यसबाट मध्यम तथा न्यून आय भएका परिवार सबैभन्दा बढी प्रभावित भएका छन् । शिक्षामा लगानी गर्न नसक्दा जेहन्दार तर आर्थिक रूपमा कमजोर विद्यार्थी पीडामा छन् । स्वास्थ्य जस्ता सेवा खर्च बढ्दा जीवनस्तरमा दबाब परेको छ । समग्रमा जनताको क्रयशक्ति घटेर आर्थिक तनाव बढेको छ ।
सङ्क्षेपमा, महँगीको असर देशभर छ तर शहरी क्षेत्रमा अझ बढी छ । काठमाडौं जस्ता ठाउँमा महँगी ग्रामीण क्षेत्रभन्दा बढी छ । अर्थतन्त्र स्थिर देखिन्छ । समग्रमा, नेपालमा महँगी अहिले उच्च स्तरमा छ । दैनिक जीवनमा खर्च बढेकाले मानिसमा महँगी महसुस भइरहेको छ । महँगी नियन्त्रणका लागि सरकारले बेलाबखत बजार अनुगमन गर्ने गर्छ । खासगरी चाडपर्वको बेलामा अनुगमनका समाचार बढी पढ्न पाइन्छ । त्यो पनि झारा टार्ने खालको हुने गर्छ । त्यसले पनि उपभोक्ता ठगिने क्रम रोकिएको छैन । अझ आधिकारिक रूपमै इन्धन र यातायातको भाडा बढाउँदा जनता गम्भीर पीडामा छन् । कर घटेकोले मूल्य नघटे पनि बढ्न पनि बढ्दैन होला भन्ने जनअपेक्षा थियो तर त्यो पनि पूरा हुन सकेन । यस लगातार मूल्य बढ्ने अवस्थामा नेपाली जनतालाई महँगीको भूतले कहिलेसम्म तर्साउने हो ? कर घटाउँदा पनि मूल्य बढ्ने अवस्था कसरी आयो, यसबारे सरकार गम्भीर हुनु जरूरी छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
