नेपाल चर्चा
काठमाडौं, २७ वैशाख ।
कुनै बेला तीन दशकदेखि एउटै पार्टीमा रहेका शंकर पोखरेल र घनश्याम भूसाल अहिले खोलाका किनाराजस्तै विपरीत धारमा बगिरहेका छन् । एमाले पार्टीभित्र दुवैले वैचारिक नेताको परिचय बनाएका बेला पनि एकै साथ रहन नसेका उनीहरु अहिले फरक धारमा र कित्तामा उभिएर बैचारिक वकालत गरिरहेका छन् । एमालेमा हुँदा गुटभन्दा माथि उठ्न नसक्दा सिंगो पार्टीको नेता बन्ने ल्याकत भने दुवैमा देखिएको थिएन । त्यसैले पार्टीभित्रको लामो दुई धार संघर्षमा पोखरेल र भुसाल आआफ्ना गुटका थिङ्कट्याङ्कमा सीमित हुन पुगेका थिए । अहिले भने नजिकिएका छन भन्दा अचम्म लाग्न सक्छ । एमाले महासचिव रहेका पोखरेल र छुट्टै पार्टी खोलेर हिडिरहेका भूसाल नजिक–नजिकको सम्बन्ध स्थापित गर्न खोजिरहेका छन् ।
घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)ले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने भएको गर्यो । बालेन्द्र शाह नेतृत्वको सरकारले संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र सुकुम्बासीहरूको घरमा डोजर चलाएर घरबारविहीन बनाएको विरोधमा नेकपा संयुक्त वैशाख २३ गते बुधबार दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गरेको थियो । तर भूसालसँग प्रयाप्त नेता–कार्यकर्ता भएर प्रर्दशन गरेका थिए त ? त्यसो होइन, एमाले अध्यक्ष केपी ओलीको सारथि भएर लामो समय काम साथ दिएका शंकर पोखरेल र विष्णु पौडेलले नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै आवाज बुलन्द पार्न थालेपछि भूसालले त्यसलाई साथ दिन खोजेका छन् ।
प्रर्दशनको दुई दिन अघि पोखरेल–भूसालबीच गोप्य वार्ता भएको थियो । उनीहरुबीच लामो वैचारिक संवाद भएको थियो । ‘उहाँहरुबीच भेटघाट भएको सत्य हो, एमालेलाई पुर्नगठन गर्ने सवालमा पोखरेल–पौडलको गठजोड भएपछि पोखरेलले सम्पर्क गरेर भूसालसँग संवाद गरेका हुन्,’ भूसाल नजिक रहेका एक नेताले जानकारी दिए । ती नेताका अनुसार वैशाख २३ गतेपछि पनि उनीहरुबीच कुराकानी भएको छ । ओलीलाई एमालेले सम्मानपूर्वक विदा गरेको अवस्थामा भूसाल एमालेमा फर्किनसक्ने संभावना रहेको पोखरेल निकट रहेका एक नेताको दावी छ ।
भुसाल र पोखरेल दुवै २०४६ सालको जनआन्दोलनअघिसम्म वैचारिक रूपमा एकै ठाउँ थिए । तत्कालीन मालेनिकट अनेरास्ववियूमा पोखरेल उपाध्यक्ष थिए भने भुसाल महासचिव । वाममोर्चा एक्लै वा कांग्रेससँग मिलेर संयुक्त जनआन्दोलन गर्ने भन्नेमा तत्कालीन माले द्विविधामा थियो । पार्टी संस्थापन कांग्रेससँग मिलेर आन्दोलन गर्न हिच्किचाइरहेको थियो । पोखरेल संस्थापनमै थिए, तर कांग्रेससहितको संयुक्त जनआन्दोलनका पक्षमा उनी भुसालसँगै एक ठाउँ उभिए । भुसाल र पोखरेल दुवै २०३६ सालको विद्यार्थी आन्दोलनको सेरोफेरोबाटै राजनीतिमा सक्रिय भएका हुन् । त्यतिबेला पोखरेल प्रवासमा थिए । उनी अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष पनि भए ।
पार्टीले उनलाई २०४३ सालमा काठमाडौंमा बोलायो र अनेरास्ववियूको बागमती अञ्चल कमिटीमा राख्यो । अनेरास्ववियूमा भुसाल धेरै कक्षा दोहो¥याउने नेतामा पर्छन् भने पोखरेल कक्षा फड्किनेमा । पोखरेल सधैँ पार्टीको संस्थापन भइरहे भने भुसाल कहिल्यै संस्थापन हुन सकेनन् । नवौं सम्मेलनबाट तुलबहादुर गुरुङ अध्यक्ष हुँदा भुसाल र पोखरेल दुवै पदाधिकारी थिए ।
दशौं महाधिवशेनले भुसाललाई अखिलबाट विदा ग¥यो । २०४७ जेठमा पुल्चोकमा भएको सम्मेलनमा उनी अध्यक्षका मुख्य दाबेदार थिए । पार्टीको अनेरास्ववियू फ्याक्सनले निर्वाचनबाट अध्यक्ष छान्ने निर्णय गरिसकेको थियो । प्रतिनिधि आइसकेका थिए । अन्तिम समयमा पार्टीले अखिलमा हस्तक्षेप ग¥यो । भुसाललाइ रोक्नकै लागि गुरुङलाई दोह¥यायो । माले र माक्र्सवादी एकतापछि ११ औं सम्मेलनबाट अध्यक्ष बनाइए, पोखरेल ।
पोखरेल योगेश भट्टराईसँगै किर्तिपुर छात्राबासमा बस्थे । छेउमै भुसालको डेरा थियो । उनीहरु नियमित चिया गफसँगै लामो राजनीतिक बहस गर्थे । अखिलबाट विदा भएपछि पार्टीले भुसाललाई रुपन्देही सचिव बनायो । त्यसयता कही न केही पोखरेल र भूसालबीचको सम्बन्धमा दरार आएको थियो । अहिले पार्टी पुर्नगठन गर्ने र एमालेबाट बाहिर रहेकाहरुलाई भित्र ल्याउन सन्र्दभमा भूसालसँग महासचिव पोखरेलले निकट सम्बन्ध कामय राख्न खोजेको अनुमान गर्न सकिन्छ ।
