काठमाडौ, १० साउन ।
नेपालमा आउने कवाडीको सामान र नेपालबाट बाहिर जाने कवाडीको सामानमा अवैध हतियारको कारोवार हुने गरेको गम्भीर रहस्य भेटिएको छ । दिल्ली प्रहरीको अपराध शाखाले हतियार कारोबारी सलीम अहमद उर्फ ‘सलीम पिस्टल’लाई पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो । उनलाई भारतको गैरकानुनी गतिविधि (रोकथाम) ऐन (यूएपीए) अन्तर्गत दर्ता गरिएको मुद्दामा नियन्त्रणमा लिएर बयान लिन क्रममा यस्तो नेपालमा आउने र बाहिरिने दुवै सामानमा हतियारका अवैध पार्टपूर्जा भित्रने र बाहिरिने गरेको तथ्य बाहिर आएको छ । भारतका कुख्यात ग्याङस्टर शाहबाज अन्सारीसँग जोडिएको सीमापार अवैध हतियार तस्करी सञ्जाल जोडिएको छ । दिल्लीबाट गत जुलाई ८ मा प्रकासित ‘बी डब्लु पुलिस वल्र्ड डटकम’ अनलाइन संस्करण यो विषय समेटिएको छ ।
गत वर्ष अगस्टमा भारत–नेपाल सीमाक्षेत्र नजिकै पक्राउ परेका ५२ वर्षीय सलीम त्यसयता तिहार जेलमा रहेका थिए। अनुसन्धानलाई थप अघि बढाउन प्रहरीले उनलाई पाँच दिनको रिमाण्डमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।
अपराध शाखाका अनुसार शाहबाज अन्सारीको हतियार सञ्जालको अनुसन्धानका क्रममा विदेशी निर्मित पेस्तोलका पार्टपुर्जा नेपाल हुँदै भारत पु¥याइने आपूर्ति श्रृंखलाको महत्वपूर्ण भूमिका रहेको खुलेको छ । अनुसन्धानअनुसार विदेशी पेस्तोलका पार्टपुर्जा नेपालमा कार्गोमार्फत पठाइन्थ्यो । ती सामानलाई औद्योगिक स्क्र्याप (फलामजन्य फोहोर) भनेर घोषणा गरिन्थ्यो वा स्क्र्यापभित्र लुकाएर पठाइन्थ्यो ।
प्रहरीका अनुसार स्क्र्यापका रूपमा घोषणा गरिएका ती कार्गोमा वास्तविक औद्योगिक फोहोरसँग मिसाएर पेस्तोलका पार्टपुर्जा राखिन्थ्यो, जसले भन्सार जाँच छल्न सजिलो बनाउँथ्यो । नेपाल पुगेपछि ती पार्टपुर्जा गोप्य कार्यशालामा छुट्याइन्थ्यो, जोड्ने (असेम्बल) र परीक्षण गर्ने काम गरिन्थ्यो । त्यसपछि तयार भएका हतियार वा तिनका पार्टपुर्जा सवारीसाधन वा वैध सामानभित्र लुकाएर भारत तस्करी गरिन्थ्यो । पछि ती हतियार विभिन्न ग्याङस्टरहरूलाई आपूर्ति गरिन्थ्यो ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार उक्त सञ्जालले दुईवटा मुख्य मार्ग प्रयोग गरेको थियो । एउटा पाकिस्तान सीमाबाट ड्रोन तथा पञ्जाब र राजस्थानका अवैध सीमापार मार्ग प्रयोग गर्ने र अर्को खुला भारत–नेपाल सीमा प्रयोग गर्ने। पछिल्लो अनुसन्धानमा सलीमसँग सम्बन्धित नयाँ प्रमाण फेला परेपछि नेपाल मार्ग प्रमुख तस्करी मार्गका रूपमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सलीमले नेपालसँग सम्बन्ध भएका आफ्ना सम्पर्कमार्फत हतियारका पार्टपुर्जा तथा तयार हतियारको नियमित आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी सम्हालेका थिए ।
सलीमविरुद्धको आपराधिक इतिहास लामो छ । सन् २००० मा उनी आफ्ना सहयोगी मुकेश गुप्ता उर्फ ‘काका’सँग सवारी चोरीको मुद्दामा पहिलो पटक पक्राउ परेका थिए । पछि जमानतमा छुटेका उनी सन् २०११ मा जाफराबादमा २० लाख भारतीय रुपैयाँ लुटपाटको मुद्दामा मुछिए । उक्त मुद्दामा सन् २०१३ मा पक्राउ परेका सलीम त्यसपछि अवैध हतियार आपूर्तिको धन्दामा सक्रिय भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सलीमले भारतका चर्चित ग्याङस्टरहरू लरेन्स बिश्नोई र हाशिम बाबा लगायतका आपराधिक समूहलाई विदेशस्थित सहयोगीहरूको मद्दतमा अवैध हतियार आपूर्ति गर्दै आएका थिए । सन् २०१८ मा पनि उनी अवैध हतियार आपूर्ति प्रकरणमा पक्राउ परेका थिए । त्यसपछि जमानतमा छुटेर विदेश भागेका उनी पाकिस्तान पुगेका थिए ।
प्रहरीको दाबीअनुसार विदेशबाटै आपराधिक सञ्जाल सञ्चालन गरिरहेका सलीमले नेपालमा समेत आफ्नो आधार (बेस) बनाएका थिए र उनी बेलाबेलामा नेपाल आउने–जाने गर्दै आएका थिए ।