रुपन्देही, १० साउन ।
रूपन्देही जिल्लामा पछिल्लो समय सर्प र सर्पदंशका घटनाहरू बढ्दै गएपछि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। धार्मिक संस्था रुद्र गण को अगुवाइमा युवा अभियन्ता विशाल पाण्डेय र नबिन पौडेल ले विभिन्न विद्यालयमा पुगेर सर्पको पहिचान, सर्पदंशबाट बच्ने उपाय, सर्पदंश भएमा अपनाउनुपर्ने प्राथमिक उपचार तथा सर्प संरक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरेका हुन्।
कार्यक्रममार्फत विद्यार्थी तथा शिक्षकहरूलाई सर्पप्रति फैलिएका भ्रम हटाई वैज्ञानिक जानकारी प्रदान गर्नुका साथै सर्प संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्ने विषयमा समेत सचेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। आगामी दिनमा यस्ता कार्यक्रम रूपन्देहीका अन्य विद्यालय तथा समुदायस्तरमा पनि विस्तार गरिने बताइएको छ।
