काठमाडौं, ११ साउन ।
थानकोट–नागढुंगा जोड्ने सुरुङमार्ग आजबाट सञ्चालनमा ल्याइएको छ । भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले सोमबार सुरुङमार्ग उद्घाटन गरे । लम्सालले उद्घाटनपछि आफैंले गाडी चलाएर सुरुङमार्ग सचालनमा ल्याए ।
मन्त्री बनेको चार महिनामै नेपालको पहिलो सुरुङमार्ग उद्घाटन गर्न पाउने लम्साल भाग्यमानी ठहरिएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले उद्घाटनमा रुचि नराख्दा लम्सालले उद्घाटन गर्ने अवसर पाए । सुरुङमार्गमा राखिएको नयाँ शिलालेखमा उनको नाम अभिलेखित बनेको छ ।
सुनौलो रंगको शिलालेखमा लेखिएको छ, ‘माननीय पूर्वाधार विकासमन्त्री श्री सुनिल लम्सालज्यूद्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको समुद्घाटन सम्पन्न भयो ।’
सुरुङमार्ग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेको र उनी तीन पटक प्रधानमन्त्री भएकै बेला उच्च प्राथमिकताका साथ बजेट प्रबन्ध गरी कार्यान्वयनमा लगिएको थियो । तर, उद्घाटनका बेला उनले गरेको शिलन्यास एकाएक हराएपछि जनस्तरबाटै तीब्र बिरोध भएको छ ।
नेपालका लागि जापानी राजदूत र दातृसंस्था जाइकाका अध्यक्षले मन्त्रीसँगै रिवन काटेर सुरुङमार्गको उद्घाटन गरेका हुन् । आयोजनास्थलमा अर्को एउटा शिलालेख पनि छ, जसमा नेपाल र जापानको झण्डा राखिएको छ ।
नागढुंगा सुरुङमार्गको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । यो आयोजना ओलीकै सोचअनुसार निर्माण भएको उनका अनुयायीहरूले बताउने गरेका छन् ।
