यतिबेला सुनसरी जिल्लाको सबैजसो भाग तात्तिएका छन् । संघीय सरकार र स्थानीय प्रशासनले दुवै पक्षलाईशान्ति पार्ने प्रयास नगर्दा सुनसरी जिल्ला रापतापमा मडारिएको छ । घट्नास्थलमा स्थानीय सरकारका प्रतिनीधि गाउँपालिका अध्यक्ष वेचन मेहता केही वडाअध्यक्षसति बसेका छन् । उनी दुई दिनदेखि नै घट्नास्थलमा छन् । तर संघीय सरकारको उपस्थिति छैन ।
अर्कोतर्फ बर्दीधारी सेना, प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद गणेश पराजुलीलाई सो घट्ना बुझ्न सुनसरी पठाइएको थियो । मंगलबार सुनसरी पुगेका पराजुलीको टोली घट्नास्थल पुग्न नसकी साँझ बुद्ध एयरको फ्लाइट नम्बर यू ४७१६मा काठमाठौ फकिए । उनीसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि घट्नास्थल नपुगी घाइतेहरुलाई भेटेर फर्केकी थिइन । घट्नास्थलमा अहिले कुनैपनि राजनीतिक दलका नेताहरु पुग्न सकेका छैनन । साथै स्थानीय सञ्चारकर्मीहरुलाई पनि जान सकेका छैनन । हरेक ५०० मिटरको फरकमा बाटो अवरोध छ ।
मंगलबार विहान र दिउसो केही साम्य देखिएको देवानगन्ज क्षेत्र साँझ ४ बजेपछि अशान्त बन्यो । दुई पक्षीय युवा समूहबिचको विवादले उग्र रुप लिएर सुनसरी देवानगञ्जको वडा नं. ३ कप्तानगञ्जमा हिंसात्मक घटनापछि उत्पन्न परिस्थितीलाई साम्य पार्न प्रयास जिल्ला प्रशासन कार्यालय इनरुवामा भएपनि देवानगन्जमा सुरक्षा प्रमुख पुग्न सकेका छैनन । बाटोमा रुख ढालेर अवरोध भएपछि साँझ ४ बजे नेपाल प्रहरीका एसपीको टोली पनि सदरमुकाम फर्केको छ । प्रहरीले थप मद्दत बैकल्पिक मार्ग विराटनगर हुँदै पठाएको छ भने सशस्त्र पनि थप मद्दत विराटनगरबाट पठाएको छ । देवानगन्ज गाउँपालिकामा सेनाका बाक्लो उपस्थिति छ । तर साँझ दुई पक्षीय भिडन्त भएको भयो ।

दिनभर एकपक्षीय रुपमा प्रदर्शन भएपनि साँझतिर भने दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियारसहित आक्रमण र प्रत्याक्रमणमा उत्रिदा स्थिति भयावह भएको छ । साँझ ठूलो संख्यामा भेला भएका दुई पक्षबीच घरेलु हतियारसहित दोहोरो झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएपनि साँझ केही समय वत्ति गएपछि झडप बढेको थियो । दुवै पक्ष अहिले समूह समूह बनाएर बसेका छन् । यसअघि हिन्दु पक्षले मात्र प्रदर्शन जारी राखेकोमा मंगलबार साँझदेखि मुस्लिम पक्ष पनि प्रदर्शन उत्रिएका हुन् । मुस्लिम पक्षले सुनसरीको भोग्राहमा प्रर्दशन गरेपछि देवानगन्जमा पनि त्यसको बेला पुगेको हो । यद्यपि भोग्राह बजार २२ किलोमिटर टाढा पर्छ ।
आइतबार राति दुई पक्षीय झडपपछि प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका वडा नं। ४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । सो घटनामा कम्तीमा २१ जना घाइते थिए, जसमा दुई जनाको अवस्था गम्भीर छ । घटनापछि स्थिती दिनदिनै थप तनाबग्रस्त बन्दै गएको छ ।
दुई समूहबीचको झडपपछि अवस्था थप तनावग्रस्त बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गर्दा पनि राती अवेरसम्म प्रर्दशन रोकिएको छैन ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जारी गरेको आदेशअनुसार मंगलबार राति ९ बजेदेखि अर्को आदेश जारी नभएसम्म कफ्र्यु लागु भएको ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कफ्र्यु आदेश जारी गरिएको हो । कफ्र्यु अवधिमा तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधि गर्न निषेध गरिएको प्रशासनले जनाएको छ ।

आदेशको उल्लंघन गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ । प्रशासनका अनुसार इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कफ्र्यु लागु गरिएको छ । यस्तै, इटहरी उपमहानगरपालिकाको वडा नं. १६ र १७ तथा रामधुनी नगरपालिकाको वडा नं. १ र ५ अन्तर्गत पर्ने महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्रभित्र पनि कफ्र्यु आदेश लागु गरिएको छ । प्रशासनले जहाँ कफ्र्यू आदेश जारी गर्यो त्यही बढी प्रर्दशन भैरहेको छ ।
सुनसरीकोे देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा आइतबार अबेर राति दुई समुदायबीच उत्पन्न विवादले हिंसात्मक रुप लियो । आइतबार अबेर भएको घटनामा प्रहरीको गोली लागेर एक जनाको घटनास्थलमै ज्यान गएको छ । प्रहरी र सर्वसाधारणसहित २२ जना घाइते भएका छन् । जसमा १० जनालाई गोली लागेको छ । घटनामा गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का २४ वर्षीय ओमप्रकाश मेहताको ज्यान गयो । सुनसरीकोे कप्तानगञ्ज पहिलादेखि नै संवेदनशील क्षेत्र मानिन्छ । यस क्षेत्रमा मुस्लिम समुदायको मोहरम पर्वको बेला पनि समुदायीक तनाव भएको सुरक्षा अधिकारीहरु बताउँछन् ।
आइतबार एक जना युवकको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि सोमबार सुनसरीको दक्षिणी क्षेत्र सहित पूर्वपश्चिम राजमार्गको इनर्वा बजार समेत दिनभर शान्त बन्यो । अवस्थालाई नियन्त्रण गर्न प्रशासनले अनिश्चितकालिन कफ्र्यू लगाएको छ । शान्ति स्थापनार्थ सोमबार सर्वपक्षीय छलफल गरियो निकास निस्किएन । तर मंगलबार पनि अशान्त भयो । कफ्र्यू तोड्दै प्रर्दशन उग्र बन्न थालेपछि नेपाली सेनालाई परिचालन गरिएको थियो । तर पनि अवस्था नियन्त्रणमा आइसकेको छैन ।
उत्तेजित भीडले स्थानीयबासीको घर, गोठ र पसल जलाइदिएका छन् भने बाटोमा गुडिरहेका सवारी साधनमा तोडफोड गर्दै बटुवामाथि कुटपिट समेत गरेका छन् । लौकही, भुटाहा, भोक्राहा, घुस्की, भाण्टाबारीजस्ता ठाउँ पनि अशान्त छन् । पूर्वपश्चित राजमार्ग पनि ठाउँ ठाउँमा अवरुद्ध पारिएको छ । हिंसात्मक उत्तेजना जिल्ला सदरमुकाम इनरुवासम्मै पुगेको छ । सुनसरीको तनाव मधेसभरी फैलिएको छ । मोरङको बिराटनगरमा समेत घटनाको विरोधमा प्रदर्शन भएका छन् ।
विवादको कारण
साउनलाई हिन्दुहरूले बोलबमको माध्यमबाट शिवको महिनाका रूपमा पूजा गर्छन् । त्यही क्रममा कप्तानगञ्जका हिन्दुहरूले आइतबारदेखि नै सोमबारका लागि शिव भजन र कीर्तन राख्न कप्तानगञ्जको नयाँ हटिया क्षेत्रमा धार्मिक गीतसहित डिजे बजाइरहेका थिए ।कप्तानगञ्जको नयाँ हटिया क्षेत्रमा धार्मिक माहोलमा मग्न हिन्दु युवाहरुलाई अर्को समुदाय अर्थात् त्यहाँका मुस्लिम समुदायका केही युवाहरूले आफ्नो टोलतिर फर्काएर ठूलो आवाजसहित डिजे बजाइदिएको भन्ने आरोप लगाएका थिए । साउन महिनालाई विशेष मान्दै त्यहाँ हिन्दुहरूले पहेँलो रंगका धार्मिक झण्डा र ध्वजापताका पनि राखेका थिए ।
चोकचोकदेखि हाईमास लाइटमासमेत हिन्दुहरूले धार्मिक झण्डा राखेका थिए । तर चोकचोकमा राखिएकामध्ये केही झण्डा भने हटाइएको थियो । झण्डा हटाएको र राखेको कुरालाई लिएर दुई पक्षीय युवाहरूबीच सुरूमा भनाभन चल्यो ।

त्यससँगै आइतबार राति सवा १० बजेतिर साउनमा हुने बोलबमका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ गइरहेका थिए । त्यसक्रममा डिजेको चर्को आवाजलाई लिएर अर्को समुदायका युवाले विरोध जनाए । त्यसक्रममा दुवै पक्षबीच सुरू भनाभन ठेलाठेलमा परिणत हुँदै झडप भयो । कप्तानगञ्ज हिन्दु बाहुल्यता भएपनि अलपसंख्यक मुस्लिम समुदायकोे प्रभावशाली बसोबास भएको क्षेत्र हो । बढ्दो सामाजिक असहिष्णुता र विगतमा पनि विभिन्न स्थानमा यस्तै किसिमका घटना प्रवृत्ति दोहोरिने गरेकाले सुरक्षा विश्लेषणमा नै चुक भएको हो कि भन्ने प्रश्न उठेको छ । सुरक्षाका हिसाबले कप्तानगञ्ज लगायत सुनसरीका सीमावर्ती इलाका निकै संवेदनशील मानिन्छन् ।
घटनाका बेला जिल्लाका दुवै सुरक्षा निकायका प्रमुख जिल्लामा अनुपस्थित थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी केशवकुमार थेबे चार दिनदेखि बिदामा थिए । उनी बुवा बिरामी भएपछि उपचार गराउन बिदा लिएर जिल्लाबाहिर पुगेका थिए । घटनाका बेला नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी विनोद घिमिरे समेत बिदा बसेको पाइएको छ । अर्कोतिर सशस्त्र प्रहरीका एसपीलाई गृहमन्त्री सुधन गुरूङकै निर्देशनमा असार अन्तिम साता हेडक्वाटर तानिएको थियो । गृहमन्त्री सुधन गुरुङ गत असार अन्तिम साता पूर्वी नेपाल पुगेका थिए । त्यसबेला तस्करी नियन्त्रणमा असफल भएको भन्दै उनले हलचोकलाई निर्देशन दिएर झपा र सुनसरीका सशस्त्रका एसपीलाई हेडक्वाटर तान्न निर्देशन दिएका थिए । गत असार ३० मा सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण इनरूवाका एसपी श्याम कार्कीलाई हेडक्वार तानिएपछि निमित्तको भरमा चलेको थियो । मंगलरबार डिआइजीदेखि एसपीसम्म सुनसरी पुगेका छन् । यद्यपि उनीहरु रातीसम्म घट्नास्थलमा पुगेका छैनन ।
