काठमाडौं २० साउन ।
वागमती र गण्डकी प्रदेशमा सरकार हेरफेरका लागि निर्णायक शक्ति मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्कालका लागि कुनै पनि गणितीय खेलमा सामेल नहुने निर्णय गरेको छ ।
एमालेले वागमतीमा सरकारको नेतृत्वमा मुख्यमन्त्री दावी गर्नेगरी निर्णायक मानिएको राप्रपासँग वार्ता चलाइरहेका बेला आएको उसको निर्णयले प्रदेशहरुमा सरकार बनाउने र गिराउने काममा अस्वस्थ चलखेल हुने खतरा बढेको छ ।
वागमतीमा सरकार गठनका लागि कम्तीमा ५३ सिट चाहिन्छ । तर एमाले र नेकपासँग ५१ सिट मात्रै रहेकाले १२ सिट रहेको राप्रपालाई मिलाएर सरकार बनाउने प्रयत्न भइरहेको छ । उता, गण्डकीमा पनि राप्रपाको सहयोग बिना सरकार बन्ने सम्भावना छैन । त्यहाँ पनि नेकपासँगको समझदारीअनुसार एमालेले सरकार हेरफेर गर्ने तयारी गरेको छ ।
मधेस प्रदेशमा कुरा मिलिसकेपछि बाँकी प्रदेशहरुमा नेकपासँगको तीन बुँदे सहमतिअनुसार सरकार हेरफेर गर्ने तयारी छ ।
यसैबीच, वुधबार बसेको राप्रपाको केन्द्रीय सम्पादन समितिको बैठकले तत्कालका लागि गणितीय खेलमा सामेल नहुने तर सरकारमा सामेल हुनैपर्ने परिस्थितिमा निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
‘वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल छैन र लालायित पनि छैन। प्रदेश सरकारहरु अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुन् भन्ने हाम्रो धारणा रहेको छ । प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ। पार्टीको निर्देशन बिना सत्ता केन्द्रीत कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरुलाई बैठक निर्देश गर्दछ ।’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।


