काठमाडौं, २१ साउन । आगामी भदौ पहिलो साता धुलिखेलमा उद्घाटन र काठमाडौंको सोल्टी होटलमा बन्द सत्र हुनेगरी निर्धारित इन्टरनेशनल एसोसिएसन फर टिबेटन स्टडिजको १७ औं सम्मेलन रद्द भएको छ । हिमालयन सेन्टर फर एसियन स्टडिज र काठमाडौं विश्वविद्यालयस्थित सेन्टर फर बुद्धिस्ट स्टडिजले संयुक्त रूपमा गर्न लागेको उक्त सम्मेलन स्थगित भएको हिमालयन सेन्टरका निर्देशक डा.सागरराज शर्माले बताए ।
नेपाल सरकारको निर्देशनअनुसार रोकिएको सम्मेलन भदौ ७ गतेदेखि १२ सम्म चल्ने र ४० देशका ७४० जना प्रतिनिधिको सहभागिता रहने जानकारी गत शनिबार दिइएको थियो । सम्मेलनबारे चीनले निकै चासो लिएको, भारतमा निर्वासित धार्मिक नेता दलाई लामाको केन्द्रीय तिब्बती प्रशासन (सिटिए) ले प्रतिनिधि पठाउने निर्णय भैसकेर पनि अन्त्यमा फिर्ता लिएको,रास्वपा सभापति रवि लामिछानेले चीन भ्रमण गर्दा शीर्ष नेतृत्वसङ्ग भेट हुने सुनिश्चितता खोजेको सन्दर्भमा सम्मेलन स्थगित हुनुलाई अर्थपूर्ण ठानिएको छ ।
लामिछानेले चीन भ्रमणको क्रममा उच्चस्तरीय राजनीतिक भेटघाटका लागि इच्छा र चासो राख्दै आएका थिए । आजको सम्मेलन स्थगनसम्बन्धी निर्णयले उनको यात्रालाई सहज बनाइदिएको परराष्ट्र श्रोतले जनआस्थालाई बतायो ।
उक्त सम्मेलनमा सहभागी हुनेमध्ये पाँच सय ४९ जना उद्घाटन समारोहमा बस्ने,बाँकीले त्यसपछिका छलफल सत्रमा मात्रै भाग लिने बताइएको थियो । कार्यक्रममा सहभागी हुन उत्सुक विदेशीमध्ये एक सय आठ जनालाई दर्ता शुल्कमा छुटसमेत दिइएको थियो ।
सहभागी संख्याका आधारमा अमेरिकाबाट सबैभन्दा धेरै १५५ जना, चीनबाट १०० जना र भारतबाट ८९ जना,जर्मनीबाट ४३, फ्रान्स ४०, बेलायत र जापान ३९, ३९ र नेपालबाट ३१ जनाले सहभागिता जनाउँदैछन् भनिएको थियो । त्यस्तै अष्ट्रिया २९, क्यानाडा २२, हङकङ (विशेष प्रशासनिक क्षेत्र चीन) बाट १६, भुटानबट १५, दक्षिण कोरियाबाट १३, ताइवानका १३ र इटालीबाट १२ जना सहभागी आउँदै थिए । प्राप्त विवरणअनुसार चेक रिपब्लिकबाट १०, स्विट्जरल्याण्डका ९, इजरायल ८, अष्ट्रेलिया ८, नर्वे ६, बेल्जियम ६, नेदरल्याण्ड्स ५, पोल्याण्ड ४, फिनल्याण्ड ३, डेनमार्कका ३ जनाले नाम लेखाएका थिए ।
सात वटा देशबाट दुई जनाका दरले १४ जना आउँदै थिए । ती मुलुकमा लक्जेम्बर्ग, आयरल्याण्ड, रुस, स्पेन, हंगेरी,पाकिस्तान,टर्की छन् । अन्य आठ मुलुकबाट एक एकजनाले भाग लिनेमा भियतनाम,सिंगापुर,बुल्गेरिया, लेबनान, न्युजिल्याण्ड, थाइल्याण्ड, फिलिपिन्स र युक्रेन हुन् ।
आयोजकले सम्मेलनस्थलको प्राविधिक तथा व्यवस्थापकीय तयारी, स्वयंसेवक परिचालन, स्वागत सामग्री तयारी, कला प्रदर्शनी र सम्मेलनका शोधपत्रहरूको संकलन तथा प्रकाशनको काम लगभग अन्तिम चरणमा पुगेको जानकारी यसअघि नै दिएको थियो ।


