काठमाडौं, २१ साउन ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अस्वस्थ चलखेलमा सामेल भएर पार्टीका सांसदहरुले फलोर क्रस गर्ने खतरा देखेपछि कडा निर्देशन जारी गरेका छन् ।
एमाले–नेकपाले प्रदेशहरुमा सुरु गरेको नयाँ समीकरणमा निर्णायक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका सांसदहरुलाई काठमाडौंमा बोलाएर कलंकित नबन्न कडा चेतावनीसहित सचेत गराएको छ । सरकार बनाउनका लागि खासगरी वागमती र गण्डकीमा राप्रपा निर्णायक शक्ति मानिन्छ ।
वागमती प्रदेश संसदीय दलका नेता उद्धव थापासहित सांसदहरुलाई विहिबार सामूहिक निर्देशन दिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले कलंकको टिका लगाएर गद्दार नबन्न र आफ्नै छोरा नातीलाई पनि गद्दारको सन्तानको पहिचान नदिलाउन भावुक सम्बोधनसहित खबरदारी गरे । केही दिनअघि महेश बस्नेतमार्फत एमालेका किरण थापालाई वागमतीमा मुख्यमन्त्री बनाउन राप्रपाका ७ सांसद केपी ओली निवास गुण्डु पुगेकोतर्फ इंगित गर्दै लिङ्देनले विहिबार कतिपय भावुक, नरम–गरम र कतिपय बेला आक्रोशित हुँदै कडा निर्देशनसहितको मन्तव्य दिएका थिए ।
कतिपय सांसदहरुले केन्द्रको निर्णय र नेतृत्वको जानकारीबिनै सत्ता समिकरणका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको प्रदेशहरुमा पनि विभिन्न पार्टीका नेताहरुसँग छलफलमा बसेको जस्ता विषय बाहिर आएपछि काठमाडौंमा बोलाएर अध्यक्ष लिङ्देनले त्यसरी सचेत गराएका हुन् । उनले पार्टी निर्णय र निर्देशनविपरित अरु दललाई समर्थन गर्दा या मतदान गर्दा गण्डकी र मधेस प्रदेशमा सांसदहरुको पदै गएकोसम्मका नजिरहरुसमेत सम्झाएर फलोर क्रस गरे पद चैट हुनसक्ने भनेरसमेत सम्झाए ।
‘राजनीतिमा यो नै अन्तिम अवसर होइन । प्रदेशमा सून्यबाट २८ सिट र संघमा १४ सिटसम्म ल्याएको राप्रपाको राष्ट्रिय राजनीतिमा औचित्य र सान्दर्भिकता छ । अझै पार्टी प्रवल रुपमा उदय हुने सम्भावना छ’ लिङ्देनको निर्देशन उद्धृत गर्दै एक सांसदले भने,‘त्यसैले राजनीतिमा अवसहरु प्रशस्त आइरहन्छन् । तर, आएका जति अवसरहरुहरु हाम्रै हो भनेर कहिले पनि सोच्नु हुँदैन । त्यसैले पार्टीलाई धोका दिएर कलंकको टिका नलगाउन र आफ्नै छोरा नातीलाई गद्दारको सन्तानको पहिचान नदिलाई पार्टी निर्णयमा अडिग रहन तथा नेतृत्वको जानकारीबिना भेटघाट, छलफलमा नबस्न म तपाईंहरुलाई निर्देशन दिन्छु ।’


