काठमाडौं,२२साउन ।
कुनै सयम नेकपाका संयोजक पुष्पकमल दाहाल संसद्मा आफूसँग ३२ सिटको म्याजिक नम्बर भएको दाबी गर्दै सरकार भत्काउने र बनाउने दाउपेचमा व्यस्त थिए । तर, फागुन २१ को निर्वाचनमा पार्टीले नमिठो पराजय भोगेयता उनका अभिव्यक्तिमा राजनीतिक थकान, निराशा र छटपटी बढी सुनिन थालेको छ ।
संसद् बैठकमा समेत निकै कम उपस्थित हुने उनी कहिले आफूलाई बबुरो भन्ने त कहिले सरकार एकैदिनमा उल्ट्याउने कुरा गर्ने । बढ्दै गएको राजनीतिक असुरक्षाकाबीच दाहालले वामपन्थीहरु एकै ठाउँमा उभिनुपर्नेसम्मको अभिव्यक्ति दिइरहेका छन् ।
राजनीतिक विश्लेषकहरु दाहालका यस्ता अभिव्यक्तिलाई सत्ता र शक्तिमा नहुँदाको छटपटीका रुपमा अर्थ्याउँछन् । फागुन २१ को निर्वाचनमा पार्टी जनमतबाट अस्वीकृत भएयता नेकपाका संयोजक पुष्पकमल दाहालका अभिव्यक्तिमा राजनीतिक थकान, निराशा र छटपटी बढी सुनिन थालेको छ ।
कहिले उनी संसद्मा पूर्वप्रधानमन्त्रीको हैसियतमा आफूलाई बबुरो ठान्ने भने कहिले कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको देख्ने । कहिले भने यो परिस्थिति आउनुमा विदेशी शक्तिको हात देख्ने । राष्ट्रको स्वाधिनतामाथि संकट आइपरेको भन्दै संघीयता पक्षधर र समाजवादीहरु एकठाउँमा उभिनुपर्नेमा पनि उहाँले पछिल्ला समय जोड दिन थालेका छन् ।
दाहालको दिनहुँ फेरिने र असन्तुलित यस्ता अभिव्यक्तिलाई पार्टीका युवा नेता रन्जित तामाङ फागुन २१ को निर्वाचनपछि सिर्जित राजनीतिक दबाब मुख्य कारण मान्नुहुन्छ । दाहालले संसद्मा आफू बबुरो रहेको अभिव्यक्ति गत असार २१ गते पार्टी उपत्यका समितिको कार्यक्रममा दिए ।
सम्भवतः यही अनभूतिले होला उनी संसद्मा निकै कम जान्छन । शुक्रबारमात्रै पनि काठमाडौँको एक कार्यक्रममा दाहालले जेनजी आन्दोलन एकदिनमा सफल भएको भन्दै काठमाडौँमा चारपाँच लाख र प्रत्येक जिल्लामा एकलाख जनशक्ति उतारेर सत्ता परिवर्तन गर्न सकिने अभिव्यक्ति दिए ।
राजनीतिक विश्लेषकहरु दाहालका पछिल्ला अभिव्यक्ति परिवर्तनलाई स्वीकार गरेर जानुको सट्टा शक्तिमा नहुँदाको छटपटीका रुपमा अर्थ्याउँछन् । २०७९ को निर्वाचनपछि पार्टीको ३२ सिटलाई म्याजिक नम्बर भन्दै सरकार भत्काउने र बनाउने दाउपेचमा सक्रिय दाहालका लागि परिस्थितले अर्को मोड लिइसकेको छ ।
फागुन २१ को परिणामलाई स्वीकार गर्न नसक्दा र सत्ता राजनीतिको केन्द्रबाट किनारा लाग्दाको छटपटी सार्वजनिक अभिव्यक्तिमा देखिने गरेको वामपन्थी विश्लेषकहरु बताउँछन् । अर्कोतर्फ पुस्तान्तरणको बढ्दो मागले पार्टीभित्रै असुरक्षित रहँदाको परिस्थितिलाई विषायन्तर गर्नका लागि पनि कम्युनिष्ट पार्टीका नेतृत्वहरुबाट यस्ता अभिव्यक्तिहरु आउने गरेको विश्लेषकहरुको भनाइ छ ।


