काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा मुटुरोग विशेषज्ञलाई नियुक्ति गर्नुपर्नेमा वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. आशिष गोविन्द अमात्य नियुक्त गरिएको छ । लामो समयदेखि केन्द्रमै कार्यरत डा. अमात्य मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवामा रहेका भएपनि उनी मुटुरोग विशेषज्ञ चिकित्सक भने होइनन ।
हालसम्म डा. भगवान कोइराला, डा.मानबहादुर केसी लगायत सबै मुटरोग विशेषज्ञहरुको नियुक्ति हुँदै आएकोमा अहिले केन्द्रको एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका डा. अमात्यलाई नियम विपरित देशकै विशिष्ट मुटु उपचार संस्थाको नेतृत्व गर्न दिइएको छ । उनलाई ह्दयरोग केन्द्रको ऐन विपरित नियुक्ति गरिएको छ ।
ललितपुरको कुपण्डोलमा जन्मिएका डा. अमात्यले प्रारम्भिक शिक्षा सेन्ट जेभियर्स स्कुलमा चार कक्षासम्म अध्ययन गरे। त्यसपछि उनले बुढानीलकण्ठ विद्यालयबाट एसएलसी पूरा गरे। भारतको दि लरेन्स स्कुल, सिम्लाबाट प्लस–टु अध्ययन सम्पन्न गरेका उनले ढाका विश्वविद्यालयअन्तर्गत बंगलादेश मेडिकल कलेजबाट सन् २००२ मा एमबीबीएस पूरा गरेका उनी मुटुरोग विशेषज्ञ होइनन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक वर्ष इन्टर्नसिप गरेका उनले त्यही अस्पतालमा मेडिकल अधिकृतका रूपमा करिब एक वर्ष सेवा गरेपछि महाराजगञ्ज चिकित्सा क्याम्पसबाट एनेस्थेसियोलोजी विषयमा एमडी अध्ययन पूरा गरे।
एमडी सम्पन्न गरेपछि डा. अमात्य शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रजिष्ट्रारका रूपमा आबद्ध भए । दुई वर्षपछि स्थायी भएका उनी एनेस्थेसिया विभागमा छन् । गंगालालमा चार वर्ष कार्यरत रहँदा उनले थप विशेषज्ञता हासिल गर्न मलेसियामा कार्डियाक एनेस्थेसियासम्बन्धी एक वर्षे फेलोसिप पूरा गरेका थिए । नेपालमा कार्डियाक एनेस्थेसियाका अनुभवी चिकित्सक हुन तर मुटुरोग विशेषज्ञ भने होइनन । चिकित्सा परिवारकै सदस्य रहेका डा नारायणगोविन्द अमात्य र डा रोशना अमात्यका छोरा हुन् । उनकी आमा डा रोशना एनेस्थेसियोलोजीकी अगुवा चिकित्समध्येमा पर्छिन् । उनी आफ्नो क्षेत्रमा सफल र सजग रहेपनि मुटुरोग विशेषज्ञ नभएका कारण असजिलो मानिएको छ ।


