काठमाडौं, २२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा भएको तनावपूर्ण छलफलका क्रममा मुर्छा परेर ढलेका बाग्मती प्रदेश संसदीय दलका प्रमुख जगन्नाथ थपलिया अझै अस्पतालमै छन् ।
उनको स्वास्थ्यमा सुधार आउनुको साटो समस्या थपिँदै गएको छ ।
ओली निवासबाट साउन १९ गते मध्यरात भक्तपुरको ठीमी अस्पताल लगिएका थपलियालाई त्यहाँबाट बिहान डिस्चार्ज गरिएको थियो । तर सञ्चो नभएपछि सोही दिन वीर अस्पताल भर्ना गरियो । थपलिया अझै पनि वीरमै उपचाररत छन् । उनलाई वीरको क्याबिनमा राखिएको छ ।
छोरा सुरजका अनुसार जेएनको ब्लड प्रेसर नियन्त्रणमा आए पछि सुगर अझै नियन्त्रणबाहिर छ । गुण्डुको घटनाअघि उनलाई प्रेसरको समस्या थिएन तर सुगरको औषधि भने उनि नियमित खाइरहेका थिए । गुण्डु घटनापछि सुगर ह्वात्तै बढेको हो ।
आजबाट उनलाई कामज्वरो पनि आउन थालेको छ । ४–४ घन्टामा कामज्वरो आइरहेको सुरजले जानकारी दिए । उनी राम्ररी बोल्न पनि सकिरहेका छैनन् भने मोबाइल पनि चलाएका छैनन् । चिकित्सकको सिफारिस अनुसार अहिले साँझ उनको एमआरआई गरिएको छ । कल्चरको रिपोर्ट पनि आइसकेको छैन ।
थपलियालाई भेट्न आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्पताल पुगेकी थिइन् । उनले थपलियाको स्वास्थ्यअवस्थाबारे जानकारी लिइन् ।
अध्यक्ष ओली भने अहिलेसम्म गएका छैनन् भने फोन गरेर चासो पनि नराखेको परिवारका सदस्यले बताएका छन् ।


