काठमाडौं, २४ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुलाई लगाम लगाउने भएको छ । सरकारको नेतृत्व गरिरहेको दल रास्वपाले आगामी भदौदेखि “नागरिक, नीति र नेतृत्व’’ कार्यक्रम सुरु गरेर मन्त्रीहरुमाथि लगाम लगाउन लागेको हो ।
‘यस कार्यक्रम अन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनु हुनेछ । जसले भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास गरिएको छ ।’ सहमहामन्त्री असिम शाहले विज्ञप्तिमार्फत भनेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी अध्यक्ष रवी लामिछानेबीच कचपचको हल्ला चलिरहेका बेला सुरु गर्न लागिएको कार्यक्रमलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी अध्यक्ष रवी लामिछानेबीच कचपचको हल्ला चलिरहेका बेला सुरु गर्न लागिएको कार्यक्रमलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु हो। यसै यथार्थलाई मनन गर्दै, जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न त्यस्तो कार्यक्रम संचालन गर्न लागिएको उनले बताएका छन् ।
दुई चरणमा संचालन गरिने पहिलो चरणको कार्यक्रममा नागरिक संवाद गरिने जनाइएको छ । ‘साँझ ५ः०० देखि ६ः०० बजेसम्म एक घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुला रहनेछ । मन्त्रीले सीधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नुहुनेछ । यसले नेतृत्वलाई भुइँको यथार्थसँग जोडी राख्न मद्दत गर्ने आशा गरिएको छ ।’ विज्ञप्तिमा खुलाइएको छ ।
त्यस्तै, दोस्रो चरणमा ः नेतृत्व संवाद कार्यक्रम चल्नेछ । ‘साँझ ६ः०० बजेपछि मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बस्नेछ । पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावहरूका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयहरूमा यस चरणमा सघन छलफल हुनेछ ।’ विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रमका मुख्य उद्देश्यहरू यसरी प्रष्ट्याइएको छ–
० साझा रणनीति निर्माणः नागरिक, सरकार (मन्त्री), व्यवस्थापिका (सांसद) र संगठन (केन्द्रीय समिति) बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्ने ।
० जवाफदेहिता प्रवद्र्धनः मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने ।
० यथार्थपरक नीतिः नागरिकको वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने ।
० प्रभावकारी समन्वयः नागरिक, पार्टीको सांगठनिक तह, संसदीय दल र सरकार रहनुभएका प्रतिनिधिबीच प्रभावकारी सूचना र कार्ययोजनाको आदानप्रदान गर्ने ।


