काठमाडौं, २४ साउन ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । सानेपा केन्द्रीय कार्यालमा बसिरहेको बैठकमा सभापति गगन थापाले पछिल्लो राजनीतिक घटनाक्रम, सर्बोच्च अदालतले पार्टीको आधिकारिकता मुद्दामा गर्न लागेको पुनरावलोकन र सभापति शेरबहादुर देउवाको स्वदेश फिर्तिसम्मका विषयमा केन्द्रीत रहेर बैठकलाई ब्रिफिङ गरिरहेका छन् ।
थापाले प्रदेश सरकार गठन र गठबन्धनका सन्दर्भमा पार्टीले लिएको अडानबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराएको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनले प्रदेश सभाहरूलाई प्रतिपक्षी विहीन बनाउने कतिपय दलहरूको प्रयास लोकतन्त्र बिरोधी भएका कारण रोक्न बाध्य भएको पनि बताए ।
बैठकमा बोल्दै थापाले प्रदेशमा सबै दल मिलेर सरकार बनाउने र प्रतिपक्षी विहीन सभा बनाउने विषयमा नेपाली कांग्रेसको नेपाली कम्युनिस्ट पार्टी र नेकपा (एमाले) सँग कुरा नमिलेको स्पष्ट पारे । हामीले स्पष्टसँग भन्यौँ– नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी विहीन प्रदेश सभा बनाउन चाहँदैन,’ थापाले भने, ‘लोकतन्त्रमा बलियो प्रतिपक्ष अनिवार्य हुन्छ, त्यसैले सबै शक्ति सरकारमा ओइरिने कुरामा हामी सहमत हुन सकेनौँ ।’
महामन्त्री थापाले कांग्रेसले लिएको यो सैद्धान्तिक अडानपछि मात्र अन्य दलहरूबिच नयाँ ढङ्गले सहमति बनेको बैठकलाई जानकारी दिए । उनका अनुसार कांग्रेसले सत्ताको भागबन्डाभन्दा पनि संसदीय प्रणालीको मर्यादा र प्रतिपक्षको भूमिकालाई प्राथमिकता दिएको हो ।
सानेपामा जारी केन्द्रीय समितिको बैठकमा थापाले प्रदेशका पछिल्ला राजनीतिक घटनाक्रम, शक्ति सन्तुलन र कांग्रेसको भूमिकाबारे विस्तृत ब्रिफिङ गरिरहेका छन् । बैठकमा पार्टीको आगामी रणनीति र प्रदेश सरकारहरूमा कांग्रेसको उपस्थितिका विषयमा पनि छलफल भइरहेको छ ।


