काठमाडौं, ३१ भदौ ।
एमाले केन्द्रीय कार्यालय । स्थान–च्यासल ।
वुधबार अपरान्ह् १२ बजे आसपास एमाले उपाध्यक्ष रामबहादुर थापा‘बादल’, विष्णु पौडेल र महासचिव शंकर पोखरेल भलाकुसरीसहित छलफल सुरु गर्दै थिए ।
छलफलको सन्दर्भ थियो–पार्टी पुनर्गठन र चुनावी समीक्षाको भाषा सम्पादन ।
अध्यक्ष केपी शर्मा ओलीले पद छोड्नुपर्ने आशयका शब्द कसरी हटाउने उनीहरुबीच छलफल अघि बढिरहेकै बीचमा बादल पुरानै शैलीमा अडी कसिरहेका थिए ।
त्यही बीचमा चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजकसमेत रहेका बादलले अध्यक्ष केपी ओलीको टेलिफोन सन्देश भन्दै गुण्डु जानुपर्ने बताए । आफूसहित तीनजनै सदस्यलाई ओलीले बोलाएको सन्देश दिने बितिक्कै उनी त्यतातिर हानिए ।
संयोजक नै गुण्डु लागेपछि अलमलमा परेका पौडेल र पोखरेल पनि केहीबेरमै च्यासलबाटै तितरबितर भए । तर, दिनभरी गुण्डुतिरै ब्यस्त बादलले न कार्यालय फर्किए न पौडेल र पोखरेललाई कुनै खबर नै गरे । गुण्डु गएका बादल नफर्किएपछि कार्यदलबाट एकीकृत प्रतिवेदनको भाषा सम्पादनको जिम्मेवारी पाएका तीन जनै नेता अन्तत जिम्मेवारी पूरा गर्न असफल भएका छन् ।
सोमबार पनौतीको बलथलीबाट फर्किएका उनीहरुलाई ३१ भदौभित्र प्रतिवेदन तयार पारी १ असोजको कार्यदल बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी तोएिको थियो । तर, प्रतिवेदन नै तयार नभएपछि १ असोजमा कार्यदल बैठक बस्छ कि बस्दैन, पूर्व निर्णयअनुसार सदस्यहरु बैठकमा जानेछन् कि जाँदैनन् ? एमालेवृत्तमा कौतुहलता सिर्जना भएको छ ।
उता, दिनभर गुण्डुतिरै रहेका ओलीले बादलसँग केके कुराकानी गरे भन्ने विषय भने सार्बजनिक भइसकेको छैन ।
कुरा बुझ्दा, बादल अल्पमतमा परेपछि बैठक फेस गर्ने ठाउँमा पुगेनन् । बन्थली बैठकको निर्णयअनुसार तीन जनाले प्रतिवेदन सम्पादन गर्ने र भोलि कार्यदलको बैठक बस्ने कुरा थियो । तर, अब कार्यदलको बैठकै नबस्ने मात्र होइन, प्रतिवेदन बुझाउन असफल भन्दै सिधै केन्द्रीय कमिटी बैठक बस्ने सम्भावना देखिएको छ ।’ पछिल्लो अबस्था विश्लेषण गर्दै एमालेका एक पदाधिकारीले भने ।


