प्रत्येक वस्तु र घटना परस्परमा सम्बन्धित हुन्छन्। कुनै पनि घटनाको विषयमा अध्ययन गर्दा त्यसका कारण र असर पार्ने तत्त्वहरूको याद गरिएन र त्यस घटनाबारे अध्ययन गरिएन भने केही थाहा पाउन सकिन्न। संसार गतिशील छ । गति र परिवर्तनको प्रवाहमा छ। मार्क्सवादीहरू सधैं प्रगतिशील हुनुको कारण अवस्था अनुसारको व्यवस्था बदल्न आफूलाई तयार गर्छन्। वर्तमान राजनीतिक प्रवाहमा देखिएको घटनाक्रम हाम्रो लागि ठूलो शिक्षाको र अध्ययनको विषय बनेको छ।
नेपालको वाम राजनीतिको प्रभावले समाज धेरै प्रगतिशील बाटोमा छ। वामपन्थीहरुले २०६४ सालदेखि २०७९ सालसम्म भएको निर्वाचनमा झन्डै ६० प्रतिशत मत प्राप्त गरिरहेका थिए। तर गत फागुनमा सम्पन्न निर्वाचनको मत परिणाम हेर्दा २१ प्रतिशतमा खुम्चिएको छ । २०८२ फागुनमा सम्पन्न निर्वाचनमा प्राप्त गरेको मतले मतपरिमाणको चर्चा परिचर्चा मात्र होइन समग्र वामपन्थी आन्दोलनमा नै कोर्स करेक्सन गर्नुपर्ने गंभीर संकेत गरेको छ छ ।
२०८२ भदौमा भएको जेन्जी आन्दोलन र त्यससँग जोडिएको हिंसा तथा विध्वंसले नेपाली समाजमा धेरै सकारात्मक र नकारात्मक मानकहरू स्थापित गरेको छ। उक्त आन्दोलनबाट प्राप्त जनमत र पपुलिज्मवादले नेपालका विद्यमान पुराना राजनीतिक दलहरूप्रति गम्भीर संकट पैदा गरेको छ। अझ विशेषगरी नेकपा एमालेमाथिको चौतर्फी आक्रमणले त झन् समग्र कम्युनिस्ट आन्दोलन नै विघटन बाटोमा पुर्याउँछ कि भन्ने चिन्ता बढाएको छ।

नेकपा एमाले भित्र देखिएको अन्तरविरोधबाट निस्कने निष्कर्षले नेपालको कम्युनिष्ट आन्दोलनको आगामी बाटो तय गर्दछ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक परिस्थितिको विहङ्गम छलफल गर्दै आगामी दिसा तय गर्नेछ । केन्द्रीय कमिटीको बैठक केवल तत्कालीन राजनीतिक घटनाक्रमको समीक्षा गर्ने बैठक मात्र बन्नु हुँदैन। यो बैठकले पछिल्ला निर्वाचन परिणाम, जनताको बदलिँदो मनोविज्ञान, नयाँ पुस्ताको राजनीतिक चेतना, सामाजिक सञ्जालको प्रभाव, संगठनप्रतिको युवाको धारणा, पार्टी र जनताबीचको दूरी तथा नेतृत्वको कार्यशैलीमाथि गम्भीर आत्मसमीक्षा गर्नुपर्ने अवस्था छ।
जेन जी युवाहरूले भ्रष्टाचार, सुशासन, जवाफदेहिता, अभिव्यक्ति स्वतन्त्रता, नेपोबेबी प्रवृत्ति, रोजगारीको अभाव र युवाहरूको विदेश पलायनजस्ता मुद्दालाई आन्दोलनका महत्वपूर्ण विषय बनाए। आन्दोलनका विषयहरू जति मिठा र आकर्षक थिए, आन्दोलनलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता पनि त्यति नै स्पष्ट थियो। शान्तिपूर्ण रूपमा आन्दोलन गर्ने प्रतिबद्धतासहित स्वीकृति पत्रसमेत प्राप्त गरिएको थियो। तर घटनाक्रम त्यही प्रतिबद्धताअनुसार अघि बढ्न सकेन।
शान्तिपूर्ण भनिएको आन्दोलन क्रमशः बल प्रयोग, जबर्जस्ती र हिंसात्मक बन्दै प्रशासनसँग दोहोरो भिडन्तमा परिणत भयो ।राज्य पक्षबाट समेत बल प्रयोग भयो र निहत्था युवाहरूको ज्यान गयो। अझ ड्रेस लगाएका विद्यार्थीलाई ढालका रूपमा प्रयोग गरिएको घटनाले आन्दोलनको स्वरूप र त्यसको सञ्चालनमाथि थप गम्भीर प्रश्न उठ्यो।
त्यसपछि आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र हिंसाले अर्को गम्भीर प्रश्न जन्मायो । सामाजिक परिवर्तन र सुशासनका लागि उठाइएको आन्दोलन कसरी विध्वंस र हिंसात्मक हुन पुग्यो? आन्दोलनका मूल मुद्दा र आन्दोलन सञ्चालनको तौरतरिकाबीचको यो अन्तर आफैंमा अध्ययनको विषय बनेको छ। यसैबीच विभिन्न Gen Z समूहहरूले समेत कतिपय हिंसात्मक गतिविधिबाट आफूलाई अलग गरेको तथ्य सार्वजनिक भयो। यसले आन्दोलनभित्र पनि विचार, उद्देश्य र कार्यशैलीका विषयमा एकरूपता नभएको देखाउँछ। पार्टी कार्यालयदेखि सार्वजनिक संस्थासम्म भएका आक्रमण र आगजनीलाई केवल एउटा घटनाको रूपमा हेरेर पुग्दैन। यसको राजनीतिक, सामाजिक, मनोवैज्ञानिक र प्रविधिगत पक्षको समेत अध्ययन गर्नुपर्ने हुन्छ।
जेन्जीको नाममा सुशासन, भ्रष्टाचार, जवाफदेहिता, नेपोबेबी प्रवृति, अभिव्यक्ति स्वतन्त्रता, युवाहरूको विदेश पलायन लगायत मुद्दा उठाएर नौजवान युवाहरूलाई सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा आगजनी तोडफोड गर्न अभियान चलाउने अभियानकर्ताहरू वर्तमान सरकारको नेतृत्वमा पुगेको छ। नकारात्मक मानक स्थापित गरेर भएपनि युवाहरूको वर्चस्व रहेको वर्तमान संसद र सरकार छ । वर्तमान सरकारको काम कारबाही हेर्दा आशावादी हुने भन्दा चरम निराशावादमा नेपाली समाज फसिरहेको तथ्यहरूले बताइरहेको छ ।
हामीले एउटा प्रश्न आफैंलाई गर्नैपर्छ; जनताले हामीलाई किन प्रश्न गर्न थाले ?
जनताको चेतना बदलियो कि हामी बदलिन सकेनौं ?
युवाको अपेक्षा बदलियो कि हाम्रो राजनीतिक भाषा उस्तै रह्यो ?
समाज डिजिटल भयो कि हाम्रो संगठनात्मक शैली पुरानै रह्यो ?
जनताले नयाँ नेतृत्व खोजेका हुन् कि पुरानो नेतृत्वको कार्यशैलीबाट असन्तुष्ट भएका हुन् ?
जनताले विचार अस्वीकार गरेका हुन् कि विचारको व्यवहारिक प्रयोगप्रति प्रश्न गरेका हुन् ?
यी प्रश्नहरूको उत्तर नाराबाट होइन, तथ्य र अध्ययनबाट खोजिनुपर्छ।
जेन्जी आन्दोलनले एउटा कुरा स्पष्ट देखाएको छ-आजको पुस्ता केवल राजनीतिक दलको परम्परागत संगठनबाट मात्र प्रभावित हुँदैन। सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, भिडियो, मीम, छोटो सामग्री, Discord, TikTok, Facebook, YouTube लगायतका माध्यमले उसको राजनीतिक धारणा निर्माण गरिरहेका छन्। जेन जी आन्दोलनमा Discord लगायत डिजिटल माध्यमहरू संगठन र सञ्चारका महत्वपूर्ण माध्यम बनेको अध्ययनहरूले देखाएका छन्।
यसले हामीलाई एउटा नयाँ राजनीतिक पाठ सिकाएको छ। अब संगठन केवल पार्टी कार्यालयमा हुँदैन। संगठन मानिसको दिमागमा पनि हुन्छ। संगठन अब बैठकको हलमा मात्र हुँदैन, मोबाइलको स्क्रिनमा पनि हुन्छ।
हामीले सूचना प्रविधिलाई प्रचारको माध्यम मात्र ठान्यौं भने फेरि गल्ती हुन्छ। यो आज विचार निर्माण गर्ने, धारणा बनाउने, असन्तुष्टि संगठित गर्ने र राजनीतिक मनोविज्ञान निर्माण गर्ने शक्तिशाली माध्यम बनिसकेको छ।
तर यहाँ अर्को ठूलो प्रश्न पनि छ।
सूचना धेरै हुनु ज्ञान धेरै हुनु हो ?
ज्ञान धेरै हुनु बुद्धिमत्ता धेरै हुनु हो ?
बुद्धिमत्ता हुनु विवेकपूर्ण निर्णय गर्नु हो ?
साहित्यका नोबेल पुरस्कार विजेता टी. एस. एलियट लेख्छन्-“Where is the wisdom we have lost in knowledge? Where is the knowledge we have lost in information?” अर्थात् ज्ञानमा हामीले गुमाएको बुद्धि कहाँ छ? सूचनामा हामीले गुमाएको ज्ञान कहाँ छ ? एलियटले दशकौं अघि उठाएको यो प्रश्न आज सामाजिक सञ्जालबाट घेरिएको विश्वका लागि झन् सान्दर्भिक देखिन्छ। हामीसँग आज पहिलेभन्दा धेरै सूचना छ। एक क्लिकमा हजारौं तथ्य प्राप्त गर्न सक्छौं। तर तथ्यको भीडबाट सत्य छुट्याउने क्षमता कति बढ्यो ? सूचना प्राप्त गर्ने गति बढ्यो, तर त्यसलाई विश्लेषण गर्ने धैर्य बढ्यो कि घट्यो ? ज्ञानको पहुँच बढ्यो, तर ज्ञानलाई व्यवहारिक बुद्धिमा रूपान्तरण गर्ने क्षमता बढ्यो कि घट्यो ? हामीसँग धेरै डाटा हुन सक्छ, तर त्यसलाई ज्ञानमा रूपान्तरण गर्ने क्षमता कम हुँदै गएको हुन सक्छ। हामीसँग धेरै ज्ञान हुन सक्छ, तर त्यसलाई बुद्धिमा परिवर्तन गर्ने क्षमता पनि घट्दै गएको हुन सक्छ।
राजनीतिमा यसको असर अझ गम्भीर हुन्छ। आज एउटा भिडियोले एउटा धारणा निर्माण गर्न सक्छ। एउटा झुटो सूचना हजारौं मानिससम्म केही मिनेटमै पुग्न सक्छ। एउटा भावनात्मक नाराले वर्षौंको राजनीतिक अध्ययनलाई ओझेलमा पार्न सक्छ। एउटा मीमले जटिल राजनीतिक प्रश्नलाई केही सेकेन्डमै एउटा भावनामा सीमित गरिदिन सक्छ।त्यसैले आजको कम्युनिस्ट आन्दोलनको चुनौती केवल संगठन विस्तारको चुनौती होइन। यो ज्ञान, सूचना, प्रविधि र राजनीतिक विवेकको चुनौती पनि हो।
हामीले विगतमा जनताको राजनीतिक चेतना निर्माण गर्यौं। अब जनताको डिजिटल चेतनासँग संवाद गर्न सक्ने राजनीतिक संस्कृति निर्माण गर्नुपर्छ। जनताले प्रश्न गर्दा रिसाउने होइन, प्रश्नको कारण खोज्नुपर्छ। आलोचना गर्दा आलोचकलाई शत्रु देख्ने होइन, आलोचनाभित्र रहेको सत्य छुट्याउन सक्नुपर्छ। सामाजिक सञ्जालमा पार्टीको पक्षमा लेख्ने मानिस मात्र होइन, पार्टीलाई प्रश्न गर्ने मानिसको कुरा पनि सुन्न सक्ने क्षमता विकास गर्नुपर्छ।
मार्क्सवादको शक्ति नै यथार्थको वस्तुगत अध्ययनमा छ। यथार्थ बदलिएको छ भने विश्लेषणको तरिका पनि बदलिनुपर्छ।
त्यसैले अहिलेको प्रश्न एमालेले पुरानै तरिकाले आफूलाई जोगाउने कि नयाँ परिस्थितिमा आफूलाई पुनर्गठन गर्ने भन्ने मात्र होइन। प्रश्न अझ गहिरो छ-एमालेले आफ्नो वैचारिक शक्ति, संगठनात्मक क्षमता र जनसम्बन्धलाई बदलिँदो नेपाली समाजअनुकूल
कसरी पुनर्संयोजन गर्ने?
पहिलो, आत्मसमीक्षा हो। आत्मसमीक्षा भनेको आत्मनिन्दा होइन। आफ्ना उपलब्धिलाई अस्वीकार गर्नु पनि होइन। आत्मसमीक्षा भनेको आफूले कहाँ सही गरियो, कहाँ कमजोरी भयो, कहाँ समाजभन्दा पछि परियो र कहाँ समयभन्दा अगाडि सोच्न सकिएन भन्ने वस्तुगत अध्ययन हो।
दोस्रो, संगठनात्मक रूपान्तरण हो। पार्टीको सदस्य संख्या मात्र ठूलो भएर पुग्दैन। सदस्य सक्रिय छ कि छैन? पार्टी सदस्य समाजसँग जोडिएको छ कि छैन? युवाले पार्टीभित्र आफ्नो भविष्य देख्छ कि देख्दैन? महिलाको सहभागिता निर्णय प्रक्रियासम्म पुगेको छ कि छैन ? स्थानीय तहका जनताको समस्या पार्टीको निर्णय प्रक्रियासम्म पुग्छ कि पुग्दैन? यी प्रश्नहरूको उत्तर खोजिनुपर्छ।
तेस्रो, नेतृत्व र कार्यकर्ताबीचको सम्बन्धलाई पुनःपरिभाषित गर्नु हो। नेतृत्व भनेको केवल पद होइन। नेतृत्व भनेको जिम्मेवारी, जवाफदेहिता र जनता र कार्यकर्तासँगको सम्बन्ध केन्द्रीकृतत अभिव्यक्ति हो। कार्यकर्ता भनेको केवल कार्यक्रममा भीड जम्मा गर्ने शक्ति होइन। कार्यकर्ता विचारको वाहक, समाजको अध्ययनकर्ता र जनताको प्रतिनिधि हो।
चौथो,युवासँग संवाद; युवालाई केवल कार्यक्रममा बोलाएर भाषण सुन्ने बनाउने होइन, नीति निर्माणको बहसमा सहभागी गराउनुपर्छ। उनीहरूको असन्तुष्टिलाई केवल अराजकता भनेर पन्छाएर पुग्दैन। उनीहरूले किन प्रश्न गरिरहेका छन् भन्ने बुझ्नुपर्छ। त्यस्तै, युवाको नाममा हुने हरेक गतिविधिलाई स्वतः प्रगतिशील पनि मान्न सकिँदैन। परिवर्तनको चाहना र विध्वंसको बाटोबीचको अन्तर छुट्याउन सक्ने राजनीतिक विवेक आवश्यक हुन्छ।
पाँचौं, राजनीतिक संस्कृतिको सुधार हो। सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको प्रश्न अरूले उठाउँदा मात्र सुन्ने होइन, आफ्नै पार्टीभित्र पनि त्यही मापदण्ड लागू गर्न सक्नुपर्छ। जनताले नेताबाट केवल भाषण होइन, व्यवहार खोजिरहेका छन्।
छैटौं, अध्ययनको संस्कृति; पार्टीभित्र अध्ययन कमजोर भयो भने सामाजिक सञ्जालको हल्लाले विचारलाई विस्थापित गर्छ। तथ्यको ठाउँमा धारणा आउँछ। विश्लेषणको ठाउँमा आरोप आउँछ। तर्कको ठाउँमा भावनात्मक उत्तेजना आउँछ। त्यसैले पार्टीभित्र अध्ययन केन्द्र, अनुसन्धान, तथ्य–विश्लेषण, नीति बहस र नियमित वैचारिक प्रशिक्षणलाई नयाँ ढंगले स्थापित गर्न आवश्यक छ। पार्टीभित्र वैचारिक, संगठनात्मक र व्यवहारिक जागरण पैदा गर्दै सदस्यता-संगठन-परिचालन-जनसम्बन्धको चक्रलाई मजबुत बनाउनुपर्छ ।
हामीले अब एउटा कुरा बुझ्नैपर्छ-राजनीतिमा जनताको समर्थन स्थायी सम्पत्ति होइन। जनताको विश्वास निरन्तर कमाउनुपर्ने सामाजिक पूँजी हो। हिजोको योगदानले आजको कमजोरीलाई छोप्न सक्दैन। हिजोको लोकप्रियताले आजको प्रश्नबाट मुक्त गर्न सक्दैन। इतिहासमा गरेको योगदान महत्वपूर्ण हुन्छ, तर भविष्यको राजनीति वर्तमान पुस्ताको अपेक्षासँग संवाद गरेर निर्माण हुन्छ।
नेपालको कम्युनिस्ट आन्दोलनले लामो इतिहास बोकेको छ। यस आन्दोलनले नेपाली समाजको राजनीतिक चेतना, सामाजिक रूपान्तरण र लोकतान्त्रिक संघर्षमा महत्वपूर्ण भूमिका खेलेको छ। त्यसैले आजको संकटलाई आन्दोलनको अन्त्यका रूपमा होइन, नयाँ चरणको सुरुवातका रूपमा बुझ्नुपर्छ।
अबको एमालेले आफूलाई केवल चुनाव जित्ने संगठनका रूपमा होइन, बदलिँदो समाजलाई बुझ्ने, जनताको प्रश्न सुन्ने, तथ्यमा आधारित नीति बनाउने र नयाँ पुस्तासँग संवाद गर्न सक्ने आधुनिक जनआधारित कम्युनिस्ट पार्टीका रूपमा पुनर्संयोजन गर्न सक्नुपर्छ। यसका लागि न अतीतबाट भाग्नुपर्छ, न अतीतमै अड्किनुपर्छ। न नयाँ पुस्तालाई दोष दिनुपर्छ, न उनीहरूले उठाएका प्रत्येक कुरालाई आँखाचिम्लेर स्वीकार गर्नुपर्छ। न सामाजिक सञ्जाललाई शत्रु ठान्नुपर्छ, न त्यसको हल्लालाई सत्य ठान्नुपर्छ। न आलोचनाबाट डराउनुपर्छ, न आलोचनाका नाममा आउने अराजकतालाई स्वीकार गर्नुपर्छ। हामीले तथ्य खोज्नुपर्छ। तथ्यबाट ज्ञान निर्माण गर्नुपर्छ। ज्ञानबाट विवेक निर्माण गर्नुपर्छ र विवेकबाट राजनीतिक निर्णय गर्नुपर्छ।
मार्क्सवादी हुनुको अर्थ नै यथार्थलाई वस्तुगत रूपमा बुझ्नु, त्यसको अन्तरविरोध पहिचान गर्नु, त्यसबाट शिक्षा लिनु र नयाँ परिस्थितिका लागि आफूलाई तयार गर्नु हो।


