काठमाडौं, ८ असोज ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा गरिएको सहमतिविपरित केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्य मनोनय गरेकोमा उपमहासचिव योगेश भट्टराईले असहमति प्रकट गरेका छन् । केन्द्रीय कमिटी वैठकमा उपमहासचिव भट्टराईले केन्द्रीय सदस्य र स्थायी समिति सदस्य मनोनयनप्रति असहमति राखेका हुन् ।
अध्यक्ष केपी ओलीले बैठक समापन गर्नुअघि समय लिएर बोल्दै भट्टराईले मापदण्ड बनाएर मात्र केन्द्रीय सदस्य र स्थायी समिति सदस्य मनोनित गर्ने केन्द्रीय सचिवालयको सुझावविपरित अध्यक्ष ओलीले केन्द्रीय कमिटीबाट मनोनयनको निर्णय गराएको भन्दै असहमति राखेका थिए । तर ओलीले यसलाई बलपूर्वक पास गर्न लगाएका थिए । भट्टराईको धारणालाई ओलीले अस्वीकार गरेका थिए ।
‘केन्द्रीय सचिवालय बैठकमा पार्टीभित्र सुदृढ एकता कायम गरेर जाने सहमति गर्नुभो तर, केन्द्रीय कमिटी बैठकमै त्यो सहमति भंग गर्नुभो । बहुमत पदाधिकारीहरुले अहिले केन्द्रीय सदस्य मनोनित नगरौं, गर्नैपर्ने भए खाली जिल्लामा मात्र गरौं बाँकी सदस्य मापदण्ड बनाएर गरौं भन्ने सुझाव राख्नुभएको थियो तर एकताको कुरा गर्दागर्दै किन सहमति तोड्नुभो ?’ भट्टराईको भनाई उद्धृत गर्दै एक नेताले भने,‘स्थायी समितिमा पनि अघिल्लो कार्यकाल नै स्थायी समितिमा रहेका र अहिले केन्द्रीय कमिटीमा रहेका केही छुटेका सिनियरलाई मात्र मनोनित गर्ने भनियो तर केन्द्रीय कमिटी बैठकमै त्यसलाई किन रेसपोन्स गर्नुभएन ?’ भट्टराईले अहसमतिलाई लिखित रुपमा भने दर्ज गराएका छैनन् ।


