काठमाडौं, ८ असोज
नेकपा एमालेभित्र दोस्रो र तेस्रो तहका नेताहरुले पुर्नगठन भनिरहेका बेला पूर्व राष्ट्रपति विद्या भण्डारी अपौचारिक रुपमा राजनीतिमा प्रवेश गरेकी छिन् । विहिबार केन्द्रीय कमिटीको बैठकबाट पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरिएसँगै एमालेको भविष्य विद्याको काँधमा आएको छ । यसपछि एमालेभित्र स्पष्ट रुपमा दुई लाइन संघर्षको ढोका पनि खुला भएको विद्या भण्डारी पक्षधर नेताहरुको दावी छ ।
यसको पृष्ठभूमिमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई तत्कालै मुल नेतृत्वको जिम्मेवारी नदिने नेताहरुको हात रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २६ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगे । बालुवाटारमा रहेको निवासमै पुगेर साढे दुई घण्टा ओलीले भण्डारीसँग छलफल गरे । पार्टीभित्रको संकट व्यवस्थापनसँगै राजनीतिक हिसाब गरेर उनी भण्डारीलाई भेट्न गएका थिए ।
देशभरबाट नेतृत्व छोड्न ओलीमाथि दबाब बढिरहेको बेला उनी भण्डारीलाई भेटन पुगेपछि एकप्रकारको कौतुहलता पैदा भएको थियो । ओलीलाई नेतृत्वबाट विदा गर्ने गरी बहुमत पदाधिकारी समेत तयारी अवस्थामा रहेको बखत ओलीले संकटमा विद्याको साथ खोजेको स्पष्ट भएको थियो ।
२०८२ भदौ २४ गते प्रदर्शनकारीले आगजनी गरेर निवासमा क्षति पु¥याएपछि भण्डारी बालुवाटारस्थित छोरीको घरमा बस्दै आएकी थिइन । भेटमा एमालेभित्र चलिरहेको पुनर्गठनको बहस, कार्यदलको प्रतिवेदन, पार्टीको आगामी दिशा र नेतृत्वका विषयमा कुराकानी भएको थियो । त्यतिबेला नै भण्डारीलाई वरिष्ठ नेता बनाउन सहमत भएका थिए ।
केन्द्रीय कमिटीको बैठकमा पुर्नगठन सम्बन्धी प्रतिवेदनबारे छलफल नभएपनि एमालेभित्र पार्टी पुनर्गठनको माग विभिन्न तहबाट उठिरहेको छ ।११औँ महाधिवेशनमा छुट्टै प्यानल बनाएर सहयोग गरेकोले एमालेका प्रभावशाली केही नेता विद्या भण्डारीसँग छन्। त्यही भएर विष्णु पौडेल र शंकर पोखरेलको तेजबोध गनए पनि ओलीले साथ खोजेका थिए । गत सोमबारको सचिवालय बैठकमा अध्यक्ष ओली आफैले विद्या भण्डारीलाई पार्टीमा जिम्मेवारी दिने प्रस्ताव गरेका थिए । सो प्रस्तावपछि नै विष्णु– शंकर झस्किएका थिए ।
अध्यक्ष ओलीले विद्या भण्डारीसँग छलफल गरेर निस्केपछि महासचिव शंकर पोखरेलले पनि भेटघाट गरेका थिए । विद्यालाई पार्टी सदस्यता दिनु हुँदैन पार्टी ल्याउन हुँदैन भनेर लाग्ने महासचिव पोखरेल पार्टी पुनर्गठन हुँदा अध्यक्ष ओलीले नेतृत्व छोड्नुपर्ने पक्षमा उभिएमा बेला भेट्न पुगेका थिए । एमालेमा ओलीले सहजै नेतृत्व नछाड्ने अवस्थामा एमालेभित्र शुरुवाती पुर्नगठनका पक्षधरहरुले विद्या भण्डारीलाई पार्टीभित्र सहजै स्वीकारेका छन् । तर भण्डारीको पुनरागमनले विष्णु–शंकर समूहलाई भने घाटा लाग्ने अवस्था देखिएको छ ।
ओलीको प्रतिवेदन पास
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बसेको बैठकले ११ औँ महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनीत हुन बाँकी केन्द्रीय सदस्यहरू मनोनीत गरेको हो। केन्द्रीय सदस्यहरू मनोनीतसँगै पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरिएको छ ।
बैठकले ७ जना स्थायी कमिटी सदस्य चयन गरेको छ। स्थायी कमिटीमा चयन भएकाहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्वाहाम्फ, लालबाबु पण्डित र थममाया थापा रहेका छन्।
यस्तै बैठकले काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरुङ, प्रेम दंगाल सुरेन्द्र उदास केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
यस्तै, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्वाहाम्फ, कौशिला खत्री, जानुका सिम्खडा, बिना बास्तोला रहेका छन्। बैठक समापन गर्दै अध्यक्ष ओलीले पार्टीको उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टी हो भन्ने कुरा तेस्रो केन्द्रीय कमिटीमा पनि प्रकट भएको औँल्याउँदै सबै केन्द्रीय कमिटी सदस्यहरूप्रति आभार व्यक्त गरे।
बैठकमा प्रस्तुत बाँकी एजेन्डाहरूमध्ये स्थायी कमिटीको पूर्णता, पोलिटब्युरो गठन, सल्लाहकार परिषद् गठन, विभागहरूको गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च गठनको कामलाई सचिवालय बैठकबाट निर्णय लिन केन्द्रीय कमिटी बैठकले अधिकार प्रत्यायोजन गरेको छ ।


