काठमाडौं, असोज ७
भर्खरै खुलेको मुग्लिन–नारायणघाट सडकखण्ड फेरि पहिरोका कारण प्रभावित बनेको छ। यसअघि दिउँसो १ बजे पहिरो पन्छाएर सडक दुई एकतर्फी सञ्चालनमा ल्याइएको थियो।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिकै मंगलबार बेलुका साढे ४ बजे झनै ठुलो सुक्खा पहिरो खसेपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो।सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने हजारौं सवारीसाधन तथा यात्रुहरू प्रभावित भएका छन्।
सडक डिभिजन भरतपुरका अनुसार सो क्षेत्रमा सुख्खा पहिरो झर्ने क्रम नरोकिएकाले तत्कालै मेसिन प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गर्न सकिएको छैन।
तुइन खोला क्षेत्र हालैका दिनमा पहिरोको ‘हटस्पट’ बनेको छ। गत शुक्रबार साँझदेखि पनि सोही स्थानमा पहिरो खसेर सडक लामो समय अवरुद्ध हुँदै आएको छ।
लगातार पहिरो खसिरहने भएकाले साइटमा पहिरो पन्छाउने मेसिनहरू तयारी अवस्थामा राखिएको सडक डिभिजन भरतपुरले जनाएको छ।
दसैं नजिकिँदै गर्दा देशको सबैभन्दा व्यस्त राजमार्गहरू मध्येको एकमा बारम्बार देखिने यस्तो समस्याले यात्रुहरूलाई थप सास्ती दिएको छ।
