केंद्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग गर्दै बुधबार लेहमा हिंसात्मक प्रदर्शन भयो। विद्यार्थीहरूको प्रहरी र सुरक्षाबलसँग झडप भयो। यसमा ४ जनाको मृत्यु भयो र ७० भन्दा बढी घाइते भए।
प्रदर्शनको क्रममा विद्यार्थीहरूले प्रहरीलाई ढुंगामुढा गरे। भाजपा अफिस र सिआरपीको को गाडीमा आगो लगाइयो। उता, प्रशासनले लेहमाभित्र बिना अनुमति ¥याली, प्रदर्शनमा प्रतिबन्ध लगाएको छ।
यी विद्यार्थीहरू सामाजिक अभियन्ता सोनम वाङ्चुकको समर्थनमा प्रदर्शन गरिरहेका थिए। वाङ्चुक १५ दिनदेखि आमरण अनशनमा बसेका थिए। माग पूरा नभएको विरोधमा प्रदर्शनकारीहरूले आज बन्दको आह्वान गरेका थिए। यही क्रममा हिंसा भएको हो।
हिंसा पछि वाङ्चुकले अनशन तोड्दै भने,‘यो लद्दाखका लागि दुःखको दिन हो। हामी पाँच वर्षदेखि शान्तिको बाटोमा हिँडिरहेका थियौँ। अनशन ग¥यौँ, लेहदेखि दिल्लीसम्म पैदल गयौँ। आज हामी शान्तिको सन्देशलाई असफल हुँदै गरेको देखिरहेका छौँ। हिंसा, गोलीबारी र आगजनी भइरहेको छ। म लद्दाखका युवापुस्तालाई यो बेवकूफी रोक्न अपिल गर्छु। हामी हाम्रो अनशन तोड्दैछौँ, प्रदर्शन रोकेका छौँ।’
यी मागहरूसम्बन्धी अर्को बैठक दिल्लीमा अक्टोबर ६ मा हुनेछ। सन् २०१९ मा अनुच्छेद ३७० र ३५ए हटाउँदा जम्मु–कश्मीर र लद्दाख दुई वटा केंद्र शासित प्रदेश बनाइएका थिए। सरकारले त्यतिबेला नै परिस्थिती सामान्य भएपछि पूर्ण राज्यको दर्जा बहाल गर्ने आश्वासन दिएको थियो।
