भक्तपुर, असोज २३
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान गृहमन्त्रीले राज्य चलाउन कि अपराधीको संरक्षण गर्न खोजेको भन्ने स्पष्ट नभएको बताएका छन्।
नेकपा एमाले भक्तपुरले गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गृहमन्त्रीले प्रतिशोधको राजनीति गरेको र अपराधीको पक्षमा ढाल बनेर उभिएको बताए। ‘अहिलेका गृहमन्त्री राज्यको नेतृत्व गर्दैछन् कि आपराधिक समूहको संरक्षण ?’ महासचिव पोखरेलले भने, ‘गृहमन्त्री जेलबाट भागेका अपराधी पक्राउ गर्न रोक्छन् ।’
लुटपाट र हत्यामा संलग्नलाई संरक्षण गर्दछन् । यस्ता व्यक्तिबाट कसरी देशको गृह मन्त्रालय सञ्चालन हुन्छ ? शान्ति सुरक्षा कसरी कायम हुन्छ ?’ गृहमन्त्रीले प्रहरीको मनोबल उठाउने भन्दा गिराउने काम गरिरहेको बताए। महासचिव पोखरेल प्रधानमन्त्री सुशीला कार्की नै संविधान विपरीत प्रधानमन्त्री भएको दाबी गर्दै दलहरूको सहमतिमा संविधान संशोधन गरेर उहाँलाई नै प्रधानमन्त्री बनाउन दलहरू तयार रहेको बताए।
‘मुलुकमा उत्पन्न परिस्थितिका कारण उहाँको नियुक्तिलाई हामीले मौनता साध्यौँ तर उहाँ प्रतिशोधपूर्ण ढङ्गले अघि बढ्न खोज्नु भएको छ । ’ महासचिव पोखरेलले वर्तमान सरकारको मुख्य कार्यभार निर्वाचन भएको उल्लेख गरे। उनले देशमा सुरक्षाको प्रत्याभूति नदिलाई,प्रहरीको मनोबल नउठाई,लुटिएका हतियार फिर्ता नगराई निष्पक्ष निर्वाचन हुन नसक्ने बताए।
‘सरकार दलहरूसँग संवाद,छलफल नगरी निर्वाचनको नाटक गर्दै छ’ महासचिव पोखरेलले भने, ‘असोज १८ पछि ज्ञानेन्द्रले पनि यस्तै चुनावको नाटक मञ्चन गरेका थिए । तर त्यसले वैधता पाएन । अहिलेको सरकारले गर्ने निर्वाचन पनि त्यही बाटोमा जाने खतरा छ ।’
