काठमाडौं, असोज २४
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न नेपाल प्रहरीमाथि दबाब परेको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति नेपाल प्रहरीले कडा आपत्ति जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री थापालाई पक्राउ गर्न दबाब दिइएको भन्ने आशयका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
प्रहरी प्रवक्ता विनोद घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
प्रहरी महानिरीक्षकले कतै पनि त्यस्तो आशय झल्कने अभिव्यक्ति दिएका छैनन्। प्रधानमन्त्री, गृहमन्त्री लगायत उच्च सुरक्षा बैठकमा प्रस्तुत प्रतिवेदनहरू विशुद्ध सुरक्षा चुनौतीका विषयमा आधारित छन्।
प्रहरीले स्पष्ट पारेको छ कि उक्त बैठकहरूमा समसामयिक घटनाक्रमको विश्लेषण गर्दै शान्ति–सुरक्षा र सुव्यवस्था कायम गर्ने विषयमा मात्र छलफल भएको हो।
प्रहरीले यस्ता भ्रामक समाचारहरू सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह समेत गरेको छ।

