काठमाडौ, असोज २४ गते
पूर्व गृहमन्त्री रमेश लेखकले जेनजी पुस्ताले गरेको भदौ २३ गतेको प्रदर्शनमा आफूले बल प्रयोगको आदेश नदिएको स्पष्ट पारेका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “प्रधानमन्त्री जोसुकै थिए, गृहमन्त्रीका हैसियतले म वा प्रधानमन्त्रीको तर्फबाट बल प्रयोग गर्न कुनै आदेश दिइएको थिएन।”
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा राजधानी काठमाडौंसहित देशभर जेनजी पुस्ताले प्रदर्शन गरेका थिए। ती प्रदर्शनहरू हिंसात्मक बनेपछि काठमाडौंमा मात्रै १७ जनाको ज्यान गएको थियो। सरकारी र निजी सम्पत्तिहरूमा आगजनीसमेत भएको थियो।
“त्यति ठूलो क्षति हुँदा म अत्यन्तै दुखित भएँ,” लेखकले भने, “त्यसको जिम्मेवारी लिँदै तत्कालीन समयमा मैले गृहमन्त्री पदबाट राजीनामा पनि दिएको थिएँ।”