काठमाडौँ, असोज २६ गते
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको परिवारविरुद्ध पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत गरिएको आरोपप्रति प्रचण्ड सचिवालयले कडा आपत्ति जनाएको छ।
प्रेस संयोजक गोविन्द आचार्यद्वारा जारी विज्ञप्तिमा “दुर्भावनापूर्ण, तथ्यहीन र नियोजित रूपमा प्रचण्ड परिवारको चरित्र हत्या गर्न खोजिएको” उल्लेख गर्दै यस्ता आरोपहरूलाई “कपोकल्पित, निराधार र पूर्वाग्रही” भनेर खारेज गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, प्रचण्ड निवासबाट जेन जेड आन्दोलनअघि दुई करोड रुपैयाँ दुईवटा ट्रकमा निकालिएको, सुरक्षाकर्मीहरूलाई घरेलु काममा प्रयोग गरिएको, गंगा दाहालको घरमा अत्यधिक सुरक्षाकर्मी खटाइएको जस्ता दाबीहरू पूर्णरूपमा झूटा र बेबुनियाद छन्। सचिवालयले यस्ता समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई ती आरोप प्रमाणसहित पुष्टि गर्न खुला चुनौती दिएको छ।
कानुनी कारबाहीको संकेत
सचिवालयले साइबर कानुन तथा प्रेस आचारसंहिताको उल्लंघन गर्दै प्रसारण भएका यस्ता सामग्रीबारे छानबिन गरी दोषीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई औपचारिक आग्रह गरिसकेको छ।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूले तथ्य र स्रोतको विश्वसनीयतामा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने संवैधानिक दायित्व छ, विज्ञप्तिमा भनिएको छ, तर पछिल्लो समय देखिएको प्रवृत्तिले जिम्मेवार पत्रकारितालाई अपमानित गरेको छ।
सचेत रहन आम नागरिकमा आग्रह
सचिवालयले यस्ता भ्रामक प्रचारप्रति आम जनसमुदायलाई सचेत रहन र यथार्थ बुझेर धारणा बनाउन अपिल गर्दै भविष्यमा यस्ता असत्य प्रचार दोहोरिएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक र प्रसारकले वहन गर्नु पर्ने चेतावनीसमेत दिएको छ।
