ललितपुर असाेज,२६
काठमाडौ २३र २४ भदौमा भएको जेन-जि आन्दोलनका क्रममा घुसपैठ गराएर सिहदरबारसहितका राष्ट्रिय सम्पत्ति र निजी सम्पत्तिमा आगजनी र तोडफोड गरेको भन्दै कांग्रेसनिकट नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका अध्यक्ष सुधन गुरुङविरुद्ध जाहेरी दिएको छ ।
घुसपैठ गराएर आगजनी र तोडफोड मात्र होइन, विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा जान उकासेर गोलीकाण्ड घटाउनसमेत उनीहरु जिम्मेवार रहेको नेविसंघको आरोप छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको अगुवाईमा काठमाडौ र ललितपुर प्रहरी परिसरमा दिइएको जाहेरीमा बालेन र सुधनले भिड उतारेर राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको पनि आरोप लगाएको छ ।
यसअघि एमालेनिकट अनेरास्ववियुले पनि बालेन्द्र र सुधनविरुद्ध काठमाडौसहित देशैभर उनीहरू विरुद्ध जाहेरी दिएको थियो ।
अनेरास्ववियु र राष्ट्रिय युवा सघले उनीहरुलाई तत्काल पक्राउ गर्न माग गर्दै बाके, दाङलगायतका जिल्लामा प्रदर्शन नै गरेका छन । काठमाडौमा शनिबार आयोजना गरेको बृहत बाइकर्यालीलाई भने प्रशासनले रोक लगाएको थियो ।
