फूलको अनुपम सौन्दर्य देखेर हरेक मान्छेको मन मोहित बन्छ । फूल हेर्न,नजिक जान, स्पर्श गर्न, जानकारी लिन र सुगन्धको अनुभुति गर्न हरेक मानि लालायित हुन्छ । फूललाई मानव जीवनको भावनात्मक सुन्दरता, पवित्रता, असल स्वभाव र कोमलताको प्रतिक पनि मान्न सकिन्छ । फूल प्रकृतिको निरन्तरता र वातावरणको संरक्षक हो । यी नै फूललाई हामीले तिहारमा अधिक प्रयोग गर्छौ । यिनको इतिहास के होला भन्ने सबैलाई कौतुहलता रहेको छ ।
सयपत्री
मेक्सिको तथा मध्यअमेरिकी जंगली फूल हो यो । टागेट्स जातभित्रको यस फूल इरेक्टा अर्थात् नेपालमा कुकुर फूल नामले चिनिने र पटुला अर्थात् ठूलो सयपत्री दुई जात मौलिक हुन् । तर आजभोलि हाइब्रिडबाट विभिन्न नयाँ जातहरू प्राप्त छन् । मध्यअमेरिकी यस फूल अमेरिकामा पत्ता लागेपछि मात्र यताको संसारमा मकै, रबर, आलु, गोलभेंडाजस्तै आए पनि इरेक्टालाई अपि।mकन मेरिगोल्ड र पटुलालाई फ्रेन्च मेरिगोल्ड पनि भनिनु अचम्मलाग्दो छ ।
मेक्सिकोका पहाडहरूमा जंगली रूपमा आपैm उम्रने यी फूललाई पुरानो सभ्य जाति एजेटिकहरूले खेती गर्दथे । यसका फूलहरू औषधि, सजावट तथा समारोहहरूमा हजारौं वर्षदेखि एजेटिकहरूले उपयोग गर्दथे । होन्डुरसमा यसलाई पानीमा मिसाएर लासहरू धुुने हुनाले मृतकहरूको फूल पनि भनिन्छ । यसमा सल्फरको मात्रा बढी हुनाले ब्याक्टेरियालाई मार्दछ ।
यसको जराले गर्ने अत्यधिक माइक्रोबियल क्रियाले जमिनका नेमोटोड जातका शत्रु कीराहरूबाट अन्य बिरुवाहरूलाई बचाउने हुँदा अन्न या अन्य बालीसँगै मिसाएर यसको खेती गर्ने गरिन्छ । गोलभेंडामा लाग्ने सेतो पुतली यसको नजिक नआउने हुँदा गोलभेंडाछेउ यसको खेती लाभदायक हुन्छ । तर माइक्रोबियल सक्रियताबाट बढ्ने केराउ जाति (लेगुम परिवार) का लागि यो हानिकारक भएकाले केराउ जातिको खेतमा यो रोपिनुहुन्न । बन्दाकोपीका सलादमा रंग र स्वादका लागि यस फूल सेफहरूले उपयोग गर्छन् ।

कुखुराको फुल (अण्डा) को पहेंलो भाग बढाउन यसको धूलो दानामा मिसाइन्छ । माहुरी तथा पुतलीका लागि पेटुला अर्थात् कुकुरफूलमा प्रशस्त परागरस भएकोले माहुरी उत्पादकले फूल घट्दै जाने वर्षा अन्तपछिको मौसममा यसको खेती गर्नु लाभदायक छ । यसको जन्मथलो मेक्सिकोका पहाडहरूमा सेप्टेम्बरदेखि तुषारो नलागेसम्म उत्पादन हुन्छ र नेपालमा पनि ठीक त्यही बेला अर्थात् मौलिक रूपमै हुन्छ । तर अन्य स्थानमा पुगेर आदत बदली तापक्रम अनुसार यो जुलाईदेखि अक्टुबरसम्म फुल्ने गर्दछ, अर्थात् यसमा अमेरिकी अन्य मकै, आलुभैएडप्टिबिलिटी ज्यादै रहेछ । आजभोलिका हाइब्रिड त बाह्रैमासे भइसकेका छन् ।
नेपालमा सयपत्रीको खेती सत्रौं शताब्दीको उतराद्र्धतिरै भित्रिएको तथ्य नीलतन्त्र नामक दस्तावेजमा छ । राँगा खसीको सयपत्रीजस्तै पत्रे आकार देखेर यसलाई सयपत्री भन्ने गरिएको हुनुपर्छ भन्ने अनुमान छ । तर यसमा पत्रैपत्र हुँदैन मसिनो मसिनो थुप्रै फूलको थुङगे बुके बनाएजस्तो हुन्छ । त्यसैले यसलाई गाउँघरमा अझै पनि थुङगे फूल भनिन्छ । दुवै जंगली जाते सयपत्रीको हरेक केस्रा स्वयं आफै बीउ भएको र जतासुकै आफै उतैको गोलभेंडाझै उम्र्रिन्छ ।
मखमली
दिदीबैनीका प्रिय मखमली फूल पनि अमेरिकाकै नेटिभ जात हो । सन् १८०० मा जंबहादुरले बेलायत पठाएको उपहारको विवरणमा मखमली फूल पनि लेखिएकोले सोभन्दा अगाडि नै नेपाल छिरे पनि कम संख्याकै कारण अनमोल मानिएको बुझ्न सकिन्छ ।

यसको अर्थ केही अघिमात्र उक्त फूलले दरबारहरूमा मात्र प्रवेश पाएको हुनुपर्छ । अमारान्थासिया परिवारको करिब २४ इन्च अग्लो बोट हुने यो फूल दुई आकारको हुन्छ । मखमल रंगको हामीले प्रयोग गर्ने ग्लोब आकारको फूलको वनस्पतिक नाम नाम गोम्फोना ग्लोबोसा हो ।
ग्लोबभन्दा फरक केही लाम्चो आकारको फूललाई गोम्फोना सेलोस्वाइड्स भनिन्छ ।
सेतो या पिंक रंगको भए पनि हामी भन्नचाहिँ मखमली नै भन्छौं । तर मखमली रंगमात्रै तिहारमा उपयोग हुने हुँदा मखमली रंगी फूललाई मात्र दर्सैं फूल मान्नुपर्छ । यसलाई ब्याच्लर बटन, स्ट्रबेरी फिल्डसमेत भनिन्छ । छुँदा घोच्ने यस फूललाई नरम मखमली नाम दिइनुमा सुरुमा नेपाल ल्याइँदाको फूलको रंग मखमलको कपडाजस्तो देखिएकोले मखमली भनिएको अनुमान गर्न सकिन्छ ।
स्वास्थ्यका लागि लाभदायक मान्दै चीनमा यसलाई जस्ताको तस्तै सिंगैै उमालेर चियाको रूपमा खाइन्छ । हाँगा छुट्याएर फूलदानीको चिनी हालेको पानीमा चिसो ठाउँमा कट फ्लावरका रूपमा महिनौं ताजा टिकाउन सकिन्छ । दिदीबैनीहरूले बेलामै टिपेर भाइटीकामा ताजै फूल पाउने तरिका हो यो ।
गोदावरी
गोदावरी चीनको मौलिक फूल हो । इसापूर्व १५०० वर्षतिरै चीनमा औषधिका लागि खेती गरिन्थ्यो । आठौं शताब्दीमा जापान र युरोपमा सत्रौं शताब्दीमा पुगेको यो फूल पर्सिया हँुंदै भारत छिरेको हो । काठमाडौं कहिले पसेको यकिन नभए पनि सन् १८९३ मा इलामको वैयाकरण नेपाल नामक व्यक्तिको बगैंचामा यो देखिएको दस्तावेज छ, सायद दार्जिलिङतिरबाट ल्याइयो कि भन्ने आशंका छ । भारतमा यसलाई गुल (फूल) दाउडी भनिन्छ । तसर्थ नेपालीको कानले गुल दाउडीलाई गोदावरी सुन्यो र यसको नाम गोदावरी रहन गएको अनुमान गर्न सकिन्छ । चाइनिज भाषामा यसको नाम चु हो ।
युरोपियनले ग्रिक शब्द क्रेसस् अर्थात् सुनौलो तथा एन्थेमन अर्थात् फूल मिसाएर क्रेसेन्थेमम नामकरण गरेको हो । मौलिक रूपमा अर्थात् प्राकृतिक रूपमा सिंगल यस फूलको रंग सेतो, पहेंलो तथा पिंक मात्रै हो । आजभोलि हाइब्रिडबाट अनेक आकार र चहकिलो लालसमेत पाइन्छ । गोदावरीको बोटले इन्डोर प्रदूषण घटाउने तथ्य अमेरिकी नासाले प्रकाशित गरेको छ । चीनमा सेतो गोदावरी उमालेर चिया खाइन्छ । गोदावरी इन्फ्ल्युएन्जाबाट तंग्रिने औषधि मानिन्छ । उमालेका जराले टाउको दुखेको निको पार्छ । वातावरणलाई विषादी नबनाई बालीको कीरा मार्ने कीटाणुनाशक औषधिका रूपमा पनि प्रयोग हुन्छ ।

खुसी र आनन्दको प्रतीक मानिन्छ चीनमा गोदावरीलाई । यसको फुल्ने प्रक्रिया दिनको उज्यालोको मात्रासँग सम्बन्धित छ । यसको थलो चीनमा यो फुल्ने बेलाको दिनको उज्यालो नेपालमा असोज तेस्रो हप्ताबाट सुरु भई कात्तिक चौथो हप्तामा पूर्ण रूपले फुल्ने उज्यालोको मात्रा समान हुन्छ । यही बेला तिहार हुने भएकोले तिहारमा यो उपयोग गर्न थालिएको होे । तिहार चाँडै भएको वर्ष तिहारमा यो फूल ढकमकिँदैन । हाल यसलाई ग्रिन हाउसहरूमा कृत्रिम उज्यालो र तापहरूबाट वर्षैभरि फुलाइने गोदावरी संसारको दोस्रो टप कट फ्लावरका रूपमा बिक्री हुन्छ ।
तिहारमा फूलको महत्व अर्थपूर्ण रहन्छ । तिहारमा फूलको प्रयोग अत्यधिक मात्रामा हुने गर्दछ । विशेष तिहारको अन्तिम दिन भाइटीका पर्ने गर्दछ र त्यो दिन दिदी तथा बहिनीले दाजुभाइलाई टीका लगाएर फूलको माला लगाइदिन्छन् । टीकासँगै मालाको रूपमा सयपत्री, मखमली र गोदावरी फूल प्रयोग गरिन्छ ।
