धनगढी, कात्तिक १३ गते
जेनजी आन्दोलनको क्रममा रास्वपा सभापति रवि लामिछानेको सिको गर्दे देशका विभिन्न जेलबाट निस्केका सयौं कैदीमध्ये अझै पनि ठूलो संख्यामा फरार रहेका छन्। कञ्चनपुर, दार्चुला र कैलालीका कारागारहरूबाट भागेका कैदीमध्ये धेरैलाई नियन्त्रणमा लिन सकिए पनि केही अझै समातिएका छैनन्।
कैलाली कारागारबाट भागेका १९ भारतीयसहित २६२ कैदी अझै नियन्त्रणबाहिर
कैलाली कारागारबाट भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा ६६५ जना कैदी फरार भएका थिए। हालसम्म करिब ४०० भन्दा बढी कैदी पुनः कारागार फर्काइए पनि १९ भारतीयसहित २६२ जना कैदी अझै पक्राउ पर्न बाँकी रहेको कारागार प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए।
फरार भारतीयमध्ये कतिपय जघन्य अपराधमा संलग्न थिए। ज्यान मार्ने प्रयास, डकैती, हातहतियार, मानव ओसारपसार र लागुऔषध मुद्दामा दोषी ठहर भइसकेका ती कैदी फरार अवस्थामा रहेका छन्।
कारागार प्रशासनले उनीहरूलाई पक्राउ गरी पुनः जेल पठाउने तयारी अघि बढाएको जनाएको छ।
कञ्चनपुर कारागारका ९९ जना अझै फरार
जेनजी आन्दोलनकै समयमा कञ्चनपुर कारागारबाट निस्किएका करिब ३५० मध्ये ९९ जना कैदी बन्दी अझै सम्पर्कविहीन छन्। तीमध्ये १७ जना जबरजस्तीकरणी मुद्दामा दोषी ठहर भई लामो कैद भुक्तान गर्दै आएका थिए भने ९ जना थुनुवा पनि फरार छन्।
कारागारका निमित्त जेलर रामदत्त जोशीका अनुसार जबरजस्तीकरणी मुद्दामा २५ वर्षसम्म कैद तोकिएका तीन जना कैदी अहिले पनि फरार छन्। शुक्लाफाँटा–९ का ३५ वर्षीय शिवी टमाटा, दोधारा चाँदनी–७ का मुकेशबहादुर क्षेत्री, र सोही नगरपालिकाका–१ का बब्लु सुनार लामो कैद भुक्तान गरिरहेका थिए।
यस्तै, सोही मुद्दामा १८ वर्ष कैद तोकिएका दोधारा चाँदनी–४ का टेकबहादुर सुनार, भारतका चरन जोशी, शुक्लाफाँटा–११ का डमेरे कामी, र कृष्णपुर–२ का मदन चौधरी पनि फरार छन्।
त्यसैगरी १६ वर्ष कैद तोकिएका भीमदत्त–७ का दानसिंह बोहरा, १४ वर्षका बेलौरी–१० का टेकबहादुर नेपाली, १२ वर्षका भीमदत्त–८ का पारस देउवा, र बेलौरी–५ का रामप्रसाद चौधरी समेत फरार सूचीमा छन्।
अन्य फरार कैदीहरूमा पञ्चेश्वर–६ का शिवराज आउजी, बेलडाँडी–५ का विष्णु खड्का, शुक्लाफाँटा–१ का रामसिंह बोहरा, कृष्णपुर–९ का प्रकाश भट्ट, दोधारा चाँदनी–१० का पुरन दमाईं, र बेलडाँडी–२ का प्रेमबहादुर सुनार रहेका छन्।
जेलर जोशीका अनुसार, प्रहरीलाई फरार कैदीको खोजीका लागि अनुरोध गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न माध्यमबाट निगरानी र खोजी कार्य तीव्र पारिएको जनाएको छ।
दार्चुलामा ६ जना कैदी अझै बेपत्ता
दार्चुला कारागारमा गत भदौ २४ गते राति ७१ जना कैदीबन्दीले ढोका तोडी भागेका थिए। तीमध्ये प्रहरीले हालसम्म ६५ जनालाई पुनः नियन्त्रणमा लिएर कारागार पठाइसकेको छ, तर ६ जना अझै फरार छन्।
प्रहरी नायव उपरीक्षक गौरव महतका अनुसार, फरारमध्ये ३ जना जबरजस्तीकरणी, २ जना सवारी ज्यान, र १ जना अपहरण तथा शरीर बन्धक मुद्दाका हुन्।
दार्चुला कारागारकी जेलर सरिता चन्दका अनुसार, फरारमध्ये दुई जना दार्चुलाका, दुई जना कैलाली र बाजुराका, एक जना सङ्खुवासभाका र एक जना भारतीय नागरिक रहेका छन्।
प्रहरीले फरार कैदीहरूको घरपरिवार र सम्भावित स्थानमा निगरानी बढाएको जनाएको छ।
