महेन्द्रनगर, कात्तिक १३ गते
सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल बिहीबार भीमदत्त नगरपालिकाको सभा हलमा भएको सर्बदलिय बैठकमा आवेगमा उत्रिँदै बैठक नै अव्यवस्थित बनाएका छन्।
बिहान २ बजे सुरु हुने भनिएको बैठकमा रावल २ बजेर १० मिनेटमा प्रवेश गरेपछि वातावरण तनावग्रस्त बनेको सहभागीहरूले बताएका छन्। उक्त बैठक जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मी र जनप्रतिनिधिहरूसँग जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन गर्न डाकिएको थियो।
बैठक सुरु हुन नपाउँदै रावलले जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीप्रति कडा प्रतिक्रिया जनाए। उनले आयोगको गतिविधिले “घाउमाथि नुन छर्किएको” भन्दै भण्डारीलाई तीव्र शब्द प्रयोग गरेर प्रश्न गरे —
“हु आर यूरु राष्ट्रिय सम्पत्ति जलाउनेहरूलाई किन कारबाही भएनरु अपराधी किन खुला छन्रु”
करीब १२ मिनेटसम्म रावलले आयोग, प्रशासन र सुरक्षाकर्मीमाथि असन्तुष्टि पोख्दै बोलेका थिए। उनले जिल्लामा भएका क्षतिलाई सही रूपमा समेट्न नसकिएको आरोप लगाउँदै भने, “सुरक्षा दिन नसक्नेहरूले अहिले जाँचबुझको नाटक गरेर जनतालाई झन् पीडा दिइरहेका छन्।”
स्रोतका अनुसार, आयोगका सदस्य भण्डारी केही दिनअघि रावलको घरमा क्षतिको विवरण लिन पुगेका थिए तर पहिचान खुलासा नगरी प्रवेश गरेको भन्दै रावल असन्तुष्ट भएका थिए। सोही घटनापछि उनी बिहीबारको बैठकमा आवेगमा उत्रिएका हुन्।
रावल बैठक अशोभनीय भएको भन्दै करिब २ बजेर २२ मिनेटमा बैठक कक्षबाट बाहिरिए। उनी बाहिरिएपछि हल केही बेर मौन रह्यो।
ढिलो गरी साढे तीन बजे मात्रै बैठक औपचारिक रूपमा सुरु भए पनि अधिकांश सहभागीहरू त्यतिबेलासम्म फर्किइसकेका थिए। अन्ततः बैठकमा बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, सुरक्षाकर्मी र केही कार्यालय प्रमुखहरू मात्र उपस्थित थिए।
जाँचबुझ आयोगले गत भदौ २२ र २३ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको अध्ययनका लागि बिहीबारको बैठक आयोजना गरेको थियो।

