जनकपुर, कात्तिक २५
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। पदभार ग्रहण गर्दै उनले मधेश आन्दोलनका सहिदहरूलाई ‘मधेश रत्न सम्मान’ प्रदान गर्ने पहिलो निर्णय गरेका छन्।
मुख्यमन्त्री यादवले मधेश आन्दोलनका क्रममा शहादत प्राप्त वीर सहिदहरूको योगदानलाई अमर बनाउने उद्देश्यले विशेष सम्मान स्थापना गर्ने घोषणा गरेका हुन्। उनका अनुसार, मुलुकमा संघीयता स्थापनामा मधेशका सहिदहरूको भूमिका अतुलनीय रहेको छ, तर उनीहरूलाई संस्थागत रूपमा अझै पनि पर्याप्त सम्मान दिइएको छैन।
कार्यभार ग्रहणपछि मुख्यमन्त्री यादवले प्रदेशमा शान्ति, सुव्यवस्था र सुरक्षा सुदृढीकरणका लागि सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन पनि दिएका छन्।
उनले भने, “मधेशका सहिदहरूलाई सम्झने, उनीहरूको सपना पूरा गर्ने र मधेशको सशक्त पहिचान निर्माण गर्नु नै हाम्रो पहिलो प्रतिबद्धता हो।”
मुख्यमन्त्री यादवलाई कात्तिक २३ गते प्रदेश प्रमुखले नियुक्त गरेका थिए। उनले कात्तिक २४ गते शपथ ग्रहण गरेका थिए। यससँगै मधेश प्रदेशको नयाँ सरकार औपचारिक रूपमा कार्यरत भएको छ।
