काठमाडौं , कात्तिक २७
दिव्य ज्योति हाइड्रोपावर लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमताको विस्तार योजनाअन्तर्गत लमजुङ जिल्लाको बेसीसहर नगरपालिका अवस्थित मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना (५० मेगावाट) का लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति र जडानसम्बन्धी ठेक्का सम्झौता गरेको छ।
यस सम्झौताअनुसार, इटालीस्थित ट्रोयर एजी (Troyer AG) ले उक्त आयोजना निर्माणका लागि आवश्यक उपकरण आपूर्ति, जडान तथा परीक्षण कार्यको जिम्मेवारी लिनेछ। सम्झौतामा ट्रोयर एजी इटालीका बिक्री विभाग प्रमुख ह्यान्सपिटर स्कोल्झोर्न, ट्रोयर हाइड्रो प्रा.लि. भारतका अध्यक्ष पवन ढकाल, र प्रवर्द्धक कम्पनी दिव्य ज्योति हाइड्रोपावर लिमिटेडका अध्यक्ष सतीश न्यौपानेले हस्ताक्षर गरेका छन्।
यो आयोजनामा जडान हुने फ्रान्सिस टरबाइन नेपालमा ट्रोयरद्वारा हालसम्म आपूर्ति गरिएका सबैभन्दा ठूला टरबाइनमध्ये एक हुनेछ। ट्रोयरले यसअघि नेपालमा सुपर चेपे (९.०५ मेगावाट) र ठूलो खोला (२१.३ मेगावाट) जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ। साथै मेवा खोला (५० मेगावाट), सेती खोला (२२ मेगावाट) र स्यार्पु खोला (३.३ मेगावाट) आयोजना अन्तिम जडान तथा परीक्षणको चरणमा छन्।
ट्रोयरले न्यासिम खोला (३८.५ मेगावाट), अपर खुडी (२६ मेगावाट), सभाखोला बी (३२.२५ मेगावाट), लुजा खोला (२४.९८ मेगावाट), अपर म्याग्दी (४६.२५ मेगावाट), अपर म्याग्दी–१ (५३.५ मेगावाट) र दूधपोखरी चेपे (११ मेगावाट) लगायतका आयोजनामा पनि प्राविधिक कार्य गर्दै आएको छ।
नेपालमा दीर्घकालीन सेवा र प्राविधिक सहयोग सुदृढ गर्न ट्रोयरले हालै काठमाडौंमा वेयरहाउस तथा स्थानीय प्राविधिक टोली गठन गरेको छ। यसले आयोजना सञ्चालनपछि आवश्यक मर्मत–सम्भार र सेवा समयमै उपलब्ध गराउने लक्ष्य राखेको छ।
सम्झौताअनुसार, ट्रोयर एजीले आगामी दुई वर्षभित्र सम्पूर्ण उपकरण आपूर्ति, जडान र परीक्षण कार्य सम्पन्न गरी आयोजना विद्युत उत्पादनका लागि तयार पार्नेछ।

करीब १० अर्ब रुपैयाँ (१००० करोड रुपैयाँ) लगानी अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत इक्विटी प्रवर्द्धक समूहबाट र बाँकी ७० प्रतिशत ऋण बैंकहरूको संयोजनबाट जुटाइनेछ। आयोजना दुई वर्ष र छ महिनाभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ।
उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेशन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ, जसले देशको ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
