काठमाडौं, कार्तिक २७
भाद्र २३ र २४ गतेका घटनाबारे छानबिनका लागि गठित “जाँचबुझ आयोग, २०८२” ले नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ।
आयोगको बिहीबार बसेको बैठकले खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले आजैदेखि लागू हुने गरी उनको विदेश भ्रमण रोक्ने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो।
आयोगले पूर्व आईजीपी खापुङलाई सो निर्णयबारे जानकारी गराइसकेको बताएको छ। साथै, भाद्र २३ र २४ का घटनामा कसैको क्षति विवरण पठाउन बाँकी भए आयोगको इमेल ठेगाना sept8and9incident.ic@gmail.com मा उपलब्ध गराउन सबै पक्षसँग अनुरोध गरेको छ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा आयोगका सबै सूचना र विज्ञप्ति गृह मन्त्रालयको वेबसाइटमार्फत हेर्न सकिने जानकारी पनि दिइएको छ।
