धनगढी, कात्तिक २९
कैलालीको धनगढीमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषि क्षेत्रमा युवाको सहभागिता बढाउन सञ्चारमाध्यमले खेल्न सक्ने भूमिकाबारे अन्तरक्रिया कार्यक्रम भएको छ। सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) र एफएओको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो।
अन्तरक्रियामा सुदूरपश्चिमका सामुदायिक रेडियोका प्रतिनिधि, विभिन्न सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, अकोराब–एफएओका पदाधिकारी, युवा तथा किसानहरु सहभागी थिए।
कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमका सूचना अधिकृत राजकुमार झा, कृषि निर्देशनालयका निमित्त कार्यालय प्रमुख टिकेन्द्र कुश्मी तथा कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसारक अधिकृत टेक विष्टले प्रदेशको कृषि अवस्था, हालसम्म भएका पहल, चालु आर्थिक वर्षका कार्यक्रम तथा युवालाई कृषिमा आकर्षित गर्ने प्रयासबारे प्रस्तुति दिए।
सहभागीले लक्षित कृषकलाई प्रभावकारी रूपमा अनुदान पु¥याउन, युवामुखी कार्यक्रम विस्तार गर्न, कृषि पेशालाई प्रतिष्ठित पेशाका रूपमा विकास गर्न, तथा अनुदान–विमा योजनालाई अझ सरल र पहुँचयोग्य बनाउन सुझावहरु राखे।
मन्त्रालयका सूचना अधिकृत झाले युवा कृषकलाई व्यवसायिक रूपमा कृषिमा प्रवेश गराउन स्टार्टअप तथा कर्जा अनुदान कार्यक्रम ल्याइएको उल्लेख गरे। कृषिनिर्देशनालयका निमित्त प्रमुख कुश्मीले शिक्षित युवालाई कृषिमा संलग्न गराउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए।
कृषि ज्ञान केन्द्रका वरिष्ठ प्रसारक विष्टले युवाको सक्रिय सहभागिताले कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको बताए। यान्त्रिकीकरण र अनुदान योजनाले किवी, ड्र्यागन, केरा, तरकारी तथा मासु उत्पादनजस्ता क्षेत्रमा युवाको रुचि बढेको उनले उदाहरणसहित स्पष्ट पारे। पुष्पखेती किसान शुसिला विष्टले युवाको सहभागिताले फूलखेतीमा आम्दानी बढेको अनुभव सुनाउँदै सरकारबाट विशेष अनुदान र बीमा कार्यक्रमको अपेक्षा व्यक्त गरिन्।
बुधबार भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले सञ्चारमाध्यममार्फत युवा किसानका सफलता कथा उजागर गर्न आवश्यक रहेको बताउँदै कृषिमा सकारात्मक सन्देश फैलिनु महत्त्वपूर्ण रहेको उल्लेख गरे।
त्यस्तै, अकोराब सुदूरपश्चिमका अध्यक्ष बेदप्रकाश तिमिल्सिनाले सामुदायिक रेडियोले निरन्तर किसानका आवाज प्रसारण गर्दै आएको र आगामी दिनमा यो कार्य अझ सशक्त बनाइने प्रतिबद्धता जनाए।
एफएओ नेपालका प्रतिनिधि संघर्ष भट्टराईले संस्था ७७ वटै जिल्लामा सक्रिय रहेको बताउँदै युवा कृषकको मेहनत र सफलताको कथा देशभर पुर्याउन सञ्चारमाध्यम महत्वपूर्ण माध्यम बन्ने बताए।
अकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद देवकोटाले सामुदायिक रेडियोमार्फत कृषि क्षेत्रका मुद्दा र आवाजलाई अझ प्रबल रूपमा उठाउन सबैलाई आह्वान गरे।

