राधाकृष्ण देउजा
नेपालको न्यायिक इतिहासमा आफ्नो निजी लोभ , लालच र स्वार्थ नभई संविधान कानुनका धारा अनि त्यसको विवेकसम्मत प्रयोगलाइ मुख्य आधार बनाएर न्याय सम्पादन गर्दै आएर प्रधानन्यायधिश पद बाट सेवा निवृत कल्याण श्रेष्ठ नेपाल देशको लागि अत्यन्त काम लाग्ने व्यक्तित्व हुनुहुन्छ । म यो यसै भनिरहेको छैन, चार वर्ष अघि क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशित गरेको पुस्तकमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई अमेरिका, बेलायत, भारत, सिंगापुर, दक्षिण अफ्रिका लगायत देशका नामी न्यायाधीशहरूसँगै ‘टावरिङ जजेज्’ मा सूचीकृत गरिएको थियो ।उहाँलाई यसै ‘टावरिङ जजेज्’मा राखेको होइन होला ।
सफा नियत , स्पष्टवादिता , संविधान ऐन कानुन नियम सबैको ज्ञाता, नेपालको भुगोल अनि मानिसहरुको मानसिकता पनि बुझेको अनुभवी व्यक्तित्व अनि राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिको मुल्यांकन र व्यवस्थापन गर्न सक्ने क्षमताको आधारमा कुनै दिन परिस्थितिले माग गरेमा राष्ट्रलाइ अभिभावकत्व वा नेतृत्व दुवै दिन सक्ने ल्याकत उहाँमा छ ।
कोही कसैलाइ प्रिय वा अप्रिय लागे पनि यही सत्य हो तर संगै अर्को सत्य पनि छ त्यो के भने वहाँ आफुलाइ कता बाट के मिल्छ भनेर च्याँखे थापेर हिडने गर्नु हुन्न । त्यति मात्रै पनि हैन वहाँलाइ कहीं कतै केहि पदको लागि अनुरोध भैहालेछ भने पनि आफु बाट त्यस पद र त्यस प्रति जनताले गर्ने अपेक्षालाइ न्याय हुन्छ वा हुन्न हेरेर मात्रै निर्णय लिने उहाँको शैली छ । तर यही सत्यका वावजुद पनि कतिपय मानिसहरु उहाँलाइ समाचारहरुको सुर्खियामा राखी राख्छन । कहिले उहाँलाइ राष्ट्रपति त कहिले प्रधानमन्त्री त कहिले के बनाई रहन्छन । यद्यपि समाचारको सामग्री अभावको दुःख कम गर्न वा बौद्धिक बिलासी गर्न त्यसोलाई सायदै उहाँले पनि अनौठो वा अन्यथा मान्नु हुन्न होला भन्ने लाग्छ ।
तर त्यस्तो काम नै पनि त सामान्य समयमा गर्नु नि , ठिकै छ तर अहिले वहाँ आफ्नो पूजनीय पिताको निधनको शोकमा रहेको , क्रियाकर्ममा रहेको बेलामा उहाँलाइ जोडेर अनुमानकारिता गरिनु किमार्थ ठिक थिएन र हैन । त्यसमाथि नेपाली पत्रकारितामा आशा लाग्दो ठानिएका पत्रकारहरुबाट त्यसो हुनु झनै दुःखद हो । अझै आफु सेवा निवृत भैसकेको तर कार्यरत रहुन्जेल सदैव त्यसको गरिमा जोगाएको न्यायालयमा कल्याण श्रीमानले वाहिर बाट दवाव प्रभावको अवस्था सिर्जना गर्नु हुन्न मात्रै हैन त्यसो गर्ने कल्पना पनि गर्नु हुन्न भन्ने सामान्यज्ञान त सबैमा भए नै राम्रो होला नि । ल ति सबै केहि नै नभए पनि त कमसेकम शोकमा रहेको मानिसलाइ जोडेर अनुमानको खेति त नगर्दा नै हुन्थ्यो है । आखिर यति धेरै हतारो गर्दै संवेदना हिन पत्रकारिता के को लागि ?भन्ने प्रश्न उठउदा अन्यथा हुँदैन होला ।
मैले माथि उल्लेख गरेको प्रसँग ’चाइनिज युनिभर्सिटी अफ हङकङ’की सह–प्राध्यापक डा.मारा मालगोडी पुस्तकबाट हो । नेपालको वर्तमान संविधान, यसको निर्माण प्रक्रिया तथा संवैधानिक र न्यायिक इतिहासबारे राम्रो जानकारी राख्ने सीमित विदेशी प्राज्ञिक व्यक्तिमध्ये पर्छिन् । यो समाचार यसअघि हिमाल खबर पत्रिकामा पनि समावेश गरिएको छ । अर्काइभ पनि हेर्न सकिन्छ । उनै मालगोडीले क्याम्ब्रिज युनिभर्सिटी प्रेसले हालै प्रकाशित गरेको ‘टावरिङ जजेज्ः अ कम्प्यारेटिभ स्टडी अफ कन्स्टिच्युसनल जजेज्’ पुस्तकमा नेपालका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठमाथि लामो च्याप्टर लेखेकी छिन् ।
कल्याण श्रेष्ठको हकमा यस्तो आधार त्यसै प्राप्त भएको होइन भन्न सकिन्छ । संवैधानिक कानून र नीतिको तुलनात्मक अध्ययन शृंखला अन्तर्गत क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशन गरेको यो पुस्तकका सम्पादक ‘चाइनिज युनिभर्सिटी अफ हङकङ’ कै सह–प्राध्यापक रेहान अबेरत्ने र ‘कलेज अफ ल एन्ड बिजनेस, इजरायल’का सह–प्राध्यापक इद्दो पोराटा हुन् । जसमा विभिन्न १४ देशका पछिल्लो शताब्दीका १९ जना प्रसिद्ध र असाधारण न्यायाधीशबारे लेखिएको छ ।
अस्ट्रेलियाका प्रधानन्यायाधीश सर एन्थोनी मेसन (सन् १९७२–९५), भारतका प्रधानन्यायाधीश पीएन भगवती (१९७३–८६), दक्षिण अफ्रिकाका प्रधानन्यायाधीश आर्थर चास्कलसन (१९९४–२००५), बेलायतको सर्वोच्च अदालतकी अध्यक्ष लेडी हेल (२००९–२०), अमेरिकाका प्रधानन्यायाधीश र न्यायाधीशहरू अर्ल वारेन (१९५३–६९), चाल्र्स इभान्स ह्युजेस (१९३०–४१), विलियम ब्रेनन (१९५६–९०), ह्यूगो ब्ल्याक (१९३७–७१), ओवेन रोबेट्र्स (१९३०–४५) सँगै नेपालका श्रेष्ठलाई ‘टावरिङ जजेज्’को सूचीमा राखिएको छ । यसकारण पनि कल्याण श्रेष्ठ नेपालका लागि मात्र नभई अन्र्तराष्ट्रियतहमा ख्याती कमाएका व्यक्ति हुन भन्न मलाई असजिलो छैन ।
अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षामा चासो राख्ने गर्छन
