काठमाडौं, ५ पुस।
कुनै समय खोकना पुग्ने जो–कोही पनि तोरीको मगमग बास्नामा मन्त्रमुग्ध बन्थे । बिहान सबेरैदेखि तेल पेल्ने कोल वरिपरि भिड लाग्थ्यो । तोरी बोकेका साल्मीहरू कोलमा ओसार–पसारमा व्यस्त हुन्थे । कोल घुम्दा निस्किने तेलको मगमग बास्ना गाउँका गल्ली–गल्ली हुँदै घर–घरमा फैलिन्थ्यो । झ्याल ढोका खोलेर बस्दा नै तेलको सुवासले खोकनालाई चिनाउँथ्यो ।
त्यो समय खोकनामा तेल केवल उपभोगको वस्तु थिएन, पहिचान थियो । यहाँ उत्पादन भएको तोरीको तेल काठमाडौं उपत्यकाभरि चर्चित थियो । विवाह, भोज, जात्रा र पूजामा खोकनाको तेल अनिवार्य जस्तै मानिन्थ्यो । गाउँमा सामूहिक रूपमा र व्यक्तिगत रूपमा गरेर दर्जनौँ तेल मिल सञ्चालनमा थिए । कोल घुम्ने आवाज, तेलको धार झर्ने दृश्य र वरिपरि बसेर गफिने मानिस, यी सबै खोकनाको दैनिकी थिए ।
तर समय बदलियो । खेतीयोग्य जमिन घट्दै गयो । सडक, घरबस्ती र प्लटिङले खेतहरू टुक्राटुक्रा भए । जहाँ कहिल्यै तोरी हल्लिन्थ्यो, त्यहाँ कंक्रिट उभिन थाल्यो । तोरी खेती क्रमशः घट्दै गयो र सँगै घट्दै गयो तेलको बासना ।
आज खोकना पुग्दा पहिले जस्तो तेलको चिल्लो अनुभूति हुँदैन । यसको सट्टा, यहाँको दृश्य र गन्ध फरक छ । घरका झ्याल, बार्दली, दलिन र आँगनमा राताम्मे खुर्सानी झुण्डिएका छन् । तेलको मगमग होइन, खुर्सानीको रम–राम पिरो गन्धले गाउँ ढाकिएको छ ।
स्थानीय बासिन्दा दुर्गामाया डगोलले यो परिवर्तनलाई सरल शब्दमा केही समय अधि यसरी बयान गरिन् –“खोकना अब चिल्लो होइन, पिरो छ ।”
उनका अनुसार अहिले यहाँका प्रायः सबै घरका झ्याल र बार्दलीमा खुर्सानी देखिन्छ । “मेरो खेतमै पाँच ड्याङ खुर्सानी रोपेको छु,” उनी भन्छिन्, “चिल्लो र पिरो दुवै हाम्रो खानाको स्वाद हो । तर चिल्लो हराउँदै छ, पिरो भने अझै बाँकी छ ।”
कुनै बेला तोरी खेतीमा निर्भर किसानहरू अहिले विकल्प खोज्न बाध्य छन् । तोरीमा ‘लाई’ किरा लागेर बाली सखाप हुन थालेपछि किसानहरूको भरोसा कमजोर भयो । अर्कोतर्फ, तोरीभन्दा धान खेतीबाट बढी आम्दानी हुन थालेपछि पनि किसानहरूले क्रमशः तोरी छाडे । अहिले खोकनामा आलु, प्याज, लसुन, धान र गहुँ खेती बढी देखिन्छ ।
अहिले त तेल उत्पादनका लागि तोरीसमेत बाहिरबाट मगाउनुपर्ने अवस्था आएको छ ।
खुर्सानीका कारण खोकना गाउँ वर्षभरि नै राताम्मे देखिन्छ । पानी परेको बेला घरका झ्याल र दलिनमा खुर्सानी झुण्ड्याइन्छ । घाम लागेपछि ती खुर्सानी सुकुलमा सुकाएर भण्डारण गरिन्छ । तर यी खुर्सानी पनि हरेक वर्ष कमि हुदै गएको छ ।
यद्यपि, खोकनाको तेल परम्परा पूर्ण रूपमा हराइसकेको भने छैन । केही सहकारी संस्थाले अहिले पनि एउटा तेल मिल सञ्चालन गरिरहेका छन् र केही व्यक्तीगत मिल बाकि छन।
दुई दशकअघिसम्म खोकनाको आसपासबाटै तोरी संकलन गर्दा पुग्थ्यो । त्यतिबेला यहाँ उत्पादन भएको तोरीको तेल राजा–महाराजालाई करका रूपमा समेत पठाइन्थ्यो । खोकनाको तेल केवल खाद्य वस्तु होइन, राज्यसँग जोडिएको ऐतिहासिक सम्पदा थियो ।
आज खोकना त्यो अवस्थामा छैन । तर पूर्ण रूपमा पहिचान हराएको पनि छैन । चिल्लो घटेको छ, केही मात्रामा पिरो बढेको छ । तर गाउँको आत्मा अझै बाँकी छ । तेलको कोल कम भए पनि, झुण्डिएका खुर्सानीले खोकनालाई नयाँ रङ दिएको छ ।
खोकना अब न केवल चिल्लो गाउँ हो, न त केवल पिरो ।
यो गाउँ परिवर्तनको कथासँगै बाँचेको छ। जहाँ परम्परा हराउँदै पनि छ, रूप बदल्दै पनि छ, तर स्वाद र स्मृति भने अझै जोगिएर बसेका छन् ।
