काठमाडौं, २३ पुस ।
सुदूरपश्चिमको दुर्गम पहाड र समथर सपना बोकेको अछाम–१ लाई लामो समयस भीम रावलको नामले चिनाइयो। पार्टी, संसद् र सत्ताको केन्द्रमा रहँदा रावलले अछामलाई आफ्नो राजनीतिक आधारभूमि बनाए। तर समय बदलियो। एमालेभित्रको समीकरण फेरियो। रावल बाहिरिए, अछाम–१ खालीजस्तै भयो। यही खालीपनमा अहिले एउटा नाम क्रमशः मजबुत हुँदै गएको छ । ति हुन, कमल तिमिल्सिना।
संघर्षशील, जनप्रिय, इमानदार र प्रखर वक्ताको रुपमा उनको परिचय छ । अझ भनौ ति विशेषणभन्दा बढी उनको पहिचान संगठन निर्माण र निरन्तर उपस्थितिमा छ।
विद्यार्थी आन्दोलनदेखि गाउँ–गाउँको संगठनसम्म
वि.सं. २०४० को दशकको प्रारम्भमै अनेरास्ववियुमार्फत वामपन्थी राजनीतिमा प्रवेश गरेका तिमिल्सिनाको यात्रा सजिलो थिएन। केही समय शिक्षण पेसामा संलग्न रहे पनि उनको झुकाव सधैं समाज परिवर्तनतर्फ नै रह्यो। २०४३ सालको राष्ट्रिय पञ्चायत चुनावमा अछाममै जनपक्षीय उम्मेदवारको पक्षमा खुलेर उभिएका उनी २०४४ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगेपछि झन् सक्रिय बने।
काठमाडौंमा पढाइसँगै अनेरास्ववियुमा आबद्ध हुँदै अछाम–काठमाडौं सम्पर्क कमिटीको अध्यक्ष बनेका तिमिल्सिनाले जिल्लाबाट राजधानी आउने विद्यार्थीहरूलाई संगठित गर्न महत्वपूर्ण भूमिका खेले। २०४५ सालको पञ्चायत विरोधी विद्यार्थी आन्दोलन र २०४६ सालको जनआन्दोलनमा उनी अछाममै रहेर वाममोर्चाका तर्फबाट अग्रपंक्तिमा उभिए। आन्दोलनकै क्रममा गिरफ्तारी र हिरासतको यातना उनको राजनीतिक जीवनको कठोर अध्याय हो।
संगठन निर्माणको निरन्तरता
२०४७ सालपछि तिमिल्सिनाको राजनीतिक यात्रा संगठनात्मक जिम्मेवारीसँग गाँसियो। अनेरास्ववियु राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुँदै नेकपा माले र पछि नेकपा एमालेको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, क्षेत्रीय इञ्चार्ज र अन्ततः जिल्ला अध्यक्षसम्म पुग्दा उनले पार्टीको संगठनात्मक संरचना मजबुत बनाउन भूमिका खेले।
२०६६ सालमा एमाले अछामको छैठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनेका तिमिल्सिना पार्टीभित्र सहमतिका नेता मानिन्थे। विवादभन्दा संगठन, पदभन्दा कार्यकर्तालाई प्राथमिकता दिने शैलीले उनलाई जिल्लामा भरोसायोग्य नेता बनायो।
प्रदेश र केन्द्रसम्म फैलिएको भूमिका
अछाममै सीमित नभई तिमिल्सिनाको भूमिका प्रदेश र केन्द्रीय तहसम्म विस्तार भयो। संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार, २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदको उम्मेदवार हुँदै उनी सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य र पछि उपाध्यक्ष बने। २०७८ मंसिरदेखि २०८० असोजसम्म प्रदेश उपाध्यक्षको जिम्मेवारी सम्हाल्दा उनले पार्टी पुनर्गठन र सांगठनिक एकताको पक्षमा काम गरे।
२०८१ श्रावणदेखि २०८२ मंसिरसम्म पार्टी केन्द्रीय कमिटी सदस्य तथा अछाम क्षेत्र नम्बर १ का इञ्चार्जको जिम्मेवारीमा रहँदा उनले भीम रावलपछि शिथिल देखिएको संगठनलाई पुनः सक्रिय बनाउने प्रयास गरे।
भीम रावलपछि नयाँ अनुहारको खोजी
एमालेबाट भीम रावलको बहिर्गमनपछि अछाम–१ मा नेतृत्वको रिक्तता देखिन थालेको थियो। यही अवस्थामा तिमिल्सिनाको नाम स्वाभाविक रूपमा अगाडि आयो। लामो समय संगठनमा खटिएको, विवादरहित छवि बनाएको र स्थानीय जनतासँग नजिक रहेको नेताका रूपमा उनी कार्यकर्ता र नेतृत्व दुवैको रोजाइमा पर्न थाले।
आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि अछाम–१ बाट उनको उम्मेदवारी सिफारिस हुनु केवल औपचारिक निर्णय मात्र होइन, एमालेको स्थानीय राजनीतिक रणनीतिसँग जोडिएको सन्देश पनि हो।अछाम–१ मा यसपटक चुनाव केवल जित–हारको खेल मात्र होइन, पुस्तान्तरण र राजनीतिक संस्कृतिको पनि परीक्षा बन्ने संकेत देखिएको छ।
