पछिल्ला दिनहरूमा म एउटा चिन्ताजनक प्रवृत्ति देख्दैछु। सामाजिक सञ्जालका भित्ताहरूमा यत्रतत्र गाली–गलौज, अश्लील टिप्पणी र पढ्नै नसकिने शब्दहरूको वर्षा भइरहेको छ। तर्कको ठाउँमा तल्लो स्तरका आक्षेप आउँछन्। विचारको साटो व्यक्तिगत आक्रमण हुन्छ। अझ दुःखद त के भने, यस्ता टिप्पणीहरू गर्नेहरूले प्रायः आफ्नो पहिचान लुकाएका हुन्छन्—छद्म नाम, नक्कली प्रोफाइल, अज्ञात अनुहारहरू।
मलाई थाहा छ, हाम्रो मातृभूमि असभ्यहरूको भीड होइन। यो त्यो भूमि हो जहाँ सानैदेखि घर–घरमा छोराछोरीलाई नम्रता, मर्यादा र सुसंस्कारको पाठ पढाइन्छ। जहाँ आमाबुवाले सिकाउनुहुन्छ—असहमति राख, तर अपमान नगर; प्रश्न गर, तर चरित्र हत्या नगर; आलोचना गर, तर मानवीय मर्यादा नछोड।
लामो समयदेखि म राजनीति र सामाजिक विषयमा कलम चलाउँदै आएको छु। यो यात्रामा मैले अनेकौं विचार, धारणा र दृष्टिकोणहरू प्रस्तुत गरेको छु। सार्वजनिक पदमा रहेका व्यक्तिहरूका निर्णय, कदम र कार्यशैलीमाथि टिप्पणी गरेको छु। तर कुनै पनि दिन मैले कसैको निजी जीवनमा प्रवेश गर्ने प्रयास गरेको छैन।
मेरो विश्वास सधैं यही रह्यो—व्यक्ति होइन, विचारमाथि बहस गरौं; चरित्र होइन, निर्णयमाथि प्रश्न गरौं।
म सधैं सभ्यता, भद्रता र नम्रतालाई सर्वोच्च प्राथमिकता दिन्छु। किनकि त्यो मेरो व्यक्तिगत छनोट मात्र होइन, त्यो मेरो संस्कार हो। त्यो मेरो घरबाट सिकेको शिक्षा हो। र म जान्दछु—नेपालका अधिकांश घरहरूमा यही संस्कार सास फेर्दै हुर्किन्छ।
मैले आलोचना गरेका कतिपय व्यक्तिहरूले पनि आफ्नो प्रतिरक्षामा प्रतिक्रिया दिँदा अत्यन्त सभ्य र मर्यादित ढंगले प्रस्तुत भएको अनुभव गरेको छु। सार्वजनिक रूपमा होस् वा व्यक्तिगत सम्पर्कमार्फत—असहमति जनाउँदै गर्दा पनि व्यक्तिगत सम्मानको सीमारेखा ननाघ्ने हाम्रो परम्परा रहँदै आएको छ। यही नै हाम्रो पहिचान हो। यही नै हाम्रो सामाजिक शक्ति हो।
तर पछिल्ला दिनहरूमा म एउटा चिन्ताजनक प्रवृत्ति देख्दैछु। सामाजिक सञ्जालका भित्ताहरूमा यत्रतत्र गाली–गलौज, अश्लील टिप्पणी र पढ्नै नसकिने शब्दहरूको वर्षा भइरहेको छ। तर्कको ठाउँमा तल्लो स्तरका आक्षेप आउँछन्। विचारको साटो व्यक्तिगत आक्रमण हुन्छ। अझ दुःखद त के भने, यस्ता टिप्पणीहरू गर्नेहरूले प्रायः आफ्नो पहिचान लुकाएका हुन्छन्—छद्म नाम, नक्कली प्रोफाइल, अज्ञात अनुहारहरू।
कतिपयले त आफूलाई कुनै अमुक दलको अभियानकर्ता वा कसैलाई प्रधानमन्त्री बनाउने ‘मिसन’को हिस्सा दाबी पनि गर्छन्। तर म प्रश्न गर्छु—के कुनै विचार, कुनै नेतृत्व वा कुनै अभियानलाई सफल बनाउन गाली नै एकमात्र हतियार हो? के वैचारिक मतभेदको जवाफ आमा–बुबा, छोरा–छोरीले पढ्नै नसक्ने शब्दहरूले दिनुपर्छ?
विचारमा भिन्नता हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ। लोकतन्त्रको सुन्दरता नै यही हो—असहमतिको अधिकार। तर त्यो असहमति अभद्रता र असभ्यतामा परिणत हुनु हुँदैन। विचार फरक हुन सक्छ, तर भाषा फरक स्तरको हुनुपर्छ भन्ने छैन। हाम्रो असहमति हाम्रो संस्कारभन्दा ठूलो हुन सक्दैन।
हामीले बिर्सनु हुँदैन—सामाजिक सञ्जाल केवल आक्रोश पोख्ने स्थान होइन; त्यो हाम्रो सामूहिक चेतनाको ऐना हो। हामीले त्यहाँ जे लेख्छौं, त्यो केवल अक्षर हुँदैन; त्यो हाम्रो सोच, हाम्रो संस्कार र हाम्रो समाजको स्तरको प्रतिनिधित्व हुन्छ।
हाम्रो मातृभूमि सुसंस्कारीहरूको भूमि हो। यहाँ गाली र बेइज्जतीको लहर धेरै टाढासम्म जान सक्दैन। तर त्यो विश्वास स्वतः स्थापित हुँदैन; त्यसलाई जोगाउन र बलियो बनाउन हामी सबैको सचेत प्रयास आवश्यक छ।
हामीले नै तय गर्नुपर्छ।हामी बहसको संस्कृति बलियो बनाउने कि अपमानको? हामी तर्कलाई माथि उठाउने कि तल्लो स्तरको भाषालाई सामान्य बनाउने?
यो समय केवल असन्तोष व्यक्त गर्ने होइन, संस्कार जोगाउने पनि हो।
यदि अभद्रता बढ्दै छ भने त्यसलाई रोक्न अभूतपूर्व राष्ट्रिय एकता, सचेत हस्तक्षेप र सामूहिक आत्मअनुशासन आवश्यक छ।
आउनुहोस्, हामी असहमत हुन सिकौं तर असभ्य नबनौं। आलोचना गरौं तर अपमान नगरौं। विचार फरक राखौं तर मानवीय गरिमा कहिल्यै नछोडौं।
किनकि अन्तत हामी असभ्यहरूको भीड होइनौं।हामी सुसंस्कृत समाजका नागरिक हौं।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
