चुनौतीमा साथ दिएको र असहमतिको वावजुद असहजतामा मित्रताको कर्म गर्न नछोडेको विद्या भण्डारी र आफैंले अनेकन प्रहार सहेर पनि नेतृत्वको बचाउ गरिरहेका शंकर पोखरेलले मात्रै केपी ओलीलाइ परिस्थितिको गाम्भीर्यता र आन्दोलन जोगाउनु पर्ने आवश्यकताको वोध गराउँदै कार्यकारी नेतृत्व हस्तान्तरण गरेर आफुले मार्गनिर्देशकको भूमिका खेल्दै नेकपा एमाले पार्टी र राष्ट्रवाद लाइ जोगाउन मनाउन सक्नु हुनेछ ।
गाली र ताली दुवै स्वीकार्दै लेख्दै भन्दै आएकै छु । भाद्र २३ को आन्दोलन दमन गर्नुपर्ने केपी ओलीको नीति वा निर्णय दुवै हैन तर सरकारको नेतृत्वमा रहेको हुँदा उहाँको नैतिक जिम्मेवारी नहुने सवाल नै भएन । त्यही कारण वहाँले पदबाट राजीनामा दिनु पर्यो । भाद्र २४ गते उहाँले राजीनामा गरिसकेपछि नेपाली अनुहार भएका केही भियूज मार्फत आय आर्जन गर्न तम्सिएका अराजक झुण्डहरु समेतले नेपाल विरोधी शक्तिको चाहना अनुसार गरेको आतंककारी हमलाको लागि उहाँ जिम्मेवार हुनुपर्ने अवस्था छैन । भाद्र २४ गते वहाँ स्वयमको आफ्नै घर खरानी भएको सत्यताका वावजुद उहाँलाइ दोषी देख्नु गलत हुन्छ भन्दै गर्दा जे जे गाली खानु परे पनि खाउँला ।
त्यति भनिसके पछि मैले निरन्तर भन्दै आएको यो कुरा पनि जरुर भन्नु पर्ने हुन्छ कि भाद्र २३ र २४ अगाडी केपी ओलीले गर्नु भएका निर्णय र पार्टी संचालनका दौरान उहाँले देखाउनु भएको नेतृत्व शैलीकै कारण एकतावद्ध भएको बामपन्थी शक्ति मात्रै नभई स्वयम एमाले पार्टी पनि एकतावद्ध रहन नसकेको सत्य हो । यदी केपी ओलीले संविधान विपरित संसद विगठन गर्नु गलत रहेको सर्वोच्चको ठहरलाइ आत्मसात गर्दै त्यसलाइ समिक्षाको विषय बन्न छोडन मात्रै तयार भइदिएको भए माधव नेपाल लगायतका नेताहरुले आफुले बनाएको पार्टी फुटाउनु पर्ने अवस्था थिएन । उहाँ अलिकति मात्रै उदार बनेको भए भीम रावल , घनश्याम भुषालहरुले पार्टी छोडनु पर्ने थिएन । तर उहाँले दम्भ र अहंकार त्याग्न तयार नभएकोले एमालेबाट ‘बामाले’ बनिसकेको अवस्थामा आएको भाद्र २३ र २४ अनि त्यसले निम्त्याएको असंवैधानिक सरकार र असामयिक चुनावमा एमाले पराजित हुनु पार्टीका निम्ति दुखद भए पनि त्यो पराजय रोक्न करिव असम्भव थियो । भलै जुन हिसावको पराजय एमालेले पायो त्यो चाहिं अपेक्षित , न्यायोचित र सुखद थिएन । खैर अव जे हुनु भैससकेको छ । अब पछाडी फर्किएर टाउको दुखाउनु भन्दा अगाडी कसरि बढने भन्ने चिन्तन आवश्यक हुन्छ ।
त्यही छटपटीका विचमा धमिलो पानिमा माछा मार्दै नेतृत्व परिवर्तन गर्ने देखि पार्टी पुनर्जागरणको हल्लाले अहिले एमाले पंक्ति तरंगित छ । तर एमालेजनहरु हो , माफ गर्नु होला अहिले पार्टी पुनर्गठन र पुनर्जागरणको वहसको अग्रपंक्तिमा देखिएका पात्रहरुबाट एमालेको पुनर्गठन भैहालेछ भने पनि त्यसको पुनर्जागरण हुन सक्दैन । जसले जे भने पनि सत्य के हो हो भने अब एमाले , नेकपा सहित कुनै पनि पुराना दलको पुनरजागरण विगतमा अनेकन काण्डहरुमा नाम जोडिएका पात्रहरुबाट हुन सक्दैन । अब ति पार्टीहरुको पुनरजागरण पदमा आसिन पदाधिकारी भएकै भरमा कुनै पात्र बाट हुनै सक्दैन । पार्टीहरुको पुनरजागरण अव इमान र चरित्रमा कहीं कतै दाग नलागेका पात्रहरु बाट मात्रै सम्भव छ । त्यसैले एमाले पार्टीको पुनर्जागरण गर्ने काम पनि अहिले चर्चामा आएका बिष्णु पौडेल वा अरु त्यस्तै कोहि बाट सम्भव छैन । किन ? भन्ने प्रश्नको उत्तर वहाँहरुले विगत तर्फ फर्केर आफैं खोजेको राम्रो तर हैन प्रष्ट पार्न माग गर्नु भएमा सार्वजनिक रुपमा वहाँ हरु संगै वहस गरेर पनि गरौँला । त्यसैले त्यता भन्दा चर्चा अव कसको अग्रसरतामा कसरि एमालेको पुनर्गठन, पुनरजागरण र त्यस मार्फत बाम आन्दोलनको एकता सम्भव छ त्यस तर्फ चर्चा गरौँ ।
धेरै लामो व्याख्या नगरी सिधै भन्दा अव एमालेको पुनर्गठनको नेतृत्व विद्या भण्डारी र शंकर पोखरेलले केपी ओली समेतको सहमतिमा गर्नुपर्छ । त्यो सम्भव छ किन कि वहाँहरु दुवै जना केपी ओलीलाइ लामो समय मिलेर साथ दिएको नेताहरु हुनुहुन्छ भने विद्या भण्डारीले निकट विगतमा आफु माथि केपी ओलीबाट नै अन्याय भएको सत्यका विचमा पनि केपी ओलीमाथि भएको अन्यायको प्रतिवाद गर्ने र अप्ठेरो बेलामा अन्य कुनै कुराको मतलव नगरी साथ दिनु भएको छ । त्यसैले चुनौतीमा साथ दिएको र असहमतिको वावजुद असहजतामा मित्रताको कर्म गर्न नछोडेको विद्या भण्डारी र आफैंले अनेकन प्रहार सहेर पनि नेतृत्वको बचाउ गरिरहेका शंकर पोखरेलले मात्रै केपी ओलीलाइ परिस्थितिको गाम्भीर्यता र आन्दोलन जोगाउनु पर्ने आवश्यकताको वोध गराउँदै कार्यकारी नेतृत्व हस्तान्तरण गरेर आफुले मार्गनिर्देशकको भूमिका खेल्दै नेकपा एमाले पार्टी र राष्ट्रवाद लाइ जोगाउन मनाउन सक्नु हुनेछ । गर्न नै त्यही पर्छ किन कि अनेकन असहजताका विच एमालेलाइ मत हालेका करिव पन्ध्र लाख मानिसको परिचालन बिना एमालेको पुनर्जागरण असम्भव छ । अनि ति मानिसहरुको परिचालन उनीहरुले प्रतिकुलतामा पनि विश्वास गरेको केपी ओलीको अपमान गरेर सम्भव छैन । त्यसैले केपी ओली समेतलाइ विश्वासमा लिएर पार्टीको पुनर्गठन र त्यसपछि सबैलाइ मिलाएर पार्टीको पुनरजागरण गर्नुपर्छ ।
त्ै विद्या भण्डारी र शंकर पोखरेलको अग्रसरतामा केपी ओली समेतलाइ सहमत गराई पार्टी पुनर्गठन त्यसपछि इमान्दार नेताहरुको सक्रियतामा पार्टीको पुनरजागरण अभियानको संचालन मार्फत एमालेले आफुलाइ शक्तिशाली रुपमा अगाडी ल्याउन सक्छ । त्यसका लागि अहिले विद्या भण्डारी , अष्टलक्ष्मी शक्य शंकर पोखरेल , सुरेन्द्र पाण्डे , प्रदिप ज्ञवाली , गोकर्ण विष्ट , योगेश भट्टराई , बिन्दा पाण्डे , काशिनाथ अधिकारी , शेरधन राई , पृथ्वी सुब्बा गुरुङ , खगराज अधिकारी , बिष्णु रिमाल , कर्ण थापा, कमल चौलागाईं , गोकुल बास्कोटा , राजन भट्टराई , आनन्द पोखरेल , अरुण नेपाल ,बिष्णु रिजाल , बिनोद ढकाल , समिक बडाल , अशोक ब्याञ्जु , प्रेमलाल महर्जन ( ललितपुर ) , बिनोद श्रेष्ठ ( काठमान्डौ ) पुरुषोत्तम पौडेल, अच्यूत मैनालीलगायतलाइ समेटेर भौगोलिक , लैंगिक , जातिय , क्षेत्रिय सबै सन्तुलन मिलाएर छरितो टिम निर्माण हुनुपर्ने छ । त्यो टिमलाइ केपी ओली , ईश्वर पोखरेल , अमृत बोहोरा , केशव बडाल , देवराज घिमिरे , गुरु बराल लगायतको अभिभावकीय मार्गदर्शन अनिवार्य रुपमा हुनुपर्छ । त्यसरी बनेको टिमले सबै भन्दा पहिला देशव्यापी दौड गर्दै आफ्नो आन्तरिक एकतालाइ मजबुत पार्ने काम गर्नुपर्छ र त्यसपछि देश र जनताको आवाज उठाउने सडक मसिहा बन्नु पर्छ र क्रमश बाम एकताको बाटो तर्फ पनि लाग्नु पर्छ । ति सबै गर्न आफैं भित्र पनि आर्थिक इमान र चरित्रमा स्वच्छता नभएका जोसुकैलाइ पनि बाइकट गर्न पछि पर्नु हुदैन ।
