काठमाडौं, २९ जेठ । एमालेमा देशभरका नेता कार्यकर्ताले नेतृत्व पुर्नगठनको पक्षमा आवाज मुखरित गरिरहेका बेला चुनावी समीक्षा हुन थालेको छ । कोशी प्रदेशका जिल्ला अध्यक्षहरुले एमालेमा केपी ओलीको नेतृत्व क्षमतामाथि प्रश्न उठाउदै आलोचना गरिरहेका बेला बागमती प्रदेशका अधिकांश जिल्ला अध्यक्ष पार्टी अध्यक्ष केपी ओलीकै निरन्तरताको पक्षमा खुलेका छन् । यद्यपि कोशी प्रदेशमा औपचारिक बैठक बसेको छैन । कोशीका जिल्ला अध्यक्षहरुको अनौपचारिक छलफलले ओलीको विकल्प खोजेर जानुपर्नेमा सहमत भएका छन् ।
यही बेला शुक्रबारबाट सुरु भएको एमालेको चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेश कमिटी बैठक तथा भेलामा अधिकांश जिल्ला अध्यक्ष ओलीकै निरन्तरताका पक्षमा खुलेका हुन् । चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि सुरु भएको सुझाव संकलन अभियान बागमती हुँदै सात प्रदेश, राजधानी प्रदेश तथा जनसंगठनमा पुगेर १९ असारमा सकिने गरी एमालेले कार्यतालिका बनाएको छ ।
प्रदेश बैठकमा एमालेका सात जिल्ला अध्यक्षले पार्टी संकटमा रहेका वेला पुनर्गठनका नाममा अध्यक्ष ओलीको विकल्प खोज्न नहुने पक्षमा रहे भने एकजना जिल्ला अध्यक्षले भने पक्ष–विपक्षमा स्पष्ट नखुली मध्यमार्गी विचार राखे । चितवनका कमल पाठक, दोलखाका नरबहादुर श्रेष्ठ, सिन्धुलीका महेन्द्रदेव श्रेष्ठ, काभ्रेका राजन भुर्तेल, मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामा, धादिङका कार्यवाहक अध्यक्ष राजु गोर्खाली ओलीको निरन्तरताको पक्षमा खुलेका हुन् ।
रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले भने पार्टीभित्र कहीँ न कहीँ समस्या थियो भने स्विकारेर समीक्षा गर्दै अघि बढ्दा मात्र एमाले बलियो हुने विचार राखेका थिए । मूल नेतृत्व हटाएर अर्को नेतृत्व ल्याउने कि नल्याउने विषयमा उनी प्रस्ट खुलेनन् ।
‘यदि पार्टीको नीति, विचार र नेतृत्व सबै सही थियो भने चुनावमा कसरी पार्टीले अकल्पनीय क्षति व्यहोर्नुप¥यो ? त्यसैले हामीभित्र यी तीनवटै कुरामा या कहीँ न कहीँ समस्या थियो भन्ने यर्थाथ स्विकारेर अघि बढ्नु उपयुक्त हुन्छ,’ कडरियाको भनाइ थियो । बैठकमा दोलखा र सिन्धुलीका अध्यक्ष, धादिङका अध्यक्षले पार्टी र नेतृत्वमाथि प्रतिक्रियावादीले चौतर्फी हमला गरिरहेका वेला ओलीको विकल्प खोज्ने जो–कोही नेतालाई कारबाही गरेर भए पनि जानुपर्ने कडा विचार राखेका थिए ।
बैठकमा सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठ, नुवाकोटका बद्री मैनाली र रसुवाका अध्यक्ष उपस्थित थिएनन् । बागमती भूगोलभित्रकै काठमाडौं, ललितपुर र भक्तपुरलाई भने एमालेले राजधानी प्रदेश कमिटीभित्र समेटेको छ । बैठकमा कार्यदल संयोजकसमेत रहेका उपाध्यक्ष रामबहादुर थापाले अहिले पार्टीभित्र पुनर्गठनका नाममा दुई लाइन संघर्ष सुरु भएको संकेत गर्दै समीक्षाकै सिलसिलामा सातै प्रदेश तहमा भेला गर्न लागिएको बताए । ‘अहिले पार्टीभित्र नेतृत्वलाई विस्थापित गर्ने कि संरक्षण गर्ने भन्ने बहस भइरहेको छ । कम्युनिस्ट आन्दोलन र समाजवादी आन्दोलनमा पराजयपछि निराशा, पलायनवाद, संशयवाद तथा वैचारिक अन्योल देखिएको छ । पार्टीको पुनर्गठनका लागि नेतृत्व, संगठन र नीतिको गम्भीर समीक्षा आवश्यक छ,’ थापाले भने ।
