काठमाडौँ, असोज २४
केन्द्रीय कारागार स्रोतका अनुसार जेन–जी आन्दोलनको क्रममा जेलबाट भागेका मध्ये कैद सजाय पाएका ७० प्रतिशत कैदीहरू स्वेच्छाले फर्किएका छन्। तर, पुर्पक्षमा रहेका बन्दीहरूमध्ये ३० प्रतिशत मात्र फर्किएका छन्।
स्रोतका अनुसार पुर्पक्षका बन्दीहरूलाई उनका वकिलहरूले लिखित प्रमाण सबै जलेर नष्ट भएकाले मुद्दा स्वतः खारेज हुने र कैद भुक्तान गर्नुपर्दैन भन्ने भ्रम फैलाएको पाइएको छ।
तर, सरकारी वकिल कार्यालयको सफ्टवेयर प्रणाली, प्रहरी निकाय र जाहेरीवालासँगसमेत आवश्यक प्रमाण सुरक्षित रहेको बताउँदै कारागार प्रशासनले ती बन्दीहरूलाई अविलम्ब फर्किन आग्रह गरेको छ।
कारागार प्रशासनका एक अधिकारीका अनुसार ‘पुर्पक्षको अवस्थामा रहेका सबै प्रमाण डिजिटल रूपमा सुरक्षित छन्। त्यसैले फरार रहँदा कानुनी सजाय झन् कडा हुनसक्छ, तुरुन्त आत्मसमर्पण गर्नुपर्छ।’
सुरक्षा निकायले फरार कैदीहरूको खोजी अभियान पनि तीव्र बनाएको छ।
