काठमाडौं, कात्तिक ८
काठमाडौं उपत्यकाका पोखरी र नदी किनारहरू अहिले रंगिन बन्दै गएका छन्। गहुँको पिठो,ठेकुवा र दुध र फलफूलको तयारीले काठमाडौं पनि मधेशको सुगन्धमा रङ्गिन छ।
छठ पर्व, जुन पहिले मधेशमा मात्र सीमितजस्तो देखिन्थ्यो, आज उपत्यकामा पोखरी र नदिक किनारसम्म यसले सांस्कृतिक समायोजन र सहअस्तित्वको नयाँ दृष्टान्त दिएको छ जहाँ पहाडी र मधेसी दुवै समुदाय अस्ताउँदो र उदाउँदो सूर्यलाई संयुक्त अर्घ दिन एकै घाटमा उभिन्छन्।
सामान्यतया हिन्दू संस्कृतिमा उदाउँदो सूर्यलाई पूज्ने परम्परा छ। तर छठमा अस्ताउँदो सूर्यलाई पनि समान सम्मान दिइन्छ। यसको अर्थ जीवनका सबै चरणको समान मूल्याङ्कन हो । अस्ताउँदो सूर्य बिदाइ होइन, चक्रको निरन्तरता हो।
यो भावनाले मानिसलाई सन्देश दिन्छ कि सफलतासँगै असफलतालाई पनि स्वीकार गर, उदाउँदो उज्यालोसँगैअस्ताउँदो अन्धकारलाई पनि नमस्कार गर।सांकेतिक रूपमा यसले ‘जीवनको हरेक रूप पवित्र छ’ भन्ने सार्वभौमिक सन्देश दिन्छ।
काठमाडौंका बागमती, विष्णुमती, हनुमानघाटदेखि कलंकी र टोखाका खोलासम्म अहिले मधेश र पहाडका मानिसहरू एकै घाटमा देखिन्छन्। पहाडी महिलाहरूले मधेशी भाकामा गीत गाउँछन्, मधेशी पुरुषहरू पहाडी बोलिमा संवाद गर्छन्।यसरी छठले भाषाभन्दा माथि, जात र भूगोलभन्दा परको साझा पहिचान निर्माण गरेको छ।
त्यसैले त सांस्कृतिक विज्ञहरू भन्छन्– “छठ अब केवल मिथिलाको पर्व छैन, यो नेपालकै सामूहिक सांस्कृतिक सम्पत्ति बन्दै गएको छ।”
सोमबारको छठ पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले भक्तजनलाई आठ स्थान तय गरेको जनाएको छ।महानगर प्रहरी बलको कार्यालय, सुन्धारामा आयोजित पत्रकार भेटघाटमा काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले तयारीको अवस्था बारे जानकारी दिएका हुन् ।
पाण्डेका अनुसार विगतका वर्षझैं यस वर्ष पनि महानगरपालिकाले श्रद्धालु भक्तजनलाई सहजताका साथ पूजाआजा गर्न सक्ने गरी तयारी अघि बढाइसकेको छ ।
‘विगतजस्तै काठमाडौं महानगरपालिकाले छठको लागि आठ स्थान तयार गरेको छ । ती स्थानहरूमा सरसफाइदेखि आवश्यक पूर्वाधार तयार गर्ने काम केही दिन अघिदेखि नै सुरु गरिएको छ,’ पाण्डेले भने ।
महानगरले कमल पोखरी, गौरीघाट, बोक्सी दह,बागमती दोभान ,टंकेश्वर ,बल्खु कुमारी क्लब ,कुलेश्वर भलिबल ग्राउण्ड , रामघाट लगायतका स्थानमा तयारी पुरा भएको जनाएको छ।
प्रहरी प्रमुख पाण्डेले भक्तजनलाई ती तोकिएका स्थानहरूमा गई सहज र सुरक्षित रूपमा छठ पर्व मनाउन अनुरोध गरे । उनले महानगर प्रहरी बलले भीड व्यवस्थापन, सरसफाइ र सुरक्षाका आवश्यक व्यवस्था मिलाइसकेको जानकारी पनि दिए ।
छठ पर्व सूर्यदेव र छठी माईको आराधनासँग सम्बन्धित छ। ‘छठी माई’ लाई प्रकृति, उर्जा र सन्तान सुखकी देवीको रूपमा मानिन्छ।
पौराणिक मान्यताअनुसार छठको सुरुवात सत्ययुगमा राजा प्रियव्रत र रानी मालिनीबाट भएको बताइन्छ। उनीहरू सन्तानप्राप्तिका लागि व्रत बस्दा छठी देवीको कृपाले पुत्र प्राप्त गरेका थिए।
तर छठ केवल धार्मिक कर्मकाण्ड मात्र होइन, यो प्रकृतिप्रतिको आस्था र सन्तुलनको पर्व हो। नदी किनार वा पोखरीको शान्त जलमा अर्घ दिने क्षण, अस्ताउँदो सूर्यको किरणमा झल्किने मुहार, र भोलिपल्ट उदाउँदो सूर्यको प्रतीक्षामा उठ्ने सामूहिक निष्ठा, यी सबै मिलेर छठ एउटा जीवित दर्शन बनेको छ।
छठ पर्वको अर्को महत्वपूर्ण पक्ष यसको पर्यावरणीय सन्देश हो। यसमा प्रयोग हुने सबै सामग्री। माटोका दियाहरू, बाँसका डाली, फलफूल, घिउ, दूध सबै प्राकृतिक हुन्। छठले मानिसलाई प्रकृतिसँग जोड्छ । सूर्यसँग, जलसँग, माटोसँग र वायुका हरेक लहरसँग।
काठमाडौंमा छठ केवल मधेशी धर्मको प्रतीक होइन, यो नयाँ सामाजिक सम्बन्धको पुल बनेको छ।पहाडी समुदायका महिलाहरू पनि अहिले छठ व्रत बस्न थालेका छन्। कतिपय घरमा त श्रीमती पहाडी र श्रीमान् मधेशी, दुवै मिलेर अर्घ दिन जान्छन्।यसरी धर्मले विभाजन होइन, मिलन गराउन सक्छ भन्ने सन्देश छठले दिएको छ।
छठ पर्व केवल एउटा व्रत होइन, यो दर्शन हो, जसले ‘अस्ताउँदो सूर्य’ मा पनि सौन्दर्य खोज्छ, र ‘उदाउँदो सूर्य’ मा पनि समान श्रद्धा राख्छ।यसले सिखाउँछ कि जीवनको मूल्य केवल आरम्भमा होइन, अन्त्यमा पनि हुन्छ।र, यसले देखाउँछ संस्कृतिहरू भिन्न हुन सक्छन्, तर आस्था एउटै हुन्छ त्यो सूर्यप्रति, प्रकाशप्रति, जीवनप्रति।
