काठमाडौ, कात्तिक २५
सुदूरपश्चिम प्रदेशसभा सदस्य, बैचारिक तथा राजनीतिक विश्लेषकका रूपमा परिचित डा. ताराप्रसाद जोशी उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटीमा दोस्रो बरियतामा रहने गरी चयन भएका छन् । सो पार्टीलाई उर्जामन्त्री कुलमान घिसिङको पार्टी मान्ने गरिएको छ ।
डडेल्धुरा प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका जोशी पहिले दुईपटक एमालेको जिल्ला अध्यक्ष रहिसकेका थिए। एमाले विभाजनपछि केही समय उनले माधवकुमार नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीमा समेत राजनीतिक यात्रा गरेका थिए।
२०७९ को प्रदेशसभा निर्वाचनमा भने उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएर विजय हासिल गरेका थिए।
सो पार्टीको संयोजकमा कैलालीका पूर्वउर्जा सचिव डा. अनुप उपाध्याय छन्। उपाध्याय सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको पहिलो कार्यकाल ९२०७९–०८१० मा नीति तथा योजना आयोगका उपाध्यक्षसमेत रहेका थिए।
नवगठित उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटी ५१ सदस्यीय रहेको छ।
