काठमाडौँ, कात्तिक १२
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले बुधबार सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त भेटका क्रममा खापुङसँगै उनका उत्तराधिकारी प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की पनि उपस्थित थिए ।
विदाइ भेटका क्रममा प्रधानमन्त्री कार्कीले महानिरीक्षक खापुङलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामना व्यक्त गरे । त्यसक्रममा आईजीपी खापुङले आफ्नो कार्यकालमा सरकार र नेपाल प्रहरीबीच देखाइएको सहकार्यका लागि प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरे ।
महानिरीक्षक खापुङले नेपाल प्रहरीको नेतृत्व गर्दै आफ्नो कार्यकालमा शान्ति–सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण र संगठन सुदृढीकरणमा योगदान गरेको दावी गरे पनि उनकै कार्यकालमा जेनजी आन्दोलन भएर करिब ८० जनाको ज्यान जानुका साथै सिंहदरवार सहितका देशभर हजार बढी बढी सरकारी, नीजि र व्यवसायिक प्रतिष्ठान जलेका थिए ।
