काठमाडौँ, कात्तिक २६
लामो समयदेखि अलग(अलग बाटो हिँड्दै आएका भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) फेरि एउटै छातामुनि आएका छन्।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा दुई पक्षबीच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरी औपचारिक एकताको घोषणा गरिएको हो।
कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र अभियानका संयोजक भीम रावलले सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
सहमति अनुसार, दुवै पक्षले छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, रावलको भूमिकाबारे आपसी सहमतिमा टुंगो लगाउने, साथै पार्टीको विधान र राजनीतिक प्रतिवेदन पनि सहमतिमै तयार पार्ने प्रतिबद्धता जनाएका छन्।
हस्ताक्षरपछि रावलले आफूहरू अब राष्ट्रिय हितमा आधारित बलियो वाम शक्ति निर्माणतर्फ अघि बढ्ने बताए।
उनले भने, “एक समय हामीलाई प्रतिक्रियावादी शक्तिहरूले विभाजन गराएका थिए, त्यो घाउ अझै ताजा थियो। तर आज हामी फेरि एउटै परिवारमा फर्किएका छौं, त्यो विछोडको पीडामा मलहम लागेको अनुभूति भएको छ।”
रावलले एकतालाई ‘नयाँ सुरुवात’ भन्दै संगठनलाई जनतामुखी र सुदृढ बनाउने अठोट व्यक्त गरे।
