एमालेले एघारौ महाधिवेशनअघि वाम पार्टीहरूसँग कुनै मोर्चाबन्दीको सम्भावना नरहेको निष्कर्ष निकाल्यो । कांग्रेससँगको सहकार्यमा सरकारको नेतृत्व गरिरहेका बेला समसामयीक राजनीतिबारे छलफल गर्न डाकिएको पोलिटब्युरो बैठकबाट एमालेले वाम पार्टीसँगको मोर्चाबन्दीलाई अस्वीकार गर्दै त्यस्तो सम्भावना नै नरहेको निष्कर्ष सार्वजनिक गर्यो । यो विषय भदौ २२ अघिको थियो । त्यसपछि नेपाली राजनीतिमा धेरै उत्तारचढाव आएको छ । एमालेले ११ औ महािधवेशनपनि सम्पन्न गरिसकेको छ । त्यसयता माओवादी केन्द्रको नेतृत्वमा स–साना वाम पार्टीहरु एक ठाउँमा आएका छन् । अहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को नाममा गोलबन्द भएका छन् । एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर तत्कालिन कांग्रेस–माओवादीको गठबन्धनसँग प्रतिस्पर्धा गरेको जनाउदै वामपन्थी मोर्चाबन्दीलाई अस्वीकार गर्दै आएको थियो ।
अहिले एमाले आफै राष्ट्रिय सभा निर्वाचन र फागुन २१को निर्वाचनका लागि कांग्रेससँगको गठबन्धनमा अग्रसर भएको छ । एमाले अहिले कांग्रेसकै हाराहारीको ठूलो शक्ति भएको ठान्दछ । एमालेकै कारण वैकल्पिक शक्तिहरु एक भएर कम्युनिष्टहरुमाथि प्रहार गरिरहेका छन् । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय दुवै परिस्थिति नेपालका कम्युनिष्टहरुका लागि अनुकुल छैन । सबैभन्दा बढी एमाले र तत्कालिन माओवादीका नेताहरु आलोचनामा परेका छन् । कांग्रेस र वैकल्पिक शक्तिको रुपमा एक भएकाहरुले कम्युनिष्ट नेताहरुमाथि बढी प्रहार गरेको तथ्यलाई कमजोर आँक्न सकिदैन ।
नेकपाको विभाजनदेखि नै वाम पार्टी र नेताहरुमाथि प्रहार शुरु भएको थियो । यो क्रम अहिले तिब्र रुपमा बढ्यो । यसरी हेर्दा नेतृत्व तहमा रहेका व्यक्तिहरुले तत्कालिन नेकपा विभाजन गर्नु र गराउनु नै जिम्मेवार रहेको छ। नेतृत्व तहमा रहेका नेताहरुको दम्भ, अहम् रसत्तालिप्साको टकराव नै अन्ततः पार्टी विभाजनसम्म पुग्यो हो । अहिले राष्ट्रिय र अन्र्तराष्ट्रिय परिस्थितिले वामपन्थीहरुको सहकार्य आवश्यक ठानेको छ । रास्वपाको झण्डा मुनि रहेका सामाजिक अभियान्त, सामाजिक सञ्जाल प्रयोगकर्ता र गैर राजनीतिक स्वाभावका व्यक्तिहरु विस्तारै संगठित हुँदा मुलुकको राजनीति ‘नयाँ युक्रेनी’को तहमा ध्रुविकृत हुँदैछ । यसर्थ हिजो सामन्तवादविरुद्ध लड्दा वामपन्थीहरूले बुर्जुवा पुँजीपति एवं लोकतान्त्रिक शक्तिसँग मिलेर संघर्ष गरेका थिए तर बुर्जुवा पुँजीपति वर्गले समाजवादी क्रान्तिमा साथ दिँदैन भन्ने तथ्यलाई अहिलेको रास्वपाकृत गठजोड हेरे पुग्छ । किनकि त्यो शक्तिले अहिलेको पुँजीवादी गणतन्त्रमा आफ्नो रजगज कायम गर्न हरहमेशा प्रयत्न गरेको देखिन्छ ।
विचार,नीति,सिद्धान्त र गन्तब्यविनाको राजनीतिमा ‘पपुलिज्म’ हावि भैरहेको वामपन्थीहरुले बुझ्नुपर्नेछ । समाजवाद वास्तविक रूपमा पुँजीवादीहरूको एजेन्डा नभएको सन्दर्भमा वामपन्थीहरूले नै समाजवादी क्रान्तिको अगुवाइ गर्नुपर्छ । समाजवादी क्रान्तिमा श्रमिक, किसान, बुद्धिजीवी वर्ग नै समाजवादी क्रान्तिको भरोसायोग्य शक्ति हुनुपर्छ भन्नेहरु स–सना दलका कोलनीमा विभक्त हुने हो भने वामपन्थीहरुको भविष्य अबको केही वर्षमा भारतको पश्चिम बंगालको तहमा नुपग्ला भन्न सकिन्न । ध्रुवीकरण र एकताको आवश्यकता बनिरहेको बेला यतिबेला केही प्रवृत्ति देखा परेका छन् । अलग्गिएर छुट्टै चुल्हाचौका बाल्ने अर्थात् अर्को नयाँ पार्टी स्थापना गरिहाल्ने प्रवृत्तिले झन कमजोर बनाउछ । वामपन्थी पार्टीहरूलाई विचार, संगठन, नेतृत्व, कार्यशैली र जीवनशैलीमा व्यापक पुनर्गठन गरेर एकताबद्ध बनाउँदै नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने खाँचो छ । लोकतन्त्रको नाममा गैर कम्युनिष्ट कुनै न कुनै बेला एक ठाउँमा हुनेछन् । जसले गर्दा कतै न कतै टासिने प्रवृत्ति बढदै जाँदा दलहरूभित्र दलीय भावना नै हराउने छ । अनेकौँ विचारहरू हुन्छन्, ती विचारहरूबीच सम्वाद भएर एउटा निश्कर्षमा पुग्यो भने एकतामा बल हुन्छ र गैर कम्युनिष्टले आर्जन गरेको ‘पपुलिज्म’को अन्त्य हुनेछ ।
२०७९ सालको आम निर्वाचनपछिको राजनीतिक सहकार्यले वाम शक्ति केन्द्रहरू पहिलेको अवस्थाभन्दा कमजोर भएका छन् । यस्तो अवस्थामा वामपन्थी राजनीतिमा सहमतिको भिन्न भूमिका हुन्छ । यस्ता सहमतिले जनतामा आशाको सञ्चार गर्छ । गलत मनसाय राखेर गरिएका सहमतिले स्थायित्व ग्रहण गर्न शक्तैन । भिन्न–भिन्न सोच र विचारले गर्दा बन्दै गएको सहकार्य, समन्वय र सम्झौताको खासै महत्व रहँदैन । वामपन्थी राजनीतिक सहमति कार्यान्वयनमा कमजोर देखिँदै आएका छन् ।
वाम राजनीतिको भविष्यसँग पटक–पटक पद, सत्ता र लाभसँग सौदाबाजीगरि जस्ता विषयहरु तत्काललाई टाढा राखिएन भने राजनीतिको निकट भविष्य अत्यन्तै चूनौतीपूर्ण देखिन थालेको छ । सुदुर भविष्य अन्योलपूर्ण हुँदै गएको पछिल्लो अवस्थामा आन्तरिक कमजोरी कलाएर अस्तित्वरक्षामा उभिनुको विकल्प छैन । विश्व राजनीतिक रङ्गमञ्चलाई नियालेर अध्ययन गर्दा कुनै पनि समूहको मेलमिलाप विचार प्रणालीको मिश्रणले हुन आवश्यक मानिन्छ । यस्ता वैचारिक कुरासँग समग्र देशले राजनीतिक निकास पाउन कुनै पनि पार्टी र नेतृत्वको भूमिकाबारे गम्भीरता पूर्णरुपले बुझिरहेको हुन्छ । नेपाली जनताले पलपल सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत सम्पूर्ण गतिविधिहरु थाहा पाइरहेका हुन्छन् । कसैलाई ढाट्न, छल्न र भ्रम छर्न यो डिजिटल युगमा सकिदैन । छलछाम, तिकडम, खुरापातपूर्ण राजनीति अब टिक्नेवाला छैन । त्यसकारण पनि निरंकुस, स्वार्थी र स्वयच्छाचारी बन्दै गएको वामपन्थीहरुको अहंकार बेलैमा टुट्नुपर्छ ।
