तिलक प्रसाद शर्मा
सामाजिक सञ्जालमा आधारित यो नेतृत्व निर्माण प्रक्रियाले अन्ततः ‘डिजिटल प्रोपागान्डा’ लाई संस्थागत गरेको छ। जब कुनै पात्रले लोकतन्त्रका जटिल समस्याहरूलाई अति सरलीकरण गर्दै सस्तो र भावनात्मक नाराहरू अघि सार्छ, सामाजिक सञ्जालका इन्फ्लुएन्सर र ‘आईटी सेल’ हरूले त्यसलाई एक निर्विकल्प सत्यका रूपमा प्रचार गर्छन्।
सूचनाबाट धारणा निर्माणतर्फको रूपान्तरण आधुनिक लोकतन्त्रमा मिडियालाई सूचनाको तटस्थ संवाहक (Gatekeeper) मानिन्थ्यो। तर, वर्तमान ‘पोस्ट-ट्रुथ’ (Post-truth) युगमा मिडियाले सत्यभन्दा बढी मानिसको धारणा (Perception) लाई व्यवस्थापन गर्ने कार्य गरिरहेको छ। फ्रान्सेली दार्शनिक जाँ बोड्रिलार्डको ‘हाइपर-रियालिटी’ को सिद्धान्त जस्तै, आज मिडियाले सिर्जना गरेको भर्चुअल संसार वास्तविक धरातलभन्दा बढी शक्तिशाली देखिएको छ। जब मिडियाले कुनै व्यक्तिलाई ‘मसिहा’ वा ‘मुक्तिदाता’ को रूपमा प्रस्तुत गर्छ, जनताले उसको नीतिगत स्पष्टता होइन, उसको मिडिया-छवि (Media Image) लाई मतदान गर्छन्।
डिजिटल प्रोपागान्डा, अल्गोरिदम र पपुलिज्म वर्तमान समयमा परम्परागत मिडियाको तुलनामा सामाजिक सञ्जालका ‘अल्गोरिदम’ हरू नेतृत्व निर्माण र जनमत निर्माणमा बढी आक्रामक र खतरनाक रूपमा देखा परेका छन्। यी अल्गोरिदमहरूले प्रयोगकर्तालाई ‘इको-च्याम्बर’ (Echo Chamber) मा कैद गरिदिन्छन्, जहाँ उनीहरूले आफ्नो पूर्व-स्थापित मान्यतासँग मेल खाने सूचना र विचारहरू मात्र देख्न पाउँछन्। यसले समाजमा वैचारिक धु्रवीकरणलाई तीव्र बनाउँछ र कुनै खास नेतृत्वप्रति अन्ध-समर्थन पैदा गर्ने समूह निर्माण गर्छ, जसका कारण नागरिकमा हुनुपर्ने वस्तुनिष्ठ र आलोचनात्मक चेत (Critical Thinking) बिस्तारै समाप्त हुँदै जानछ।
यसैगरी, आधुनिक ‘अटेन्सन इकोनोमी’ (Attention Economy) को दबाबमा परेका मिडियाका लागि अहिले जनहितभन्दा पनि ‘भ्युज’, ‘सेयर’ र ‘क्लिक’ नै प्रमुख पुँजी बनेका छन्। यसको प्रत्यक्ष असर नेतृत्वको चयनमा देखिन्छ— जहाँ गम्भीर नीतिगत बहस र बौद्धिक विमर्श गर्ने शालीन व्यक्तित्वहरू ओझेलमा पर्छन् भने चर्को, उग्र र उत्तेजक कुरा गर्ने ‘सो-म्यान’ (Showman) हरूले बढी कभरेज र लोकप्रियता प्राप्त गर्छन्। अन्ततः, यही भाइरल संस्कृतिको जगमा उभिएका अपरिपक्व पात्रहरू देशको नेतृत्वमा पुग्ने बाटो प्रशस्त हुन्छ, जसले राज्य सञ्चालनको गम्भीरतालाई भन्दा पनि सस्तो लोकप्रियतालाई प्राथमिकता दिन्छन्।
सामाजिक सञ्जालमा आधारित यो नेतृत्व निर्माण प्रक्रियाले अन्ततः ‘डिजिटल प्रोपागान्डा’ लाई संस्थागत गरेको छ। जब कुनै पात्रले लोकतन्त्रका जटिल समस्याहरूलाई अति सरलीकरण गर्दै सस्तो र भावनात्मक नाराहरू अघि सार्छ, सामाजिक सञ्जालका इन्फ्लुएन्सर र ‘आईटी सेल’ हरूले त्यसलाई एक निर्विकल्प सत्यका रूपमा प्रचार गर्छन्। यसले ‘पपुलिज्म’ (Populism) को एउटा यस्तो लहर सिर्जना गर्छ, जहाँ तर्क र तथ्यभन्दा बढी आवेगले ठाउँ पाउँछ। मिडियाले पनि व्यापारिक स्वार्थका कारण त्यस्ता पपुलिस्ट नेताहरूका विवादित बयान र स्टन्टहरूलाई निरन्तर कभरेज दिइरहँदा, उनीहरूको अयोग्यता र नीतिगत अस्पष्टताहरू पर्दाभित्रै लुक्न पुग्छन्।
कृत्रिम ‘करिश्मा’ र नेतृत्वको संकट राजनीतिक चिन्तक म्याक्स वेबरले व्याख्या गरेको ‘करिश्माई नेतृत्व’ (Charismatic Authority) लाई जब आधुनिक मिडियाले कृत्रिम रूपमा विनिर्माण गर्न थाल्छ, तब लोकतन्त्रमा गम्भीर नेतृत्वको संकट उत्पन्न हुन्छ। मिडियाले कुनै पात्रलाई ‘मसिहा’ वा ‘सेलिब्रेटी’ को रूपमा अतिरन्जित गर्दा उसलाई राज्यको विधि र प्रणालीभन्दा माथि स्थापित गर्ने गल्ती गर्छ। यस प्रक्रियामा साधारण कार्यलाई असाधारण देखाइने ‘छवि निर्माण’, नीति निर्मातालाई ‘सेलिब्रेटी’ मा बदल्ने प्रवृत्ति र ‘यो व्यक्ति नभए देश बर्बाद हुन्छ’ भन्ने ‘न्यारेटिभ कन्ट्रोल’ जस्ता चरणहरू पार गरिन्छ। यस्तो कृत्रिम ‘हाइप’ बाट उदाएका नेताहरू प्रायः ‘इभेन्ट म्यानेजमेन्ट’ मा सिपालु देखिए तापनि ‘स्टेट क्राफ्ट’ वा राज्य सञ्चालनको जटिलतामा भने पूर्णतः असफल हुन्छन्। जटिल राष्ट्रिय समस्याहरूलाई एकै झट्कामा समाधान गर्ने उनीहरूको ‘पपुलिस्ट फ्यालेसी’ (लोकप्रियतावादी भ्रम) लाई जब मिडियाले बिना कुनै आलोचनात्मक विश्लेषण जनतामा पस्कन्छ, तब नागरिकहरू भ्रमको एउटा यस्तो पासोमा पर्छन् जहाँ विवेक भन्दा आवेग हाबी हुन्छ।
ऐतिहासिक पाठ र विश्वव्यापी दृष्टान्त इतिहास र वर्तमानका कैयौँ दृष्टान्तहरूले यो पुष्टि गर्छन् कि मिडियाको अनियन्त्रित ‘हाइप’ र प्रोपागान्डाले देशलाई कसरी संकटको गहिरो सुरुङमा धकेल्न सक्छ। ऐतिहासिक रूपमा जर्मनीका एडोल्फ हिटलरको उदयलाई हेर्ने हो भने, तत्कालीन प्रोपागान्डा मेसिनले उनलाई एक ‘मसिहा’ वा राष्ट्रको एक मात्र रक्षकका रूपमा स्थापित गर्यो, जसको अन्तिम परिणाम दोस्रो विश्वयुद्ध र अपूरणीय विश्व विनाश हुन पुग्यो। यस्तै परिदृश्य श्रीलंकामा पनि देखियो, जहाँ राजापाक्षे परिवारलाई मिडियाले सिंहली राष्ट्रवाद र गृहयुद्ध जितेको ‘हिरो’ का रूपमा ओभरहाइप गर्दा नागरिकको विवेक भावनाले छोपियो।
ऐतिहासिक पाठ र विश्वव्यापी दृष्टान्त इतिहास र वर्तमानका कैयौँ दृष्टान्तहरूले यो पुष्टि गर्छन् कि मिडियाको अनियन्त्रित ‘हाइप’ र प्रोपागान्डाले देशलाई कसरी संकटको गहिरो सुरुङमा धकेल्न सक्छ। ऐतिहासिक रूपमा जर्मनीका एडोल्फ हिटलरको उदयलाई हेर्ने हो भने, तत्कालीन प्रोपागान्डा मेसिनले उनलाई एक ‘मसिहा’ वा राष्ट्रको एक मात्र रक्षकका रूपमा स्थापित गर्यो, जसको अन्तिम परिणाम दोस्रो विश्वयुद्ध र अपूरणीय विश्व विनाश हुन पुग्यो। यस्तै परिदृश्य श्रीलंकामा पनि देखियो, जहाँ राजापाक्षे परिवारलाई मिडियाले सिंहली राष्ट्रवाद र गृहयुद्ध जितेको ‘हिरो’ का रूपमा ओभरहाइप गर्दा नागरिकको विवेक भावनाले छोपियो। अन्ततः, नीतिगत स्पष्टताभन्दा पनि छविमा आधारित त्यो नेतृत्वले देशलाई आर्थिक रूपमा टाट पल्टिने अवस्था र चरम सामाजिक विद्रोहको संघारमा पुर्यायो। विकसित लोकतन्त्र मानिने अमेरिकामा पनि डोनाल्ड ट्रम्पको कार्यकालले मिडियाको भूमिकामाथि गम्भीर प्रश्न खडा गर्यो। चाहे त्यो सकारात्मक होस् वा नकारात्मक, मूलधारका र सामाजिक सञ्जालहरूको निरन्तरको ‘अटेन्सन कभरेज’ ले उनलाई सधैं चर्चाको केन्द्रमा राखिरह्यो। यसले गर्दा समाजमा गहिरो राजनीतिक धु्रवीकरण मात्र भएन, बरु लोकतान्त्रिक संस्थाहरूमाथि अविश्वास पैदा भई क्यापिटल हिल आक्रमण जस्ता अप्रत्याशित र दुःखद घटनाहरू घट्न पुगे।
नेपाली सन्दर्भमा राष्ट्रवाद र अलोकतान्त्रिक चरित्र नेपालको राजनीतिक इतिहासमा पनि मिडियाले कुनै पात्रलाई उसको वास्तविक धरातलभन्दा माथि उठाएर ‘राष्ट्रवादको संवाहक’ वा ‘लोकतन्त्रका लागि सर्वश्व त्यागेको योद्धा’ का रूपमा अतिरन्जित (Hyper) गरेका थुप्रै दृष्टान्तहरू छन्। जब मिडियाले कुनै नेतालाई यी विशेषणहरूद्वारा देवत्वकरण गर्छ, तब ती पात्रहरूमा एक प्रकारको ‘पपुलिस्ट अहङ्कार’ विकसित हुने गरेको देखिन्छ। राष्ट्रवादको चर्को नारा वा लोकतन्त्रका लागि जेलनेल भोगेको ऐतिहासिक विरासतलाई मिडियाले यसरी ‘बजारिकरण’ गरिदिन्छ कि, ती नेताहरूले आफूलाई कानुन, पद्धति र संस्थागत जवाफदेहिताभन्दा माथि ठान्न थाल्छन्। विडम्बनापूर्ण त के छ भने, मिडियाकै काँधमा चढेर ‘मसिहा’ बनेका यस्ता कैयौँ पात्रहरू सत्तामा पुगेपछि सबैभन्दा बढी अलोकतान्त्रिक र स्वेच्छाचारी बन्न पुगेका छन्।
उनीहरूले आफ्नो सत्ता जोगाउन राष्ट्रवादलाई ‘हतियार’ बनाउने, विरोधीहरूलाई ‘अराष्ट्रिय तत्व’ करार गर्ने र राज्यका स्वतन्त्र निकायहरूलाई आफ्नो इसारामा चलाउने जस्ता अनुदारवादी प्रवृत्तिहरू प्रदर्शन गर्छन्। मिडियाले निर्माण गरिदिएको त्यो ‘अपराजित नायक’ को छविभित्र कतिपय अवस्थामा शक्तिको भोको अधिनायकवादी चरित्र लुकेको हुन्छ, जसले अन्ततः लोकतन्त्रका संस्थाहरूलाई नै खोक्रो बनाउँछ। यसरी मिडियाको अतिरन्जना (Media Exaggeration) ले जन्माएका यस्ता ‘कृत्रिम नायक’ हरूका कारण नेपालले पटक-पटक राजनीतिक अस्थिरता र संस्थागत विचलनको पीडा भोग्नुपरेको छ। यसले के पुष्टि गर्छ भने, कुनै पनि नेताको विगतको त्याग वा राष्ट्रवादी अडानलाई मिडियाले बिना कुनै आलोचनात्मक कसी (Critical Scrutiny) ‘ग्लोरीफाई’ गर्दा त्यसले अन्ततः लोकतन्त्रलाई नै क्षति पुर्याउँछ।
आफ्नो सत्ता जोगाउन राष्ट्रवादलाई ‘हतियार’ बनाउने, विरोधीहरूलाई ‘अराष्ट्रिय तत्व’ करार गर्ने र राज्यका स्वतन्त्र निकायहरूलाई आफ्नो इसारामा चलाउने जस्ता अनुदारवादी प्रवृत्तिहरू प्रदर्शन गर्छन्। मिडियाले निर्माण गरिदिएको त्यो ‘अपराजित नायक’ को छविभित्र कतिपय अवस्थामा शक्तिको भोको अधिनायकवादी चरित्र लुकेको हुन्छ, जसले अन्ततः लोकतन्त्रका संस्थाहरूलाई नै खोक्रो बनाउँछ।
पछिल्लो समयमा नेपालको सन्दर्भमा एउटा नयाँ र घातक प्रवृत्ति देखा परेको छ जहाँ केही व्यक्तिहरूले निश्चित समयका लागि युट्युब र क्यामेराको प्रयोग गर्दै ‘सामाजिक कार्य’ वा ‘सक्रियता’ को नाटक मञ्चन गर्छन्। उनीहरूले क्यामेराको लेन्सभित्र कैद गरिएका परोपकारी कार्यहरूलाई जनमत बटुल्ने सिँढीका रूपमा प्रयोग गर्दै रातारात राजनीतिमा फड्को मार्ने महत्त्वाकांक्षा राख्छन्। यो ‘डिजिटल परोपकार’ (Digital Philanthropy) वास्तवमा समाजसेवा नभएर सत्ता प्राप्तिको एउटा योजनाबद्ध ‘मिडिया स्टन्ट’ मात्र हो। यस्ता पात्रहरूले वास्तविक सामाजिक समस्याको दीर्घकालीन समाधान खोज्नुको सट्टा ‘भाइरल’ हुने क्षणिक लोकप्रियतालाई प्राथमिकता दिन्छन्। यसरी क्यामेराको चमकधमक र भर्चुअल हाइपको भरमा राजनीतिमा उदाउने नेतृत्वमा विचारको स्पष्टता, राजनीतिक दर्शन र संस्थागत संस्कारको चरम अभाव हुन्छ, जसले अन्ततः लोकतन्त्रलाई एउटा दिशाहीन ‘पपुलिजम’ तर्फ डोर्याउँछ।
संस्थागत क्षयीकरण र अधिनायकवादको उदय यसरी निर्माण गरिएको कृत्रिम ‘हाइप’ को भरमा नेतृत्वमा पुगेका व्यक्तिहरूले सत्ता पाएपछि राज्यका स्थायी संरचना र शक्ति सन्तुलनका अंगहरूलाई कमजोर बनाउन थाल्छन्। मिडियाद्वारा निर्मित यस्ता ‘फेक मसिहा’ सत्तामा पुगेपछि देशको अधोगतिको श्रृंखला सुरु हुन्छ। उनीहरूले आफ्नो लोकप्रियता जोगाउनका लागि स्वतन्त्र संवैधानिक निकायहरू (अदालत, संवैधानिक अंग) लाई बाधक ठान्दै तिनको ‘संस्थागत क्षयीकरण’ गर्छन् र समाजमा एउटा काल्पनिक ‘आन्तरिक शत्रु’ खडा गरेर विभाजनको राजनीतिलाई मलजल गर्छन्।
मिडियाले निर्माण गरिदिएको ‘सुपरम्यान’ को छविले गर्दा नेताले आफूलाई कानुन, पद्धति र स्थापित लोकतान्त्रिक संस्थाहरूभन्दा माथि ठान्न थाल्छ, जसले अन्ततः संस्थागत अवमूल्यनको बाटो प्रशस्त गर्छ। यस्तो परिस्थितिमा ‘अधिनायकवाद’ को उदय हुने प्रबल सम्भावना रहन्छ, जहाँ आफ्नो आलोचना गर्ने मिडिया वा नागरिकलाई राज्यले ‘शत्रु’ को रूपमा व्यवहार गर्छ। ठोस योजना र रणनीतिक भिजन बिना केवल ठूला सपनाको व्यापार गर्दा देश आर्थिक र सामाजिक अस्थिरताको भुमरीमा फस्छ। दीर्घकालीन आर्थिक स्थायित्वका सट्टा सस्तो लोकप्रियताका लागि राज्यको ढुकुटी खर्च गर्ने उनीहरूको प्रवृत्तिले अन्ततः देशलाई आर्थिक रसातलमा पुर्याउने जोखिम रहन्छ।
वर्तमान समयमा सामाजिक सञ्जालमा सिर्जना गरिने ‘भर्चुअल छवि’ को भरमा मात्र कुनै पनि उम्मेदवारको योग्यता मापन गर्नु घातक हुन सक्छ। सामाजिक सञ्जालको चमकधमक, प्रायोजित विज्ञापन र भाइरल गरिएका ‘स्टन्ट’ हरूले व्यक्तिको वास्तविक क्षमता र नैतिक धरातललाई ढाकछोप गरिरहेका हुन सक्छन्। तसर्थ, सचेत नागरिकले उम्मेदवारको व्यक्तिगत जीवनको शुद्धता, उसको विगतको कार्यशैली र संकटको बेला उसले देखाएको आचरणलाई सुक्ष्म रूपमा अध्ययन गर्नुपर्छ। सामाजिक सञ्जाललाई आधार मानेर गरिने मूल्याङ्कनले वास्तविक अवस्थालाई नजरअन्दाज गर्न पुग्छ, जसले गर्दा जनताले फेरि पनि गलत नेतृत्वको हातमा देशको साँचो सुम्पिन पुग्ने जोखिम रहन्छ। अतः, सामाजिक सञ्जालको भ्रमबाट मुक्त भएर उम्मेदवारको वास्तविक धरातल र लोकतान्त्रिक संस्कारलाई नै नेतृत्व चयनको मुख्य कसी बनाउनु पर्दछ। लोकतन्त्रको रक्षाका लागि कृत्रिम ‘हाइप’ होइन, नेतृत्वलाई प्रश्न गर्ने र उत्तरदायी बनाउने (Holding Accountable) राजनीतिक संस्कृतिको विकास गर्नु नै आजको मुख्य कार्यभार हो।
सचेत नागरिक र उत्तरदायी नेतृत्व चयन मिडियाको प्राथमिक धर्म नागरिकलाई सुसूचित गर्नु हो, भ्रमित गर्नु होइन। कुनै पनि व्यक्तिलाई नेतृत्वको कसीमा उभ्याउनु अघि उसको पृष्ठभूमि, कार्यक्षमता र नियतको सूक्ष्म विश्लेषण गर्नु सञ्चार जगतको नैतिक जिम्मेवारी हो। निर्वाचनको समयमा मतदाताले नेतृत्व चयन गर्दा ‘नयाँ’ वा ‘पुरानो’ जस्ता सतही मानकभन्दा माथि उठेर उम्मेदवारको वास्तविक चरित्र, देशप्रतिको निष्ठा र लोकतान्त्रिक आचरणलाई प्रधानता दिनु आवश्यक छ। असल नेतृत्व त्यो हो, जसमा लोकतन्त्रको आधारभूत मूल्यअनुसार चल्ने चरित्र र आलोचनालाई सहजै स्वीकार गरी त्यसलाई रचनात्मक सुझावका रूपमा ग्रहण गर्न सक्ने धैर्यता हुन्छ। एक सफल नेतामा आलोचनात्मक चेत (Critical Thinking) हुनुपर्छ, जसले उसलाई केवल भीडको पछि लाग्नबाट मात्र जोगाउँदैन, बरु कठिन समयमा सही निर्णय लिन सक्ने दूरदर्शिता पनि प्रदान गर्छ।
