काठमाडौं, २ फागुन ।
आज १४ फेब्रुअरी, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । विश्वभरिका करोडौँ प्रेमी–प्रेमिकाहरूको लागि महान् दिन । खास गरी युवायुवतीहरूले एक अर्काबीच अव्यक्त प्रेम व्यक्त गर्ने, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने अवसरको रूपमा लिइन्छ यो दिनलाई ।
विश्वव्यापीकरण र नवउदारवादमा लम्केको वर्तमान विश्व आर्थिक तथा राजनीतिक हिसाबले मात्र जोडिएको छैन, सांस्कृतिक हिसाबले पनि जोडिएको छ।
पश्चिमा मुलुकमा निकै ठुलो महत्व बोकेको भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मंगलवबार नेपालमा पनि उत्तिकै उत्साहका साथ मनाइँदै छ। यो ‘पर्व’ विशेषगरी युवा पुस्तामाझ निकै लोकप्रिय हुँदै आएको छ।
यो पर्व जति रोचक छ, त्यति नै यसको इतिहास पनि चाखलाग्दो छ।
एकजना भ्यालेन्टाइन नाम गरेका पादरी (सेन्ट) ले रोमन साम्राज्यका सम्राट्को आदेशविपरीत प्रेमी जोडीको विवाह गराइदिएका कारण ती पादरीलाई मृत्युदण्ड दिइएको थियो।
प्रेमका लागि बलिदान दिएको यी सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ का दिन भ्यालेन्टाइन्स डे मनाइन्छ। इतिहासकारले यसैलाई ‘भ्यालेन्टाइन्स डे’ को सुरुवात भएको मान्छन्।

विश्वभर मनाइने प्रेम दिवस विभिन्न उपहार, कार्ड, फुल तथा अन्य प्रेमका प्रतीकहरू दिएर एकअर्काबीच प्रेम साटासाट गरिन्छ । आधुनिकतामा लम्किरहेका युवायुवतीहरू प्रेम दिवसको अवसरमा आफ्नो प्रियलाई शुभकामनाका साथै उपहार दिएर यो दिनलाई सार्थक पार्छन् । यस दिन विशेष गरी गिफ्ट पसलहरूमा युवायुवतीहरूले जोडी अंकित मूर्ति, चकलेट, फुल तथा मायाको प्रतीक जनाउने गिफ्ट खरिद गर्नेहरूको भीड हुन्छ । प्रेम दिवसको अवसरमा करोडौँको व्यापार हुने गर्दछ ।
यस अवसरमा विभिन्न उपहार कार्डसहित विशेष रूपमा रातो गुलाफको फुल दिने चलन छ । किनकि रातो गुलाफलाई प्रेम र क्षमताको प्रतीकको रूपमा मानिन्छ । यस दिवसको दिन किनेर दिएको गुलाफको फुल भन्दा आफैले टिपेर वा चोरेर दिएको गुलाफको फुलको विशेष महत्त्व राख्दछ भन्ने भनाइ पनि छ । तर यस्तो मान्यताले गलत कामलाई बढावा दिन्छ ।
हुन त प्रेम कुनै विशेष जात, धर्म, उमेर, समुदाय र वर्गमा आधारित नहुने हुँदा प्रेमको महत्त्व सबैमा उत्तिकै रहेको पाइन्छ । प्रेम दिवसलाई अझै उल्लासमय र प्रेममय दिन बनाउन अहिले सामाजिक सञ्जालको पनि ठुलो भूमिका छ ।
सप्ताहकै रूपमा भ्यालेन्टाइन डे
भ्यालेन्टाइन डे लाई विभिन्न मुलुकमा सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ । जस्मा सप्ताहको पहिलो दिन रोज डे, दोश्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डि डे, पाँचौं दिन प्रमिस डे, छैटौ दिन हक डे, सातौँ दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ । यस दिनमा युवायुवतीहरू एकान्त ठाउँ, पार्क तथा विभिन्न स्थानमा डेटिङ जाने गर्छन् । प्रेम दिवस विशेष गरी ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्रमा बढी लोकप्रिय छ ।

को थिए सेन्ट भ्यालेन्टाइन ?

रोमन सम्राट्ले साम्राज्यको स्थापनादेखि नै सैनिकलाई विवाह गर्न बन्देज लगाएका थिए। त्यसो हुँदाहुँदै पनि केही रोमन सैनिक आफूलाई खटाइएको स्थानका महिलासँग विवाह गर्थे।
सन् २३५ मा त्यतिबेलाका रोमन सम्राट् सेभरस अलेक्जेन्डरको हत्यापछि रोमन साम्राज्यमा अशान्ति मच्चिएको थियो। एकातिर महामारी र गृहयुद्ध अर्कातिर आर्थिक संकट इत्यादि कारणले रोमन साम्राज्यको अवस्था दयनीय थियोे। यो अवस्थामा रोमन सैनिकहरुले विवाहलाई प्रतिबन्ध गर्ने नियमको बेवास्ता गर्न थाले।
इसाई धर्मगुरु सेन्ट भ्यालेन्टाइनले सन् २६० को दशकतिर सयौं वा हजारौं रोमन सैनिकको विवाह गराएको मानिन्छ। यो थाहा पाएपछि तत्कालीन सम्राट् क्लाउडियसले उनलाई पक्राउ गर्न आदेश दिए। सम्राट् क्लाउडियसले उनलाई आफ्नो धर्म त्याग गर्न वा मृत्युदण्ड स्वीकार गर्न दुई विकल्प दिएका थिए, तर उनले मृत्युदण्डको सजाय स्वीकारेको इतिहासकर बताउँछन्। त्यसपछि उनलाई जेलमा राखिएको थियो।
जेलमा रहँदा उनले आफ्नै जेलरकी दृष्टिविहीन छोरीसँग सम्बन्ध स्थापना गरेको बताइन्छ। त्यसपछि उनलाई मृत्युदण्ड दिइयो। मृत्युदण्डअघि उनले जेलरकी तिनै छोरीलाई ‘तिम्रो भ्यालेन्टाइन’ बाट भन्ने सन्देशसहितको पत्र लेखेको किंवदन्ती छ।
सेन्ट भ्यालेन्टाइलाई सन् २७० अथवा वा त्यसकै आसपासको वर्षको फेब्रुअरी १४ मा घाँटी रेटेर मृत्युदण्ड दिइएको बताइन्छ। त्यसपछि सन् ४९६ मा पोप गलेसियसले फेब्रुअरी १४ लाई सेन्ट भ्यालेन्टाइन्सको दिन घोषणा गरेका थिए।
घोषण गरिए पनि भ्यालेन्टाइन डेबारे त्यति चासो दिइएको थिएन तर पछि गएर युरोपमा आएको पुनर्जागरणपछि भ्यालेन्टाइन डेको चर्चा बढेको मानिन्छ। समयक्रमसँगै यो पर्वको विकास विश्वभर हुन थालेको हो।
