राष्ट्रहरूले विकासका लागि नयाँ-नयाँ मोडेल हरूको विकास गर्न थाले । यिनै र यस्तै मोडेलहरु मध्ये दुर्गम र पिछडिएको क्षेत्रहरूको दिगो रूपान्तरण गरी रोजगारीको सिर्जना गर्ने , गरिवीको अन्त्य, असमानताको अन्त्य तथा प्राकृतिक स्रोत साधनको व्यापक प्रयोग गरी राष्ट्र लाई सवल बनाउने उदेश्यका साथ गाउँ विकास अभियान अगाडि बढेको पाइन्छ
गाउँले बिस्तारै मुहार फेर्ने क्रममा किन राेकिएन बँसाई सराई ! भन्ने बिषयको आलेखमा यसै विषय बस्तु को सेरोफेरो र सन्दर्भमा रही चर्चा र परिचर्चा गरी कारणहरू के के छन लगायतका विषय बस्तुमा सुक्ष्म लेखन कार्य अगाडी बढाने प्रयास जारी रहने छ ।
विश्वको ईतिहासमा गाउँको विकासको लागी सन् 1960 को दशकमा माथिबाट तल प्रारूप Top Down Approach र आधुनिकीकरण सिद्धान्तले बजारमा सत्ता जमाएको देखिन्छ । त्यसै गरी सन् 1980 को दशकबाट ग्रामीण विकासको ‘कृषि उत्पादन केन्द्रीत अवधारणा ले मान्यता पायो । यसै गरी सन् 1990 पछि ग्रामीण विकासका लागि दिगो जीविकोपार्जन र सशक्तिकरण सम्बन्धी अवधारणा लिईएको पाइन्छ । सन् 1990 कै दशकमा नयाँ आर्थिक सुधारका आयामहरु निजीकरण, उदारीकरण र विश्वव्यापीकरणले बजार शक्ति आफ्नो हातमा लिइएको छ । विश्व ईतिहासमा यसरी ग्रामीण क्षेत्रका लागि फलदायी साबित भएका छन् ।
नेपालको ईतिहासमा चौथो योजनाले नै क्षेत्रीय योजनाको सुरूवात गरेको पाइन्छ । डा.हर्क गुरूङको प्रादेशिक योजना, गाउँ फर्क राष्ट्रिय अभियान, आफ्नो गाउँ आफै बनाऔँ, स्थानीय स्वायत्त शासन ऐन 2056,स्थानीय कार्य सञ्चालन ऐन 2074 र प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता क्रियाकलापको माध्यमबाट ग्रामीण क्षेत्रको विकासका लागी सरलीकरण गरेको पाइन्छ ।
नेपाल भनेकै गाउँ हो र नेपालको विकास भनेकै गाउँको विकास हो भने वि.पी को उक्ती निकै शान्द्रभिक रहेको पाईन्छ । नेपालमा ग्रामीण क्षेत्रको विकासका लागी पनि यस्ता धेरै किसिमका प्रयासहरू जारी छन् । जस्तै नेपालको संविधान 2072 ले देशलाई संघीयतामा लगिसकेको र केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारका रूपमा आफ्ना, काम,कर्तव्य र क्रियाकलाप सञ्चालन गर्दै आइरहेका छन् ।
स्थानीय स्तरका विकास निर्माणका क्रियाकलाप सञ्चालन गर्नका लागी स्थानीय सरकार सञ्चालन ऐन झन प्रभावकारी बनेको पाईन्छ । देश संघियतामा गइसकेपछि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरी विभाजन गरिएको छ । जसअन्तर्गत केन्द्र सरकार, प्रदेश सरकार 7 ओटा र स्थानीय सरकार 753 ओटा गरी छुट्टाईएको छ ।
स्थानीय सरकार लाई स्वतन्त्र निकायको रूपमा व्यवस्था गरिएकोले स्थानीय सरकार लाई गाउँ पालिका ,नगरपालिका, उपमाहनगर पालिका र महानगरपालिका गरि बिभाजन गरिएको छ जसमध्ये 460 ओटा गाउँ पालिका 276 ओटा नगरपालिका 11 ओटा उपमहानगर पालिका र 6 ओटा महानगर पालिका गरी विभाजन गरिएको छ ।
स्थानीय कार्य सञ्चालन ऐन 2074 ले स्थानीय निकायलाई स्थानीय स्तरका विकासका लागी स्वतन्त्र निकायको रूपमा करिब २२ किसिमका अधिकारहरू प्रत्योजन गरेको छ । यस्ता किसिमका अधिकारको प्रयोगबाट नै गाउँमा विकासका क्रियाकलाप सन्चालन हुदै अाएका छन् ।
गाउँमा विस्तारै विधुत, खानेपानी, संञ्चार, यातायात जस्ता भौतिक पूर्वाधार निर्माण कार्यलाई तिव्रता दिदै अाईरहेका छन्। १४ अौं योजनाकाे लक्ष्यकाे अन्तिम बर्ष २०७९/८० विधुतमा पहुँच पुगेकाे जनसंख्या ९६.७ %
१६ औं योजना २०८५/८६ सम्म १००% पुर्याउने लक्ष्य
इन्टरनेट २०७९/८० सम्म ६९.२% र २०८५/२०८६ सम्म ९०.० % पुर्याउने लक्ष्य ।
बैङ्क तथा वित्तीय संस्था पहुँच पुगेकाे परिवार ७९/८० ६३ % ८५/८६ मा ८५% पुर्याउने लक्ष्य ।
टेलिफाेनकाे पहुँच विस्तार ७९/८० मा ९४% र ८५/८६ मा १००% पुर्याउने लक्ष्य।
सडक पुगुेकाे गा .पा/ नगरपालिका केन्द्र ७९/८० ७३२ ८५/८६ मा ७५३ मा पुर्याउने लक्ष्य ।
पक्की सडक पुगेकाे गा.पा./ नगरपालिका केन्द्र ७९/८० मा ५३२ र ८५/८६ मा ७५३ मा पुर्याउने लक्ष्य।
रेडियाेकाे पहुँच ७९/८० ९२% र ८५/८६ मा १००% पुर्याउने लक्ष्य ।
टेलिभिजनकाे पहुँच ७९/८० मा ७२% र ८५/८६ मा १००% पुर्याउने लक्ष्य ।
माेबाइल ब्राेडव्याड सेवा विस्तार ७९/८० मा ९३% र ८५/८६ मा १००% पुर्याउने लक्ष्य राखेर विकासका याेजना संञ्चालन भईरहेका छन् ।
गाउँ ले विस्तारै मुहार फेर्दै छ विडम्बनाको कुरा गाउँ बाट सहर तिर बसाइँसराइ भईरहेकाे छ । सन् 1959-60 सालतिर प्रधानमन्त्री वि.पी. हुँदाका बखत करिब 96 प्रतिशत नेपाली गाउँमा बस्थे । त्यसैले नेपाललाई गाउँ भनिन्थ्यो । करिब आधा शताब्दीपछि सन् 2011 मा हेर्दा त्यो संख्या 83 प्रतिशत झरिसकेको देखिन्छ ।
2068 को जनगणनाका आधारमा हेर्ने हो भने पनि हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्नेको संख्या घट्दै गएको छ भने तराई क्षेत्रमा चाप बढ्दै गएको छ ।
2068 को तथ्यांक अनुसार कुल जनसंख्या 2,64,94,504 मध्ये हिमाली क्षेत्रमा बसोबास गर्ने 6.73 प्रतिशत, पहाडी क्षेत्रमा बसोबास गर्ने 43.01 प्रतिशत छन भने तराई क्षेत्रमा 50.26 प्रतिशत अर्थात तराई क्षेत्रमा आध भन्दा बढी मानिस बसोबास गरेको देखिन्छ ।
2068 को जनगणना अनुसार शहरी क्षेत्रमा 17.11% बसोबास देखिन्छ भने पहाडी क्षेत्रमा 82.89 प्रतिशत देखीन आउछ तर नगरपालिकामा बसोबास गर्नेलाई शहरी जनसंख्या मान्ने हो भने करिब 61% हुन आउँछ ।
2058 को जनगणनाअनुसार गाउँबाट शहरमा बसाइँसराई भएको देखिन्छ । 2058 को जनगणनाअनुसार ग्रामीण क्षेत्रको जनसंख्या 83.1% र शहरको 13.9% रहेको थियो भने 068 मा ग्रामीण क्षेत्रमा 82.89% र शहरी क्षेत्रमा 17.1% मानिस बसोबास गरेको देखिन्छ । यसैकारण ग्रामीण क्षेत्रमा जनसंख्या घट्दै र शहरमा बढ्दै गएको छ ।
2078 काे जनगणना अनुसार सहरी क्षेत्रमा बसाेबास गर्ने जनसंख्या 2068 काे जनसंख्या तुलनात्मक रूपमा विदृ भएकाे देखिन्छ । 2078 काे जनगणना अनुसार नगरपालिकामा बस्ने जनसंख्या लाई अाधार मान्ने हाे भने करिव 66.08 % हुन अाउँछ ।याे जनसंख्या 068 भन्दा 6% वृद्धि भएको देखिन्छ ।
गाउँले विस्तारै मुहार फर्ने क्रममा किन रोकिएन बँसाई सराई ?विकास वा भौतिक पक्षको सवल निर्माणका कमिले गाउँ बाट सहर तर्फ पलायन हुदै छन् । विकास संगै विकासका बहुआयामिक पक्षहरूलाई समेटेर गाउँ बाट सहर तर्फ हुने बसाइँसराई राेक्नु पर्ने हाे। जस्तै : भौतिक, मानसिक, सामाजिक-सांस्कृतिक, आर्थिक, राजनीतिक, पर्यावरण र आध्यात्मिक लगायतका पक्षहरु बीचको एकीकृत सम्पन्नता लाई नै अाधार मानि क्रियाकलाप सञ्चालन गर्नु पर्ने थियाे।
गाउँकाे विकासलाई एकल पक्षबाट मात्र होइन कि बहुआयामिक पक्षहरुलाई समेटेर अगाडि बढ्नु पर्ने थियाे । मानिसका सामाजिक-आर्थिक तथा मनोवैज्ञानिक हैसियत सहित व्यक्तिलाई शोषण, दमन,अन्याय ,अत्याचार, थिचोमिचो व्यक्तिगत स्वतन्त्रता स्वामित्व, क्षमता, अधिकार र आत्मबलको बढोत्तरी गराउनु, र परनिर्भरताबाट मुक्ति दिलाउनुका साथै सीप र ज्ञान दिने साक्षरता तथा शिक्षा , मानसिक तथा शारीरिक वेदनाबाट मुक्ति दिलाउने स्वास्थ्य र समाजमा सम्मानपूर्ण जीवनयापन गराउनु नै विकासको अन्तिम अभिष्ट हाे।
विकास सकरात्मक परिवर्तन हो । विकासले मात्र मानवका अभिष्टहरू पुरा गर्न सक्छन् ? गाउँमा विकासका सवै पक्षलाई समेट्न नसक्नुका कारण नै यस्तो अवस्थाको सिर्जना भएको छ जसका कारणहरू निम्न अनुसार छन् :
१. गुणस्तरीय शिक्षाको अभाव
नेपालको ग्रामीण क्षेत्रमा अझै पनि गुणस्तरीय शिक्षाको पहुँच नहुन । विधार्थीले आफूले अध्ययन गर्न चाहेका कलेज तथा विषय वस्तु उपल्ब्धी नहुनु । गुणस्तरीय शिक्षक तथा शिक्षिकाको अभाव ग्रामीण क्षेत्रका विद्यालयमा प्राप्याप्त रूपमा भौतिक सुविधाको उपल्बध नहुनु आदी ।
२. स्वास्थ्य सेवाको अभाव
ग्रामीण भेगका क्षेत्रहरूमा स्वास्थ्यको स्थिति पनि त्यती राम्रो छैन । स्वास्थ्य सेवा प्रदान गर्ने भवन छन् तर जनशक्ति छैनन् । भवन बने पनि आधुनिक उपकरण र औजारको अभावमा तथा स्वास्थ्य कर्मीको अभाव । गाउँमा डाक्टर जान नमान्ने प्रवृती । गुणस्तरीय स्वास्थ्य र सेवाको अभाव आदी ।
३. साधन र स्रोतको उचित प्रयोग नहुनु
ग्रामीण क्षेत्रमा मानवीय एवं प्राकृतिक स्रोत र साधन अधिकमात्रमा उपल्बध छन् । उपल्बध स्रोत र साधनको उचित प्रयोग हुन नसक्दा गरिबी तथा बेरोजगारी दिनप्रतिदिन व्यापक बन्दै गइरहेको छ । यसको कारण गाउँलेसँग पर्याप्त सीप,क्षमता र स्रोत साधनको परिचालनको अभावमा रोजगारीको लागि गाउँबाट सहर तिर बँसाई सराई गर्ने क्रम तिव्र बनेको छ ।
४.भौगोलिक विकटता
भौगोलिक विकटताकै कारण खेतीयोग्य जमीनको मात्र अत्यन्तै न्यून छ । अधिकांश भूभाग, भिर,पाखा ,डाँडाकाँडा, उतार -चढाव कारण भौतिक सुविधा प्रयाप्त प्राप्त नहुदाँ गाउँ बाट शहर तर्फ बसाई सराई तिव्र वनिरहेको छ ।
५. वैदेशिक रोजगार
वैदेशिक रोजगारीका कारण पनि गाउँ बाट सहर तर्फ बसाई सराई तिव्र वनेको छ । विदेशमा दु:ख गरेको कमाईले छोरा-छोरीले दु:ख नपाउन,छोराछोरीले राम्रो स्कुलमा अध्ययन गरून भन्ने चहाना र आफ्नी प्रियसीले गाउँमा दु:ख पाउँन भन्दा सहर बसोस भन्ने मान्यता को विकास हुनु । वैदेशिक रोजगारको पैसाले सहरमा घर – जग्गा किन्ने प्रचलन ।
६.बसाइँसराई
एक ठाउँबाट अर्को ठाउँमा सर्ने कार्य अर्थात परम्परागत रूपमा बसोबास गरिरहेको स्थानबाट अर्को स्थानमा बास सर्ने कार्यलाई बसाइँसराई भनिन्छ । बसाइँसराई लाई दुई ओटा तत्वले प्रभाव पारेको हुन्छ आकर्षण विन्दु र विकर्षण विन्दु । संसारमा विगत दश बर्षमा 70 करोड भन्दा बढी मानिस बसाइँसराई गरेका छन्
काठमाडौं उपत्यकामा 2068 देखि 2078 सम्म 10 वर्षमा 20,17532 जनसंख्या वृद्धि भएको देखिन्छ । ग्रामीण क्षेत्रबाट बसाइँसराई भएकै कारण यो अवस्था रहेको हो ।
हामिले माथि उल्लेख गरेका कुराले के स्पष्ट पार्छ भने । विकासका बहुआयामिक पक्षहरूलाई समेटेर भौतिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, पर्यावरण र आध्यात्मिक लगायतका विषय बस्तु लाई अध्ययन गरेर मात्र विकास निर्माण क्रियाकलाप सञ्चालन गर्दा प्रत्यक्ष रूपमा स्थानीय बासिन्दा लाभान्वित हुने गर्दछ ।
स्थानीय सरकारले स्थानीय स्तरमा रहेका स्रोत साधनको परिचालन गरि रोजगारी सिर्जना गर्ने । स्थानीय स्तरमा रहेका मौलिक सिप र साधन संरक्षण गर्दै आधुनिक तर्फ उन्मुख निति अवलम्बन गर्ने । स्थानीय सरकारले बसाइँसराईलाई ग्रामीण क्षेत्रबाट ग्रामीण क्षेत्रमा नै बसाइँ सराई गराई गाउँ लाई नै सहर बनाउने अभियानमा लाग्ने निति अख्तियार गर्ने हो भने गाउँ बाट सहरमा हुने बसाइँ सराईलाई केही हद सम्म रोक्न सकिन्छ । स्थानीय सरकारले विकास योजना खाका बनाउदा विकासका बहुआयामिक पक्षहरूलाई अनिवार्य रूपमा समेटेर निति ,निर्माण गर्नु पर्ने देखिन्छ ।
