कतिपयलाइ लाग्न सक्छ कि म एमाले बन्न खोज्दै छु कि, वा त्यसको कुनै नेता विशेषको नजिक बन्न खोज्दै छु कि । मलाइ चिन्ने जान्नेलाइ त यसै पनि थाहा छ तर नचिनिकन नै कमेन्ट गर्न हौसिनेहरुलाइ सम्झँदै त्यस सन्दर्भमा सुरुमै प्रष्ट पारौं कि मलाइ एमाले हुने रहर पनि छैन र हुन्न । अनि अर्को कुरा कुनै नेताको निकट हुने आशँका जहाँसम्म कसैमा पैदा भए छ भने त्यसलाइ पनि खारेज गरिदिनु होला किन कि म आज एमाले र त्यसका नेताहरु कम्जोर हुँदा हैन हिजो शक्तिशाली अवस्थामा केपी ओली , शंकर पोखरेल लगायत नेताहरुको दोहोलो काढेर लेख्ने मानिस (भलै ति कुनै निजि आग्रह पूर्वाग्रहमा आधारित थिएनन तत्कालिन अवस्थामा वहाँहरुको भूमिकामा आधारित थिए) हुँ ।
त्यसैले हिजोको शक्तिशाली अवस्थामा निकट हुन नखोजेको वा नचाहेको मात्रै नभइ भएको निकटतामा पनि दुरी बढाएको मान्छे म अहिले किन त्यसो गर्थें ? तर फेरी हिजो तथ्यमा टेकेर हेर्दा उहाँहरुको भूमिका गलत लागेर विरोध गरेको थिएँ भन्दैमा आज उहाँहरु माथि अनावश्यक आक्रमण, अनावश्यक प्रतिशोध र अनुचित विरोध भैरहेको छ भन्ने मनमा लाग्दा लाग्दै मौन बन्न मिल्छ त ? पक्कै मिल्दैन, हुँदैन ।
त्यसैले विगतमा म स्वयमले शंकर पोखरेललाइ मुख्यमन्त्री हुँदा विहारी शैलीको राजनीति गरेको, नेकपा विभाजन गर्दै एमाले बनाइसके पछि त्यसलाइ पनि विभाजन गर्दै बिगारेर बामाले बनाउन भूमिका खेलेको मुख्य आरोप लगाएको सत्य स्वीकार्दै त्यस आरोपका सम्वन्धमा तथ्यमा टेकेर छलफल गर्दा गलत थिए भने क्षमा माग्न पनि तयार रहेको स्पष्ट पार्दै यति भन्छु कि आजको दिनमा चाहिं शंकर पोखरेलको पुत्ला जलाएर एमाले बनाउने कसैले ठानेको भए त्यो किमार्थ सम्भव छैन ।
अब सायद यो भनिरहन परेन कि भाद्र २३ र २४ पछाडी नेकपा एमालेको जीवनमा अत्यन्त कालो बादल देखिएको छ तर यदी कालो बादलको किनारमा चाँदीको घेरा हुन्छ भन्ने हो भने सत्य यही हो कि एमाले पार्टी जीवनमा लागेको कालो बादलको किनारको चाँदीको घेरा तिनै शंकर पोखरेल हुन ।
किनकि
१. शंकर पोखरेल कतिपय राजनीतिक गल्ति कमजोरीका बाबजुद आर्थिक र चारित्रिक मामिलामा एमालेको श्रीष नेताहरु मध्यमा सबै भन्दा सफा भित्र पर्ने व्यक्ति हो ।
२. एकातिर बाट हेर्दा शंकर पोखरेललाई केपी ओली गुटको हिमायती भन्दिन मिल्ला तर अर्कोतर्फ हेर्ने हो भने नेतृत्व सफल पार्न सक्रिय बफादार नेता भन्न पनि हो सकिन्छ । त्यसमा सहि पनि वहाँ बफादार हो भन्ने नै स्थापित हुन्छ किन कि नेतृत्वको रक्षा गर्दै गर्दा वहाँले आफुलाइ अध्यक्ष बन्न गरिएको प्रस्तावलाइ ठुक्र्याउनु भएको छ , कैयौं सम्बन्धहरु लाइ टुक्राउनु भएको छ अर्थात निस्वार्थता प्रस्तुत भएको छ ।
३ खासमा एमाले भित्र जेन जी आन्दोलनको मर्म अनि त्यस आन्दोलन हाइज्याक गर्दै आफुहरु लाभान्वित हुनेहरुको कुकर्म दुवै बुझेको र आफ्नो बुझाई निर्धक्क राख्ने पात्र पनि शंकर पोखरेल नै हो ।
४. वर्तमानको चुनौतीसँग जुध्न आवश्यक विचार र रणनीति निर्माण गर्न सक्ने क्षमता पनि उहाँसंग नै देखिन्छ । हो तर रणनीति निर्माण गरिसके पछि त्यसको कार्यान्वयन गर्न आवश्यक परिचालन गर्न उचित समन्वय गर्ने क्षमता उहाँले पनि विकास गर्न जरुर पर्नेछ ।
५. चौतर्फी प्रहार सामना गर्न वाध्य एमालेको नेतृत्व निरन्तरता हुन पनि शंकर पोखरेल , गोकर्ण बिष्ट , प्रदीप ज्ञवाली जस्ता निष्कलंक नेताहरु बर्करार रहन नै पर्छ किन कि आर्थिक र चारित्रिक रुपमा निष्कलंक त्यस्ता नेतालाइ कसैले पÞmसाउन सक्दैन र जब उनीहरु मैदानमा रहन्छन उनीहरुले पार्टीलाइ धुलो टकटक्याउदै उठाउन सक्नेछन । विगतमा माओवादी हिंशा र आतंकको समयमा मध्य पश्चिममा पार्टी टिकाउन सक्ने शंकर पोखरेलले अहिले पनि चुनौतीबाट पार्टी जोगाउने सामथ्र्य राख्छन ।
त्यसैले एमाले (असलीवाला है फेरी अर्थात इमान्दारिता, सरलता, स्वच्छता , सकारात्मकता , सुसंस्कार र जनपक्षधरता भएकाहरु) हो, यो बुझ्नुस कि आजको चुनौतीसंग जुध्दै गरेको एमाले जोगाउन चाहेको हो भने कोहि व्यक्ति विशेषलाइ लखेटने हैन गलत प्रवृति लाइ पहिला निषेध गर्नुस । अनेकन समयमा नेतृत्वको चाहिने भन्दा ज्यादा चाकरी गर्दै आफ्नो स्वार्थ रक्षा गर्ने आन्तरिक अवसरवादीहरु र एमाले सक्न चाहने बाह्य प्रतिक्रियावादीहरुको लहै लहैमा लागेर शंकर पोखरेल विरुद्ध नारा लगाउने काम चाहिं गर्दै नगर्नुस है । नत्र फेरी ‘न्याउरी मारी पछुतो’ भने जस्तो होला ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
